• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रोल्पामा पर्यटनको अर्को नमूना : ढुंगै ढुंगाको सुन्दर ‘रक गार्डेन’

रोल्पा  । सामान्यतयाः खुकुलो माटोमा विभिन्न प्रजातिका विरुवाहरु रोपेर बनाइने सजावटसहितको फूलबारीलाई ‘बगैंचा’ भन्ने गरिन्छ । तर, रोल्पा नगरपालिकाले ढुङ्गै ढुङ्गाबीचमा रहेको अग्लो भू–भागमा एक नमूना बगैंचा निर्माण गरेको छ ।

सुन्दा सबैलाई अचम्म लाग्नसक्छ, तर यो यथार्थ हो । यतिबेला रोल्पामा निर्मित उक्त बगैंचा आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । 
ढुंगे बगैंचा (रक गार्डेन) का रुपमा विकसित हुँदै गरेको उक्त बगैंचा पुग्नका लागि सदरमुकाम लिबाङदेखि र रोल्पा जिल्लाको पहिलो व्यापारिक केन्द्र सुलिचौरबाट करिव आधा घण्टाको यात्रा गर्नुपर्छ ।

हिउँदमा हिउँ खेल्ने डाँडो, गर्मियाममा चीसो हावासँग आनन्द लिने रोल्पा जिल्लाकै मनोरम र अग्लो डाँडोको रुपमा रहेको सातदोबाटो नजिकै बगैंचा निर्माण गरिएको छ । 

रोल्पा जिल्लाकै भौगलिक रुपमा अग्लो र सबै स्थान देखिने भएकोले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्ने स्थानको रुपमा आउने गर्दछन् । सातदोवाटो डाँडाबाट रोल्पाको जलजला, सिस्ने, धौलागिरी, अन्नपूर्ण हिम श्रृखलाको मनोरम दृश्य पनि देखिन्छ । त्यस क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो ११० फिटको अग्लो भ्यू टावर निर्माण गरिने योजनाले पनि सात्दोवाटोलाई नयाँ उचाईमा उठाउने विश्वास गरिएको छ । प्राकृतिक दृष्टिले अग्लो, मनोरम, चिसो हावा पानी, प्राकृतिक भ्यूटावर, घना बन जंगलको बीचमा रहेको सात्दोबाटो क्षेत्र भित्र रहेको छ । 

त्यतिमात्रै होइन रोल्पा जनयुद्धको उद्गम स्थल हो । तत्कालीन नेकपा (माओवादी) जनमुक्ति सेनाले रोल्पाको लिबाङमा रहेको नेपाली सेनाको व्यारेक तथा सुरक्षा निकायमा आक्रमण नगरुन् भनेर लिबाङ आक्रमण गर्न आएमा जनमुक्ति सेनालाई एन्टी घेरा गर्ने सैन्य रणनीतिका साथ स्थापना गरिएको व्यारेक पनि छ । यसलाई पनि युद्धपर्यटन संग जोड्न सकिन्छ । रोल्पा जिल्लाको अग्लो डाँडो भएकाले सबै सञ्चार टावरहरु राखिएको छ । नेपाल टेलिभिजन, रेडियो नेपाल, दुर सञ्चार कम्पनी, सामुदायिक रेडियोको टावरहरु पनि त्यसै डाँडामा राखिएको छ । अग्लो हिमालदेखि दाङको समथर मैदानसम्म हेर्न सकिने रमाइलो डाँडो हो । 

सातदोवाटो मूल सडकबाट करिव १ किलोमिटर पर रहेको जंगलको बीचमा अग्लो भूभाग अनि चत्तानको बीचमा रहेका रुखहरुलाई घेरबार गरी एउटा सुन्दर स्थान बगैचाको रुप दिनका लागि रोल्पा नगरपालिका र डिभिजन बन कार्यालयको सहकार्यमा प्रारम्भिक कार्य सम्पन्न भएको छ । 

त्यस ठाउँमा आजकाल मानिसहरुको दैनिक जसो विद्यार्थी, कर्मचारी, जनप्रतिनधी, राजनीतिज्ञहरुले दिमागलाई फ्रेस गर्ने स्थानको रुपमा लिई घुम्न जाने गरिरहेको यात्रीहरुहरुले बताउँछन् । 

सो स्थान चट्टान–चट्टानहरुको बीचमा रहेको उच्च भागलाई छनौट गरी ढुङ्गे बगैंचाको अवधारणा अगाडि सारेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । उनले सहज रुपमा रहेको भूगोललाई बगैचा निर्माण जसले पनि गर्न सक्ने कुरा राख्दै प्राकृतिकले ढुङ्गे डाँडोलाई पनि सुन्दरतामा परिणत गरी सबैको आकर्षणको केन्द्र बनाउनलाई अगाडि सारेको बताए ।

रोल्पा नगरपालिकाको ४ लाख र प्रदेश सरकारबाट डिभिजन वन कार्यालय रोल्पाले १० लाख गरी करिब १४ लाखमा दुङ्गे डाँडो बगैंचामा परिणत भएको छ । नगर प्रमुखले सातदोवाटोलाई एउटा बृहत्तर योजना निर्माण गरी  विभिन्न प्याकेज निर्माण गर्ने प्रतिवद्धता जनाए । 

डिभिजन बन कार्यालय रोल्पाका प्रमुख दढिलाल कडेलले यसलाई एउटा गुरु योजना निर्माण गरी अगाडि बढेमा त्यसका आधारमा विभिन्न संरचना निर्माण गर्नु पर्ने बताए ।

सो डाँडोमा सबैलाई नहेर्दा सम्म रुखो लागे पनि हेरेर पुगेपछि हेरुहेरु झैँ लाग्ने र बसुँ बसुँ झैं लाग्ने गरेको अवलोकन कर्ता प्राध्यापक गोकर्ण पुनमगरले बताए । 

यसैगरी पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगरले यसलाई पर्यटकीय हिसावले प्राकृतिक, धार्मिक र युद्ध पर्यटनका दृष्टिले पनि अगाडि बढाउनु पर्ने आवश्यक रहेको बताए । 

पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशीराम संरचना बनाउँदै त्यसलाई प्रचार प्रचारका दृष्टिले पनि अगाडि बढाउनु पर्ने बताए । सोही डाँडाँमा साहित्यकार एवं नेपाल रेडक्रस सोसाइटीका सभापति डी.वी. घर्तीमगरले अग्रज व्यक्तिहरुको मुर्ति राखेर शोभायमान बनाउने सकिने तर्क राखे । 

पर्यटन क्षेत्रमा लामो समय काम गर्नुभएको दिपक डिसीले यसको प्रचार प्रशारका लागि डिजिटल सूचना बोर्ड राखेर सबैलाई आउने वातवरण निर्माण गर्नु पर्ने बताए । यस्तै, हस्तकला चित्रकार रामचन्द्र श्रेष्ठले आफूले पनि सकेजति नयाँ पन दिनका लागि आफू तयार रहेको बताए ।

रोल्पा नगरपालिकाले निर्माण गर्न लागेको बगैचालाई सुन्दरता प्रदान गर्ने रोल्पाकै कला र सीपका खानी दिलबहादुर घर्तीमगर नै हन् । उनले ढुंङ्गे डाँडालाई विभिन्न आकृति दिएर गेट निर्माण, शोभा सेट, फोटो खिच्ने स्थान लगायतको निर्माण गरेका छन् । साउदीमा इलेक्ट्रोसियन भिसामा गए पनि साजसज्जाको सीप सिकेर आएर विभिन्न आकृति निर्माण गर्दै अगाडि बढेका छन् । उनको साजसज्जा नै त्यस बगैचा भित्रको नयाँ र आकर्षणको केन्द्र बनेको छ । त्यसमा बसेर सबैले फोटो खिच्न रुचाउने गर्दछन् । 

विभिन्न प्रजातीको विरुवाहरु रोपेर बगैचा निर्माण कार्य अगाडि बढाइएको छ । त्यस क्षेत्रमा अब खानेपानी, शौचालय, प्रतिक्षालय लगायतका आधारभूत पूर्वाधारको व्यवस्थान गर्नुपर्ने देखिन्छ । त्यस क्षेत्रमा रहेको फोहर कलेक्सन स्थानलाई पनि बदल्नु पर्ने जरुरी देखिएको छ । साथै सो बाहिर रहेको अन्य डाँडोमा पिकनिक स्पोट समेत निर्माण गर्नु पर्ने छ । जो रोल्पा जिल्लाका विभिन्न स्थानबाट बनभोजका लागि त्यस डाँडोमा चढेपछि सबैले सयर गरुन् । त्यस क्षेत्रको प्रवद्र्धन हुनेछ । 

रोल्पा जिल्लामा सृजनात्मक कार्य गर्दै अगाडि बढीरहेको रोल्पा नगरपालिकाले ढुङ्गे बगैचा निर्माण गरी सबैलाई चत्कार बनाउनुले पनि सबैलाई अझै चकित बनाएको छ । यसले रोल्पा र रोल्पालीलाई फेरी अर्काे नयाँ स्थानमा पु¥याउने विश्वास लिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर