पेट्रोलियम पाइपलाइनको निरीक्षण गर्न भारतको मोतिहारीमा उद्योग मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव मंगलबार पेट्रोलियम पाइपलाइनको निरीक्षण गर्न भारतको मोतिहारी गएका छन् ।

सम्पूर्ण तयारी पूरा भएर उद्घाटनको अवस्थाको सो पाइपलाइनको निरीक्षण टोलीमा मन्त्री यादव, मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भारतीय दूतावासका उच्चअधिकारी र नेपाल आयल निगमका अधिकारी छन् । वीरगञ्जको अलौँस्थित एकीकृत जाँच चौकी (आइसिपी) हुँदै भारततर्फ जाने क्रममा मन्त्री यादवले भन्सारका कर्मचारीहरुलाई निर्देशन दिने क्रममा कर्मचारीहरु राजश्व उठाउनेतर्फ सक्रिय हुनुपर्ने बताए ।

उनले सङ्घीय सरकार क्रमागत रुपमा एकीकृत जाँच चौकीको पूर्वाधार विकासका लागि कटिबद्ध रहेको बताएका थिए।  मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल आएपछि यसको प्रादेशिक परीक्षण सफल भएको छ । विहारको राजधानी पटनाबाट बाराको अमलेखगञ्ज डिपोमा एक हजार किलोलिटर डिजेल आइपुग्दा यसको अन्तिम परीक्षण सफल भएकाले अब उद्घाटनको पर्खाइमा रहेको आयोजना कार्यालय सिमराले जनाएको छ ।

“अमलेखगञ्जमा राखिएको ट्याङ्कीमा डिजल पठाउन पटनामा तयारी गरिएको छ र ‘स्वीच अन’ गरेपछि सो डिजल अमलेखगञ्ज आउनेछ ।”, आयोजनाका इञ्जिनीयर शरदकुमार पौडेलले भने । यसअघि सो पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो। पटनाबाट आइपुगेको डिजल गत शुक्रबार एक कार्यक्रमबीच परीक्षण गरिएको छ। शुरुमा पाइपलाइनबाट साढे ६ सय किलोलिटर पानी र एक हजार किलो लिटर डिजल पठाएर परीक्षण गरिएको जनाइएको छ ।

परीक्षणका क्रममा पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो। सो पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि विहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण भइसकेको छ । कूल लम्बाइ ६९.५ किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर लम्बाइ रहेको छ । विसं २०७२ मा नेपाल भारतबीच भएको सम्झौता अन्तर्गतको सो पाइपलाइन दैनिक २० घण्टा सञ्चालन गर्दा चार हजार किलोलिटर डिजल ल्याउने क्षमता रहेको छ ।

अमलेखगञ्जस्थित आयल निगमको डिपोमा कूल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिने ट्याङ्कर निर्माण गरिएको छ । सो पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीहरुले संयुक्त रुपमा गर्ने तय भए पनि मिति तोक्ने प्रक्रिया शुरु भएको सिमरा कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर