बाँध बनाउन भिज्दै सांसद साम्बा अघि सरेपछि... 

कटान रोक्न स्थानीयले एकै रातमा बनाए तीन सय मिटर लामो ‘पर्कुपाइन’

विराटनगर । इच्छाशक्ति भए जतिसुकै अप्ठ्यारा पनि पार लगाउन सकिन्छ भन्ने भनाईलाई मोरङ उर्लाबारी ८ दुर्गापुरीका बासिन्दाले व्यवहारमा प्रमाणित गरेर देखाएका छन् । ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने आख्यानलाई यथार्थमा परिणत गर्ने गरी स्थानीयले लगातार १५ घण्टाको मिहेनतबाट ३ सय मिटर भन्दा लामो बाँसको अस्थायी बाँध ‘पर्कुपाइन’ बनाएका छन् । 

असार अन्तिम साता परेको अबिरल वर्षाका कारण उर्लाबारीको बीच भागबाट बग्ने बक्राहा खोलाले दुर्गापुरी बगरटोलको जमिन कटान गरिरहेको थियो । कटान तिब्र हुँदै खोला बस्तीमा पस्ने अवस्था आइसेको थियो । त्यसलाई रोक्नकालागि सरकारका तर्फबाट तत्काल पहल भइरहेको थिएन । खोलाले जेठा मरडी, करण मरडी, बुद्धिलाल हेमरन, मुसुज हेमरन, मण्डल मुर्मू र डेडमै सरणको घर बगाइसकेको थियो । 

दुई वर्ष अघि आएको बाढीले सोही बस्तीको  १४ घर बगाएर लगेको थियो । बाँकी रहेको ६ घर यसपालीको बाढीले बगाइदियो । बीस घर सतार जातिको बस्तीमा अहिले बक्राहा उर्लिएर बगिरहेको छ । बस्तिको छेउमा रहेको पिपलको बोट पनि बाढीले लडाइदिएको छ भने उनीहरुको कुलमन्दिरको पनि कुनै नामोनिसान छैन । तत्काल कटान नरोक्दा खोलाले इटहराका दुई वटा वार्ड, गोविन्दपुरक्षेत्रको धेरै भूभागमा ठूलो क्षति पुर्याउन सक्थ्यो । सम्भावित क्षति र अनियन्त्रित कटान रोक्नकालागि स्थानीयहरु आफैं जुटे । 

उनीहरुसँग न बजेट थियो न आवश्यक स्रोतसाधन नै । नदीको कटान रोकेर खेतीयोग्य जमिन र तल्ला बस्तीहरु जोगाउन बाँध बनाउनै पर्छ भन्ने इच्छाशक्ति मात्र थियो । स्थानीयको इच्छाशक्तिको प्रमुख स्रोत थिए त्यस क्षेत्रका प्रदेश सभा सदस्य कुलप्रसाद साम्बा । जसरी पनि कटान रोक्नुपर्छ भनेर उनी स्वयं दर्के झरीमा काममा खटिएका थिए । 

उनकै पहलमा जनपद प्रहरीको दश जनाको टोली र सशस्त्र प्रहरीको २५ जनाको टोली साँझ ५ बजे घटनास्थल पुग्यो । प्रदेश सभा सदस्य साम्बासहित अरु २५–३० जना स्थानीय भेला भएर ‘पर्कुपाइन’ बनाउन थाले । 

भेलाभएकाहरुले समूह बनाए । बाँस काट्ने, गिड्ने, गाड्ने र बाँध्ने काममा जुटे । साँझ ५ बजेटबाट सुरु गरको काम रातभर जारी रह्यो । सबैको पहल र प्रयत्नबाट १० लाख रुपियाँ भन्दा बढी लागत पर्ने ‘पर्कुपाइन’ तयार भयो । 

पूर्णजनश्रमदानबाट बाँध तयार भएपछि कटान नियन्त्रणमा आएको छ । ‘पर्कुपाइन’ विधिबाट यो पटकको बाढी बस्ती छिर्नबाट जोगाउन सफल भएपनि दिर्घकालिन समाधान भने आवश्यक रहेको जेठा मरडी बताउँछन् । ‘यसरी रातभर बाँध नबाँधेको भए यहाँ भन्दा तलको पुरै बस्ती बगाइसक्थ्यो,’ उनले भने–‘सबैजना जुटेपछि यस पटक नसोचेको काम भयो र थप बस्ती बगाउनबाट रोक्न सकियो ।’ नदीले यो वर्ष करिव एक किलोमिटर दुरीमा झण्डै दश विगाह जति जमिन कटान गरेको छ । 

प्रदेश सभा सदस्य कुलप्रसाद साम्बाले विपदको समयमा नियमित योजना जस्तो डिपिआर बनाउने, प्रस्ताव पारित गर्ने जस्ता प्रकृयाबाट नभई आपतकालिन नियन्त्रणको विधिबाट काम गर्नुपर्ने बताए । ‘यहाँ १० लाख भन्दा बढी खर्च भएको छ, बाँस मात्र हजारौं घना प्रयोग भएको छ जुन स्थानीय जनताको खेतीबाट काटेर ल्याएका छौं,’ उनले भने–‘सबै जना जुटेर १५ घण्टा काम गर्दा कटान रोक्न सफल भयौं र सयौं  बिघा जमिन र हजारौं घरहरुमा बाढी पस्नबाट जोगायौं ।’ उनले जनताको निजी जमिनको बाँस काटिएकोले सरकारले त्यसको हिसाब गरेर भुक्तानी गर्नुपर्ने र त्यसकालागि पहल गर्ने बताए ।

उनले चालु आर्थिक वर्ष बलियो तटबन्धकालागि पूर्णरुपले लागिपर्ने पनि बताएका छन् । 

बाढीले घर बगाएका परिवार यतिबेला नजिकैको बहादुरबाबु चौधरी प्राथमिक विद्यालयमा बस्दै आएका छन् । स्थानीय समाजसेवीहरु नारायण बस्नेत, उर्लाबारी ९ का स्थानीय इन्द्र लामाको लगायतले पीडितहरुलाई सहयोग गर्दै आएका छन् । वडाध्यक्ष कूलबहादुर कार्कीले पनि तत्काल त्रिपाल लगायत अन्य सामग्री सहयोग गरेका थिए ।

साउन १२ गतेसम्म विद्यालय बिदा भएकोले अस्थायीरुपमा बस्न मिलेपनि त्यसपछि कहाँ जाने भन्ने चिन्तामा उनीहरु छन् । सांसद लिम्बुले भने यसै वर्ष बाढीबाट विस्थापित छ परिवारको बसाबासकालागि जनता आवास कार्यक्रम अन्तरगत घर बनाउनकालागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर