• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जो नाएग्रा फल्समा डुबुल्की मारेर पनि बाँच्न सफल भइन् 

एजेन्सी । कुनै व्यक्तिले जीवन दाउमा राखेर कतिसम्म डरलाग्दो जोखिम उठाउन सक्छ भन्ने कुरा कहिलेकाहीँ अनुमानसमेत गर्न सकिँदैन । कुनै व्यक्ति कत्तिसम्म निडर र साहसी हुन सक्छ भन्ने कुरा हाम्रो अनुमानभन्दा बाहिर हुन पुग्छ । हुन त हामी सबैलाई ईश्वरले दुई हात, दुई खुट्टा, एक टाउको गरी समान किसिमले निर्माण गरेका हुन्छन्, तर केही व्यक्ति अदम्य साहसको धनी भएको कारण अरूभन्दा पृथक् हुन पुग्छन । 

त्यस्तै किसिमको अदम्य साहसकी धनी भएको कारण एनी इड्सन टेलर आममान्छेभन्दा फरक हुन पुगेकी थिइन् । नाएग्रा फल्स पार गर्ने संसारमा नै पहिलो व्यक्ति हुन पुगेकी थिइन् । नाएग्रा फल्स पार गर्दा उनको शरीरमा कुनै किसिमको गहिरो चोट आएको थिएन । मनोविज्ञानमा पनि कुनै आघात पुगेको थिएन । २४ अक्टोबर १९०१ का दिन आफैँले निर्माण गर्न लगाएको ब्यारेलभित्र बसेर एनी इड्सनले नाएग्रा फल्स पार गरेकी थिइन् । 

अर्थात् केवल ब्यारेलभित्र बसेर, ब्यारेलसँगै बगेर, न्याएग्रा फल्सको माथिल्लो सतह (जहाँबाट नाएग्रा तालको पानी जम्मा भएर बग्छ) बाट तल्लो सतह (जहाँ ठूलो बेगका साथ पानी खस्छ) पुगेकी थिइन् । अति बेगवान् झर्ना उनले केवल २० मिनेटमा पार गरेकी थिइन् । नाएग्रा फल्स पार गर्न उनी ब्यारेलभित्र पस्दा कतिपयले त्यो दृश्य हेर्न सकेका थिएनन् भने धेरैले ‘यस्तो आत्महत्याको साक्षी हुनु हुँदैन’ भनेका थिए । ब्यारेलभित्र बसेर एनीले नाएग्रा फल्सको दुस्साहसिक यात्रा गर्न थालेको दृश्य हेर्न हजारौँ व्यक्ति त्यहाँ जम्मा भएका थिए, ठूलो आश्चर्यभाव र कौतूहल बोकेर । 

नाएग्रा फल्स ब्यारेलभित्र बसेर पार गर्दा एनी ६३ वर्षकी थिइन् । उनले प्रौढ उमेरमा एउटा नौलो इतिहास रचेकी थिइन् । प्रकृतिप्रदत्त सम्पत्ति वा प्राकृतिक बनोटका आधारमा आठौँ आश्चर्य मानिएको नाएग्रा फल्सलाई उत्तर अमेरिकाभरिमा नै अति तीव्र गतिमा माथिबाट तल बग्ने छाँगो वा झर्नाको रूपमा लिने गरिन्छ । नाएग्रा फल्स वा झर्नाको माथिल्लो सहतमा नाएग्रा नदीबाट आएको पानी जम्मा भएको हुन्छ । त्यो जम्मा भएको पानी तल (माथिल्लो उचाइबाट) बग्दा त्यसले नाएग्रा फल्सको रूप लिन्छ । क्यानडाका दुई ठूला तालहरू– लेक एरिइ र लेक ओन्टारियो को बीचमा ‘नाएग्रा रिभर’ बग्ने गर्दछ । लेक एरिइको पानीलाई लेक ओन्टारियो पु¥याउने कार्य नाएग्रा रिभरले गर्दछ । 

नाएग्रा फल्स तीन झर्नाहरूको एक समूह हो । त्यो समूहभित्र तीन झर्नाहरू क्रमशः सबैभन्दा ठूलोदेखि सानो गरी हर्सु फल्स, अमेरिकन फल्स र ब्राइडल भेइल फल्स पर्दछन् । ठूलो वेगका साथ पानी बग्ने हिसाबले हर्सु फल्सको पानी सर्वाधिक वेगसँग बग्ने गर्दछ । हर्सु फल्स क्यानाडा र अमेरिकाको सिमानामा पर्दछ भने अमेरिकन फल्स र ब्राइडल भेइल फल्स अमेरिकामा पर्दछ । हर्सु फलको भ्रमण गर्न पर्यटकहरू क्यानाडातर्फबाट जान्छन् । नाएग्रा फल्समा पानी माथिल्लो सतहबाट तल्लो सतहमा आउँदा अति वेगसाथ तल झर्ने त्यो पानीले ५० मिटरको यात्रा अति छोटो समयमा पार गरेको हुन्छ । 

पर्यटकहरू बढी आउने समयमा अर्थात् दिउँसोतिर नाएग्रा फल्सको मथिल्लो सतहमा प्रतिमिनेट ६० लाख क्युब मिटर पानी जम्मा हुन्छ । संसारभरिबाट बर्सेनि तीन करोडभन्दा बढी पर्यटक नाएग्रा फल्स हेर्न आउँछन् । विश्वभरिका करोडौँ मानिसले जीवनकालमा एकपटक नाएग्रा फल्स पुग्न पाए हुन्थ्यो भन्ने सपना पालेका हुन्छन् । हनिमुन मनाउनेहरूले नाएग्रा फल्स (क्यानाडातिर रहेको) लाई पहिलो गन्तव्यको रूपमा रोज्छन् । 

एनी इड्सनले नाएग्रा फल्स समूहभित्र पर्ने तीन फल्सहरूमध्ये हर्सु फल्सको यात्रा ब्यारेलभित्र बसेर गरेकी थिइन् । तुलनात्मक रूपमा हर्सु फलको यात्रा ज्यादै कठिन र अति नै जोखिमपूर्ण मानिन्छ । 

कसरी पार गरिन् नाएग्रा फल्स ? 

जुन ब्यारेलभित्र बसेर नाएग्रा फल्स पार गर्ने हो त्यो ब्यारेल एनीले आफैँले निर्माण गर्न लगाएकी थिइन् । ओक (काठ) र फलामद्वारा त्यो ब्यारेल निर्माण गरिएको थियो । सवार भएको व्यक्तिलाई चोटबाट जोगाउन (माथिल्लो सतहबाट तल्लो सतहमा तीव्र गतिका साथ झर्दा) ब्यारेलभित्र कुसन राखिएको थियो । ब्यारेलको मुख बन्द गरेर, त्यो बिर्कोमाथि किल्ला ठोकेपछि एनीका साथीहरूले साइकलमा हावा हाल्ने पम्पले त्यस ब्यारेलमा टन्न हावा हालिदिएका थिए । त्यो ब्यारेलमा बाहिरको ताजा हावा जानका लागि एउटा छिद्र (प्वाल) पनि बनाइएको थियो । 

नाएग्रा फल्स पार गर्ने दिन ब्यारेलभित्र बस्दा एनीले मुटु आकारको एउटा ‘भाग्यमानी’ तकिया आफ्नो साथमा राखेकी थिइन् । एउटा डुङ्गाको छेउमा त्यो ब्यारेल राखिएको थियो र त्यही डुङ्गाबाट उनी ब्यारेलमाथि चढेर भित्र पसेकी थिइन् । त्यो ब्यारेललाई नाएग्रा फल्सको माथिल्लो सतह (नाएग्रा रिभर वा कतै नाएग्रा ताल पनि भनिएको छ) मा छोडिएको थियो । छोडिएको त्यो ब्यारेल बगेर हर्सु फल्समा पुगेको थियो । 

एनी सवार ब्यारेललाई हर्सु फल्सबाट ठाडो गरी खस्न वा भनौँ हर्सु फल्स पार गर्न बीस मिनेट लागेको थियो । उनी सवार ब्यारेल तल खस्दा उनलाई सहयोग (उद्धार) गर्न वा ब्यारेलबाट बाहिर झिक्न सहयोगीहरू पुगेका थिए । तर, उनीहरूले ब्यारेल (काटेर) खोल्दा खोल्दा भने अचम्म परेका थिए, किनभने एनी सकुसल थिइन् । मात्र उनको टाउकोमा एउटा सानो घाउ हुन पुगेको थियो । केही उद्धारकर्ताहरूले ‘यी त मरेकी रहिनछिन्’ पनि भनेका थिए । ज्यादै डराएको जस्तो नदेखिएकी एनीले नाएग्रा फल्स पार गरेर उद्धारकर्ताहरूको सहयोगमा ब्यारेलबाट बाहिर आएपछि भनेकी थिइन्, ‘यस्तो अब फेरि कसैले पनि नगरोस् ।’ एनीको सकुसल उद्धार गरिएको दृश्य देखेर उपस्थित सबैले सन्तोषको सास फेरेका थिए । प्रसन्न भएका थिए । 

एक बिरालोको प्रयोग

एनीले आएगरा नामको एक पोथी बिरालोलाई नाएग्रा फल्सको यात्रा कति जोखिमपूर्ण हुन सक्छ भन्ने कुरा थाहा पाउन परीक्षणको रूपमा प्रयोग गरेकी थिइन् । एनीले आपूmले नाएग्रा फल्स पार गर्नु दुई दिनपूर्व आएगरा नामको बिरालोलाई आपूmले प्रयोग गर्ने ब्यारेलभित्र राखेर त्यो बिरालोलाई हर्सु फल्स पार गर्न लगाएकी थिइन् । भित्र बिरालो राखिएको त्यो ब्यारेलले नाएग्रा फल्स (हर्सु फल्स) पार गर्न १७ मिनेटजति लगाएको थियो । नाएग्रा फल्स पार गरिसकेपछि उक्त बिरालोको परीक्षण गर्दा, त्यो बिरालो जिउँदो थियो । बिरालोद्वारा जोखिम परीक्षण गरेपछि एनी आपूm कुनै ठूलो दुर्घटनामा नपर्ने भनी विश्वस्त भएकी थिइन् । 

एनीको जीवनी

एनीको जन्म १८३८ अक्टोबर २४ मा न्युयोर्क राज्यको अबर्न भन्ने स्थानमा भएको हो । पिता मेरिक इड्सन र आमा लुक्रिसा वारिङका आठ सन्तानमध्ये एनी एक थिइन् । एनीका मातापिता गरिब थिएनन्, खान–लाउन पुग्ने स्थितिका थिए । एनी १२ वर्षको हुँदा उनको पिताको मृत्यु भएको थियो । उनले शिक्षण पेसा रोजेकी थिइन् । उनको विवाह डेभिड टेलरसँग भएको थियो । डेभिडलाई उनले अध्ययनको समयमा भेटेकी थिइन् । एनी र डेभिडबाट एक सन्तान (छोरा) भएको थियो तर त्यो सन्तानको मृत्यु शैशवकालमा नै भयो । 

जोखिम उठाउन र दुस्साहस गर्न रmचाउने एनीले १७ वर्षको उमेरमा डेभिडसँग विवाह गरेकी थिइन् । तर, विवाह गरेको सात वर्षपछि उनी विधवा हुन पुगेकी थिइन् । उनका पति डेभिड अमेरिकामा जारी ‘गृहयुद्ध’ मा मारिएका थिए । जीवनयापनका क्रममा जागिर खोज्दै एनी अनेक सहरहरू पुगेकी थिइन् । सन् १९२१ अप्रिल २९ मा एनीको मृत्यु भएको थियो । जीवनको पछिल्लो कालमा भने उनी मिचिगन राज्यको बे सिटीमा बस्थिन् । एनीका पछिल्ला दिनहरू आर्थिक रूपले राम्रा थिएनन् । 

एनीले किन गरिन् त्यस्तो दुस्साहस ? 

एनीको पछिल्लो समय आर्थिक रूपमा बलियो हुन सकेको थिएन । त्यसकारण उनी अति साहसी र जोखिमपूर्ण काम गरेर आफ्नो भाग्य परीक्षण गर्ने अर्थात् पैसा कमाउने सोचाइमा पुगेकी थिइन् । नाएग्रा फल्स पार गरेर नाम र दाम दुवै कमाउन सकिने आशा र उद्देश्यका साथ उनी त्यस्तो अति जोखिमपूर्ण काम गर्न तत्पर भएकी थिइन् । नाम र दाम कमाएर जीवनका अन्तिम दिनहरू सरल किसिमले बिताउने उनको प्रमुख उद्देश्य थियो । तर, एनीले त्यो दुस्साहसी कार्य (ब्यारेलभित्र बसेर नाएग्रा फल्स पार गर्ने) गरेर सोचेजति पैसा कमाउन सकिनन् । 

आफ्नो अनुभवहरू सुनाएर पर्यटकलाई आपूmसँग फोटो खिच्न दिएर कमाएको केही पैसा पनि चोरी भएको थियो । उनको त्यो ब्यारेल, जुन भित्र बसेर नाएग्रा फल्स पार गरेकी थिइन, चोरी भएको थियो । र चोरी भएको त्यो ब्यारेल खोज्दा उनीसँग रहेको पैसा सकिएको थियो । उनका म्यानेजर फ्रेन्क एम रसेलले उनले प्रयोग गरेको ब्यारेल चोरेर भागेका थिए । निजी जासुस लगाएर फरार म्यानेजर र चोरी भएको ब्यारेल खोज्नमा नै एनीको ठूलो धनराशि खर्च भएको थियो । एनीको मृत्यु हुँदा उनी ८२ वर्षकी थिइन् । यो उमेरलाई अमेरिकामा वयोवृद्ध उमेर मानिँदैन । 

दुस्साहस देखाउन रोक

नाएग्रा फल्समा पुगेर त्यहाँ एनीजस्तै दुस्साहसी कार्य धेरैले गर्न थालेकाले अब त्यहाँ पुगेर त्यस्तो नगर्न सरकारले कडा नियम बनाएको छ । नाएग्रा फल्समा पुगेर कसैले जोखिमपूर्ण कार्य गरेमा स्थानीय सरकारले त्यस्तो गर्नेलाई २५ हजार डलर जरिवानासहित जेल सजाय दिने नियम बनाएको छ ।

(साहित्यकार विश्वराज अधिकारीकाे सम्पादनमा प्रकाशनकाे तयारीमा रहेकाे कृति ‘अचम्म’ बाट साभार ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर