• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

देशको पदवर्ग 

कवि खेम बतास

 

जे गर्छ दुनियाँमा नामले गर्छ 
कोतपर्व, नेपाल एकीकरण
विश्वयुद्ध र ग्यास च्याम्बर
जसबाट दुनियाँमा जेजे गरिन्छ
जसले जसका लागि जेजे गर्छ 
दुनियाँमा नामले आफ्नै लागि गर्छ 
नामको गलत प्रयोगले वाक्यको अर्थ बिग्रिएजस्तै 
नामको गलत प्रयोगले देशको पदवर्ग बिग्रिएको छ ।

सर्वनामले हमेसा नामकै मन्दिर बनाउँछ
नामकै भजन गाउँछ, फूल अक्षता र अबिर चढाएर नामकै पूजा गर्छ 
नामको गोडामा चिल्लो लाउँदै नामकै झन्डा उठाउँछ
सर्वनामले के दिएको छैन– रगत, पसिना र ज्यान 
सर्वनामले काँध हालेकै कारण नामले व्यापक सुख पाएको छ 
नामलाई अप्ठेरो त्यतिबेला पर्छ 
जब सर्वनामले नामको सट्टामा काम गर्न छोड्छ 
सर्वनामको गलत सक्रियताले  नाम शासक बनेको छ
सर्वनामको गलत प्रयोगले देशको पदवर्ग बिग्रेको छ । 

नामको जन्मकुण्डली जान्ने भनेकै विशेषण हो
नामले कतिखेर लामो हात गर्छ 
कतिखेर सर्वनामलाई घोडा बनाउँछ 
नामको जन्मकुण्डली जान्ने भनेकै विशेषण रहेछ
अनैतिकदेखि बेइमानीसम्म 
बलात्कारदेखि दलालीसम्म 
नामले क–कसलाई काखी च्यापेको छ
क–कसलाई  धुलो चटाएको छ 
यो कुरा विशेषणालाई जति कसलाई  थाहा छ ? 

विशेषणले के दिएको छैन ? 
महामहिम, सम्मानित र आदरणीय 
विशेषणले सदैव नामको विशेषता बुझाएको छ
नामलाई अप्ठेरो त्यतिबेला पर्छ 
जब घृणादेखि शत्रुतासम्म 
सबै–सबै शब्दमा रेखांकित हुनेछन् 
र, काटिनेछ पदवर्गबाट नाम ।

विशेषणको गलत प्रयोगले वाक्यको अर्थ बिग्रेजस्तै 
विशेषणको गलत प्रयोगले देशको पदवर्ग बिग्रेको छ ।

पदवर्गमा अव्यय नभइदिएको भए के हुन्थ्यो ?
नामदेखि क्रियासम्म 
निपातदेखि संयोजकसम्म
सबै–सबैलाई फुलबुट्टा भरिदिने, फेसवास गरिदिने 
कर्ण भनेकै अव्यय हो । 

अव्ययले कहिल्यै नाफा–नोक्सानको बहीखाता राखेन 
अव्ययको निष्क्रियताले पदवर्गमा वाक्य विरूप भएजस्तै 
अव्ययको उदासीनताले देशको पदवर्ग बिग्रिएको छ 
पदवर्ग बिग्रेको वाक्यजस्तै भएको छ 
मेरो देशको हालत पनि ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर