गुल्मीको पहिरोको घटनाले मुख्यमन्त्री स्तब्ध

उद्दार र राहतमा जुट्न अपिल

बुटवल । प्रदेश पाँचका  मुख्यमन्त्री शंकर पोखरेलले  गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ को ठूलो लुम्पेक र सिन्धी तथा वडा नम्बर ४ को लिम्घामा अविरल वर्षासगैं गएको पहिरोमा परी नौ जनाको मृत्यु भएको र अन्य चार जना हराइरहेको घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन ।

पहिरोमा परी ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन । साथै घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन । 

विपद् प्रभावित क्षेत्रमा उद्दारका लागि सुरक्षाकर्मी सहितको टोली सक्रिय रहेको भन्दै मुख्यमन्त्री पोखरेलले चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएको जनाएका छन । उद्दार र राहतलाई व्यवस्थित बनाउन  सरकारी निकायबीच संयोजनको आवश्यक व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले विपदको बेला एकजुट भई उद्दार र राहतमा जुट्न सबै राजनैतिक दल, संघसंस्था र आम नागरिकमा हार्दिक अपील गरेका छन । 

कांग्रेस संसदीय दलद्धारा दुःख ब्यक्त
गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा सोमबार राती पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति नेपाली कांग्रेस संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ती जारी गर्दै उक्त घटनामा परी बेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी कार्य गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापनाको व्यवस्था साथै घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष आग्रह गरेका छन । 

घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना साथै जीवन गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै खाणले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर