• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

जानकी मन्दिर परिसरमा आठकोठे सन्त निवास बनाउँदै प्रदेश सरकार

आवास निर्माणको नाउँमा लाखौंको भ्रष्टाचार

जनकपुरधाम । प्रदेश २ सरकारले निर्माण गरिरहेको सन्त आवासको नाउँमा लाखौं रुपैयाँको भ्रष्टाचार भएको पाइएको छ । जानकी मन्दिर परिसरमै निर्माणाधीन सन्त आवासका लागि आर्थिक वर्ष २०७५/०७६ मा सामाजिक विकास मन्त्रालयले ९० लाख रुपैयाँ छुट्याएको थियो । ९० लाखको लागतमा निर्माण भइरहेको ८ कोठे सन्त आवासमा दुई नम्बर इँटा प्रयोग भइरहेको पाइएको छ ।

निर्माण सम्झौताविपरीत भवन निर्माणमा दुई नम्बरर इँटा प्रयोग भएको पाइएको हो । आर्थिक वर्ष सकिन २२ दिनअघि मात्र उपभोक्ता समितिमार्फत निर्माण कार्य सुरु गरिएको थियो । तर, आर्थिक वर्ष सम्पन्न भएको एक सातापछि पनि निर्माण कार्यको जग मात्र हालिएको छ । जग हाल्ने कार्य मात्र भए पनि उपभोक्ता समितिले भुक्तानी भने पाइसकेको छ । 

प्राविधिकहरूका अनुसार आठकोठे भवनका लागि करिब ३० लाख रुपैयाँ लाग्नेछ । तर, ९० लाख रुपैयाँ ती सन्त निवास निर्माणका लागि छुट्याइएपछि त्यसमा भ्ष्टाचार भएको खुलासा भएको छ । 

कमिशनका आधारमा आआफ्ना दलीय कार्यकर्तालाई योजना बाँड्ने मन्त्रालयको रूपमा चर्चित समाजिक विकास मन्त्रालयले मन्दिरमा निर्माणमा भइरहेको सन्त आवासमा समेत ठूलै रकम चलखेल भएको देखिन्छ । 

मठ–मन्दिर, पोखरी तलाउलगायत सांस्कृतिक र पर्यटकीय स्थलसँग जोडिएको धरोहरको निर्माणसहितका अन्य कार्य प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय र विकास तथा पहिचानसँग जोडिएको भौतिक संरचनाको कार्य भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने गर्छ । तर, समाजिक विकास मन्त्रालयले स्वास्थ्य, शिक्षासहित विभिन्न समाजिक जनचेतनामूलक कार्यमा लगानी गर्नुपर्ने स्थानमा मन्दिरको सन्त निवासमा प्रदेशको बजेट खर्चिरहेको छ । 

मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले प्रदेश सरकारको समाजिक विकास मन्त्रालयद्वारा उपभोक्ता समितिमार्फत सन्त आवासको निर्माण भइरहेको बताए । उनले भने, ‘भवन निर्माणमा कमसल, गुणस्तरहीन कार्य र भ्रष्टाचार भएको भन्ने कुरा आफूले पनि सुनेको छु । तर, यो विषय आफ्नो सरोकारको होइन, यसलाई हेर्ने नियमक निकाय छन् ।’ 

उनले आफ्नो प्रस्तावमा समाजिक विकास मन्त्रालयले सन्तहरूका लागि आवास निर्माण गरिरहेको बताए । ‘उपभोक्ता समितिले भवन निर्माण गरेर आफूहरूलाई जिम्मा लगाइदेओस्, यति मात्र चाहन्छु,’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर