• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विज्ञापनमा 'क्लिन फिड' नीति आवश्यक छ : नेता खनाल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई सांस्कृतिक तथा आर्थिक पराधिनताबाट जोगाउन पनि विज्ञापनमा क्लिन फिड नीति आवश्यक रहेको बताएका छन् । 

नेता खनालले सरकारले मुलुकको सांस्कृतिक तथा आर्थिक क्षेत्रमा वैदेशिक हस्तक्षेप हुन नदिन पनि विज्ञापनसम्बन्धि विधेयकमा ‘क्लिन फिड’ को प्रावधान राखेको पनि स्पष्ट पारे । मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा उने मुलुकको हितलाई केन्द्रमा राखेर सरकारले ल्याएको सो विधेयकलाई राजनीतिक सहमति जुटाएर पारित गर्नुपर्ने प्रस्ताव पनि अघि सारे । नेता खनालले विज्ञापनको बजार मुलुकका तीव्र रुपमा विस्तार भईरहेकाले पनि त्यसको नियमनका लागि पनि सो विधेयक अति आवश्यक रहेको स्मरण गराए ।

बैठकमा बोल्दै विज्ञहरु काशिराज दाहाल, लक्ष्मण हुँमागाई र तारानाथ दाहालले समितिमा विचाराधिन रहेको सो विधेयकलाई समृद्ध बनाउने सन्दर्भ सामग्रीको बारेमा समितिलाई जानकारी गराएका थिए । कानुनविद् दाहालले सो विधेयकलाई समृद्ध बनाउन संविधान, देवानी तथा फौजदारी संहिता, उपभोक्ता हित संरक्षण ऐन र सर्वोच्च अदालतका फैसलाहरुलाई मूल आधार बनाउन समिति समक्ष आग्रह गरेका थिए । 

यता, संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समितिको यस अघिको बैठकमा क्लिन फिड सम्बन्धि प्रावधान राष्ट्रिय हितलाई ध्यानमा राखेर समावेश गरिएको उल्लेख गर्दै नहटाउने अडान लिई सकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर