• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

दशक बित्दासमेत सम्पन्न भएन हुलाकी राजमार्ग

 निर्माण सम्पन्न नहुँदै सडक जीर्ण हुँदै

धनगढी । भारत सरकारको सहयोगमा निर्माण सुरु भएको हुलाकी राजमार्ग दशक पुग्न लाग्दा पनि सम्पन्न हुन नसक्दा आमजनमानसमा आशंका र आक्रोश पैदा हुन थालेको छ । ३ वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१० बाट सुरु भएको यो राजमार्गअन्तर्गत कैलालीमा करिब २७ किलोमिटर सडक कालोपत्रे हुन बाँकी छ ।

जिल्लाभरि पर्ने करिब ९८ किलोमिटर सडकमध्ये ७० किलोमिटर भारत सरकारको सहयोगमा यअघि कालोपत्रे भइसकेको छ । बाँकी खण्ड नेपाल सरकार आफैले निर्माण गरिरहेको छ तर निर्माण कार्यले गति लिन नसक्दा कहिले सम्पन्न हुने भन्ने अनिश्चित छ ।

राजमार्गको निर्माण सम्पन्न नहुँदै कालोपत्रे गरिएको सडक भने जीर्ण बनेको छ । भारतले बनाएको कालोपत्रे सडक भत्केर दर्जनौं ठाउँमा खाल्डाखुल्डी परेका छन् । मर्मत गर्नुपर्ने गरी कालोपत्रे सडक जीर्ण बनेको हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैल जानकारी दिए ।  

भारत सरकारको १ अर्ब २६ करोड रुयैयाँ आर्थिक सहयोगमा भारतीय कम्पनी जीआर गाभरले सन् २०१० बाट निर्माण सुरु गरेको थियो । सडकको क्षेत्राधिकारमा विवाद देखिएका ठाउँमा काम गर्न नसकेर उक्त कम्पनी फिर्ता भएको हो ।

निर्माण गरेको सडक सन् २०१७ मा नेपाललाई हस्तान्तरण गरेर भारतले आयोजनाबाट हात झिकेपछि बाँकी ठाउँमा नेपाल सरकार आफैले निर्माण अघि बढाएको छ । निर्माण हुन बाँकी सडकमा ट्रयाक खोल्ने कामसमेत पुरा भएको छैन । वनलगायत अवरोधका कारण काम गर्न नसकेको भन्दै भारतले योजनाबाट हात झिकेको थियो । योजनाका इन्जिनियर मडैका अनुसार कैलालीको बसन्ता क्षेत्रमा पर्ने १८ किलोमिटर, धनगढीमा साढे ६ किलोमिटर र सत्तीदेखि बर्दिया जोड्ने साढे २ किलोमिटर निर्माण हुन बाँकी छ । रुख कटानको अनुमति नपाउँदा बसन्ता क्षेत्रमा दुई किलोमिटरमा ट्रयाक खोल्न अझै बाँकी छ । 
लम्की–टीकापुर–खक्रौला जोड्ने २७.७ किलोमिटर हुलाकीको लिंक सडक, धनगढी क्याम्पसचोकदेखि बसन्ता तथा भजनी–टीकापुर खण्ड कालोपत्रे भइसकेको छ । नेपाल सरकार आफैले निर्माण गरिरहेको बाँकी खण्डमा निर्माणको कामले गति लिन सकेको छैन । 

सम्झौताअनुसार बसन्ता क्षेत्रको १८ किलोमिटर सडक गत फागुनमै निर्माण सम्पन्न भइसक्नु पर्ने हो । तर रुख कटानको कानुनी अड्चनले त्यहाँ २ किलोमिटरमा ट्रयाक खोल्नै बाँकी रहेको आयोजना प्रमुख रामपुकार जैसवालले बताए । उक्त खण्डको म्याद थप गरेर आगामी कार्तिकसम्म पु¥याइएको छ । हालसम्म ५० प्रतिशतमात्रै काम भएकाले थपिएको अवधिमा पनि सम्पन्न हुन नसक्ने उनले बताए । यस्तै धनगढी भन्साररोडदेखि क्याम्पस चोक खण्डको साढे ६ किलोमिटर सडक निर्माणको गति पनि सुस्त छ ।

यो खण्डमा ट्रयाक खोल्ने काम पुरा भएको छ । क्षेत्राधिकारको विवादका कारण समयमै काम सुरु हुन नसकेकाले यहाँ पनि निर्धा्रित अवधिमा काम सम्पन्न नहुने देखिएको आयोजना कार्यालयले जनाएको छ । भन्साररोड–क्याम्पसचोक खण्डको निर्माण सम्झौता अवधि आगामी कार्तिकमा सकिदैछ । हुलाकी सडकअन्तर्गत भजनीको कटैनी खोलामा पुल निर्माणको काम पनि बाँकी छ । कैलालीमा पर्ने हुलाकी सडक र त्यसअन्तर्गतका पुलसमेत गरी करिब ५० प्रतिशत काम बाँकी रहेको आयोजना प्रमुख जैसवालले बताए । 


ट्रयाक खोल्न बाँकी २ किलोमिटर क्षेत्रमा वन विभागबाट रुख कटानको आदेश पाए आगामी आर्थिक वर्ष्भित्र हुलाकी सडक निर्माणले पूर्णता पाउने उनको दावी छ । जिल्लाका दक्षिणी क्षेत्रका बस्तीहरु जोड्ने हुलाकी सडकले पूर्णता नपाउँदा स्थानीयबासिन्दा निराश छन् । निर्माण कार्यले पूर्णता नपाउँदै निर्माण भएको सडक पनि जीर्ण बनेपछि आवतजावत गर्न सर्वसाधारणलाई समस्या भएको छ ।

कैलारी गाउँपालिका–२, का कालिप्रसाद चौधरीले सडक जीर्ण हुँदा समस्या भएको बताए । सडकको दर्जनौं ठाउँमा परेका खाल्डाखुल्डीका कारण ससाना दुर्घटना दैनिकजसो हुने गरेका उनले बताए । बसन्ता क्षेत्रमा ट्रयाक खोलिएको क्षेत्र पनि हिलाम्य भएको चौधरीले बताए ।

    ‘१८ किलोमिटर सडक नबन्दा हामीलाई निकै समस्या छ । बनेको सडक पनि भत्किएको छ ।’ बसन्ता क्षेत्रका स्थानीय रामलाल चौधरीले भने, ‘वर्षाले अहिले हिलाम्य भएकाले बसन्ता खण्डमा हिँड्डुल गर्न सास्ती खेप्नु पर्छ ।’ जतिसक्दो चाँडो सडक निर्माण गर्न स्थानीयले सरोकारवाला निकायसँग आग्रह गरेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर