• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

लागूऔषध कारोवारमा समातिने भरिया मात्र

नेपालगन्ज । दुई साताअघि एक नेपाली महिला भारतको रुपैडिहामा अफिमसहित समातिइन् । भारतीय सीमा सुरक्षा बल एसएसबी र प्रहरीको संयुक्त टोलीले नेपाली महिलालाई जाँचका क्रममा अफिमसहित पक्राउ ग¥यो । उनी पाँच हजारको लोभमा अफिम पु¥याउनकै लागि नेपालगन्जबाट रुपैडिहा पुगेकी थिइन् ।
 
भारतीय प्रहरीका अनुसार लागूऔषध तस्करीको सूचनामा चेकपोस्टमा जाँच गर्दा जाजरकोटकी काली खत्री एक किलो आठ सय ग्राम अफिमसहित फेला परिन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई थप कारबाही अगाडि बढायो । नेपालगन्जको धम्बोझीचोकदेखि रुपैडिहा पु¥याउन तस्करले महिलाको प्रयोग गर्दै आएका छन् ।
 
पक्राउ परेकी खत्रीले भनेजस्तै लागूऔषधका कारोबारीले व्यवस्थित सञ्जाल नै स्थापना गरेर निस्फिक्री कारोवार चलाइरहेका छन् । प्रहरीले पक्राउ गरेका कारोबारीको बयान तथा अनुसन्धानबाटै पनि यो तथ्य खुल्छ । एकजना पक्राउ परे, त्यही काम अर्कोलाई लगाउने, ओसारपसार गरिदिएवापत निश्चित रकम दिने सुविधामा काम लगाउने गरेको पाइएको छ ।
     
प्रहरीले बाँकेका विभिन्न ठाउँबाट हरेक दिनजसो लागूऔषधसहित मानिस पक्रन्छ अनि ओसारपसारमा संलग्न रहेको अभियोगमा मुद्दा अघि बढाउँछ । तर, अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार त्यसरी पक्राउ पर्नेमध्ये अधिकांश ‘भरिया’ मात्रै हुन्छन्, जसलाई आफूले बोकेर ल्याइदिएको सामान के हो भन्ने सुइँको पनि हुँदैन । यो क्रम लगातार बढ्ने क्रममा छ ।

लागूऔषध नियन्त्रणमा खटिएका प्रहरीका अनुसार कारोबारीहरूले गृहिणीलाई समेत लागूऔषध बोकाएको भेटिएको छ । ‘सागसब्जी र खाद्यान्न खरिद गर्न भारतीय बजार पुग्ने गृहिणीलाई पनि लागूऔषध बोकाएको पाइएको छ,’ प्रदेश नं ५ लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जका प्रमुख एवं प्रहरी निरीक्षक वीरबहादुर थापाले भने, ‘यसरी उनीहरूले नयाँ–नयाँ उपाय लगाएर कारोबार चलाएका छन् । यसले जालो तोड्न गाह्रो भएको छ ।’

प्रहरीले नेपालगन्जको जमुनाहा नाकाबाट वर्षौं अघिदेखि लगातारजसो मान्छे समातिरहँदा पनि प्रतिबन्धित लागूऔषध नेपाल भित्र्याउने क्रम रोकिएको छैन । मान्छे पक्राउ परिरहने तर कारोबारचाहिँ पटक्कै नघट्ने समस्याले प्रहरी हैरान छ । पछिल्लो समयमा प्रहरीले नियन्त्रणमा लिएका कारोबारीलाई ठूला तस्करले समेत परिचालन गरेको पाइएको छ । तर, केही व्यक्ति मात्र होइन, नेपालगञ्जमा ठूलै समूह कारोवारमा लागेकाले लागूऔषध कारोवारको जालो तोड्न प्रहरी सफल हुनसकेको छैन ।

जमुनाहा नाकाबाट भित्रिने लागूऔषध पश्चिम नेपालका धेरै सहर हुँदै काठमाडौँसम्मै पुग्ने गरेको छ । लागूऔषध विरुद्धकै क्षेत्रमा लामो समयदेखि काम गरिरहेका अभियानकर्मीहरू पनि बाँके हुँदै अन्यत्र ओसरपसार हुने लागूऔषध र कारोवारी संख्या धेरै भएको बताउँछन् । ‘बाँकेमा प्रयोगकर्ता पहिलेभन्दा धेरै घटेका छन्,’ अभियानकर्मी अभिराज क्षत्रीले भने, ‘तर, बाँकेमै धेरै कारोबारी पनि छन् । यसको अर्थ बाँके ‘ट्रान्जिट’का रूपमा बढी प्रयोग भइरहेको छ ।’

क्षेत्रीका अनुसार ज्यादै ठूलो र व्यवस्थित सञ्जालमार्फत भइरहेको यस्तो कारोबार प्रहरीले दुई–चार प्रयोगकर्ता समात्दैमा भत्काउन कठिन छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि कारोबारीभन्दा पनि बढी प्रयोगकर्ता नै समातिरहेको छ । प्रयोगकर्ता समात्ने तर कारोबारीसम्म पुग्न नसक्दा लागूऔषध तस्करीको सञ्जाल बलियो हुँदै गएको हो । लागूऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट बाँके हुने गरेको छ ।

बाँके प्रहरीले केही समयको फरकमा कारोबारीहरू समात्न थालेको लामो समय बितेको छ । तर, कारोवारीको सक्रियता पटक्कै घटेको छैन । यो सङ्गठित गिरोहकै कारण सम्भव भएको प्रहरी अधिकारीहरू नै बताउँछन् । नेपाली बजारमा सहजै उपलब्ध नहुने लागूऔषधका लागि प्रयोगकर्ता महङ्गो मूल्य तिर्न राजी हुने गरेका कारण कारोवारी राम्रो आम्दानीको लोभमा जोखिम मोलेर कारोवार चलाइरहेका छन् ।

‘पाँच हजारका लागि अफिम बोकेर नेपाली महिला रुपैडिहा आएको पाएका छौँ,’ रुपैडिहा थाना प्रहरी निरीक्षक मनिषकुमार पाण्डेले भने । नेपालबाट भारत अफिम तस्करी भएर जाने गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र प्रदेश नं ५ ब्युरो नेपालगन्जले दैनिकजसो लागूऔषध नियन्त्रणमा लिइरहेको छ । यसअघि असार पहिलो साता पनि ठूलो परिमाणको अफिम नियन्त्रणमा लिएको थियो । 

बाँके प्रहरीले साढे १८ किलो अफिमसहित चार जनालाई नियन्त्रणमा लिएको थियो । बाँकेको प्रहरी टोलीले जाजरकोट त्रिवेणी नलगाड नगरपालिकाका पृथ्वीबहादुर विक, वीरबहादुर विक, राजेन्द्र विक र पूर्वी रुकुम पुथाउत्तरगङ्गाकी शर्मिला मगरलाई नियन्त्रणमा लिएको थियो । नेपालगन्जमा पक्राउ परेका उनीहरूले पनि केही रकमको लोभमा अफिम तस्करी गरेको बयान प्रहरीलाई दिए ।
 
‘प्रतिदिन १५ हजार पाउने सर्तमा अफिम नेपालगन्ज पु¥याउने जिम्मा लिएका थियौँ,’ प्रहरी नियन्त्रणमा परेकी शर्मिला मगरले पत्रकार सम्मेलनमै भनेकी थिइन् । प्रहरी निगरानीका बाबजुद नेपाल–भारत सीमामा लागूऔषधको कारोबार घट्न सकेको छैन । बाँकेमा लागूऔषधको कारोबार बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । पहाडी जिल्लाबाट अफिम ल्याएर नेपालगञ्ज सीमामार्फत भारत लैजाने गरिएको छ । 

लागूऔषध तस्करीका लागि भरियाको प्रयोग हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । लागूऔषधका कारण पारिवारिक सम्बन्ध र समाज नै भताभुङ्गको अवस्थामा जान लागेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै संयन्त्र परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए । उनले भने, ‘लागूऔषध नियन्त्रण होइन, निषेध गर्ने गरी कार्ययोजना बनाएर अघि बढेका छौँ ।’

लागूऔषधको कारोबार र ओसारपसार नियन्त्रण गर्न छुट्टै विभाग नै परिचालन गरे पनि प्रहरीले यसमा उल्लेख्य सफलता हात पार्न सकेको छैन । प्रहरी अधिकांश घटनामा प्रयोगकर्ता वा भरियासम्म मात्रै पुगेको देखिन्छ जबकि, उनीहरूलाई ज्याला दिएर प्रतिबन्धित लागूऔषध नेपाल भित्र्याउन लगाउने गिरोहसम्म प्रहरी पुग्न सकेको छैन । प्रहरी उपरीक्षक वलीले भने, ‘लागूऔषधका भरिया मात्र होइन, यसका मुख्य कारोबारी, स्थानीय एजेण्टलाई समेत पक्राउ गर्ने गरी लागिपरेका छौँ ।’ 
    
प्रहरीले लागूऔषधको कारोबार बढेको भन्दा पनि प्रहरी चनाखो हुँदै जाँदा पक्राउ पर्ने र मुद्दाको संख्या बढ्दै गएको बताएको छ । नेपालबाट प्रहरीको आँखा छलेर भारत पुग्नेहरू भारतीय प्रहरीको फन्दामा समेत पर्ने गरेका छन् । भारतमा लागूऔषधसहित समातिएका धेरै नेपाली अहिले पनि बहराइच जेलमा सजाय भोगिरहेका छन् । पछिल्लो समय प्रहरीले सीमामा कुकुरको प्रयोग गरेर लागूऔषधको निगरानी गरिरहेको छ । यसले पनि जिल्लामा भएको लागूऔषधसम्बद्ध घटना बढेको देखाउँछ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर