• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतको चन्द्रयान–२ प्रक्षेपण : बधाईमा पनि राजनीति, भाजपाले कांग्रेसलाई भन्यो – निक्कै दुखद

तस्विर : वेब

नयाँदिल्ली । भारतको अन्तरिक्ष अनुसन्धान एजेन्सी ‘आईएसओआर’ले एक हप्ताअघि प्राविधिक कारण देखाई स्थगित गरेको चन्द्रयान–२लाई सोमबार सफलतापूर्वक अन्तररिक्षमा प्रक्षेपण गरेको छ ।

यस मिसन अन्तरगत अहिलेसम्म मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवी सतहमा पानी र खनिजको खोज गर्ने प्रयास गरिने छ । अभियानले चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गर्ने योजना रहेको छ । 

यति ठूलो अभियानको सफलतापूर्वक सुरुवात भएको अवसरमा पुरै भारत खुशी हुने नै भयो । यस सिंगो राष्ट्रको खुशीको पछाडि आईएसओआरका वैज्ञानिकको मेहेनत पक्कै छ, तर यसको श्रेय लिनका लागि राजनीतिक दलहरुको तछाड–मछाड सुरु भएको छ । 

भारतीय राष्ट्रिय कांग्रेस पार्टीले यस अभियानको सफल प्रक्षेपणप्रति बधाई दिँदै भारतको पहिलो प्रधानमन्त्री जवाहर लाल नेहरु र मनमोहन सिंहलाई सम्झनुपर्ने बतायो । कांग्रेसले यस आईएसओआरको स्थापनाका लागि पूर्वप्रधानमन्त्री जवाहर लाल नेहरुलाई सम्झनुपर्ने बताउँदा भारतीय जनाता पार्टीले यसको तिखो जवाफ दिन भ्याइसकेको छ । 

कांग्रेसलाई जवाफी आक्रमण गर्दै भाजपाले देशको गौरवान्वित महशुस गराउँने उपलब्धिमाथि राजनीति गर्नु दुखद बताएको छ । ‘यो निक्कै दुख लाग्दो कुरा हो । यो प्रत्येक भारतीयका लागि गौरवको क्षण हो र यसमा राजनीतिको दायरमा ल्याउनु हुँदैन’, कांग्रेसलाई प्रहार गर्दै भाजपाका प्रवक्ता संबित पात्राले भने, ‘जसको भविष्यमा कुनै नेतृत्व देखिँदैन, उसले तपाईलाई प्रासंगिक राख्नका लागि विगत चिहाउने चलन छ दुख लाग्दो कुरा यो चलन कांगेसमा चलिरहेको छ’ । 

त्यस्तै कांग्रेसका मुख्य प्रवक्ता रणदीप सुरजेवालाले पनि भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको ‘ट्रिस्ट विथ डेस्टिनी’ भाषणलाई सम्झदै यस अभियानको श्रेय उनलाई दिएका छन् ।

सफल प्रक्षेपणपछि यानको निर्माण र अध्ययनका लागि खटिएको वैज्ञानिकको समूहलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । 

भारतको दक्षिणी सामुद्रिक तटीय क्षेत्रमा रहेको श्रीहरिकोटास्थित शतिस धावन स्पेस सेन्टरबाट आइतबार दिनको ठीक २ बजेर ४३ मिनेटमा लेण्डर विक्रम र रोभर प्रज्ञान नामक उपग्रहसहित अन्तरिक्षका लागि छुटेको होे । 

जुलाइ १५ मा यानलाई प्रक्षेपणका लागि पृथ्वीको कक्षमा सफलतापूर्वक राखिएको समय भारतीय अन्तरीक्ष निकाय ‘आइएसआरओ’का प्रमुख अधिकारी के सिभानले यानमा प्राविधिक समस्या आएको बताउँदै अनिश्चित समयका लागि उडान स्थगित भएको बताएका थिए । 

विक्रमले २७ किलो तौल भएको एउटा चन्द्रमामा हिँड्ने वाहन बोक्नेछ भने उसले चन्द्रमाको भूसतहको अन्वेषण गर्नेछ । त्यस्तै १४ दिनको आयुमा प्रज्ञान नामक वाहन चन्द्रमाको सतहमा करिब आधा किलोमिटर यात्रा गरी त्यहाँका तस्वीर खिची पृथ्वीमा अध्ययनका लागि पठाउनसक्ने भारतीय अन्तरीक्ष निकायले जनाएको छ ।

अन्तरिक्षयान चन्द्रमाको सतहमा आगामी सेप्टेम्बर ६ वा ७ तारिखमा अवतरण हुने आइएसआरओले बताएको छ । परियोजनाका लागि भारतले १५ करोड अमेरिकी डलर खर्च गरेको उक्त यानको तौल ६४० टन रहेको आइएसआरओले उल्लेख गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर