• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

गुमनाम गच्छदार: छोड्छन् त कांग्रेस ?

महासमिति वैठक कुर्छौं–रामजनम, व्यवस्थापन गर्छौं–डा. महत 

समाचार दैनिक / काठमाडाैं । नेपाली राजनीतिमा धेरै पटक मन्त्री बनेको इतिहास कोहीसँग छ भने ती हुन्, विजयकुमार गच्छदार । उपप्रधानमन्त्री एवं मन्त्रीमा उनको नाममा रेकर्ड नै रेकर्ड छ । धेरैपटक उपप्रधानमन्त्रीसँगै मालदार मन्त्रालय उनको परिचय जस्तै भएको छ । तर, यिनै गच्छदार अहिले गुमनाम जस्तै छन् । 

पहिले कांग्रेसमा रहेका विजयकुमार गच्छदार पहिलो संविधानसभामा फोरम नेपाल प्रवेश गरे पछि उपेन्द्र यादवसँग छुट्टिदै फोरम लोकतान्त्रिक गठन गरे । तर, गत निर्वाचन अघि गच्छदार पुनः पहिलेकै घर अर्थात कांग्रेसमा फर्किन पुगे ।

तर, पुरानै घर फर्किएका गच्छदार गुमनाम जस्तै छन् । सत्ता समीकरण र शक्तिसँग निक्कै परिचित र निकट बस्न रुचाउँने गच्छदार पार्टी भित्रको सत्ता र बाहिरको सत्ता दुवैतिर गुमनाम हुन पुगे ।

कांग्रेससँगको विलय  
गत वर्षको असोजको अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदै गर्दा गच्छदारले १० वर्षपछि कांग्रेसमा विलय गराए । तर, कांग्रेससँग उधारोमा सहमति गर्दै विलय गराएयता उनी राजनीतिक ‘सिन’मा छैनन् । 

पार्टी एकता गर्दा उपसभापति, जिल्ला तहमा पनि उपसभापति, २० जनासम्म केन्द्रीय सदस्य, र प्रदेश तहमा केही पदाधिकारी, महाधिवेशन प्रतिनिधिनिधिदेखि महासमिति सदस्यसम्ममा गच्छदारको पार्टीले दाबी गर्दै कांग्रेससँग एकता गरेको दाबी गर्दै आएको छ । तर, त्यो लिखित सहमति अहिलेसम्म बाहिर आएको छैन । 

देउवा संसदीय दलको नेतामा चयन भएपछि गच्छदार दलको उपनेता भए । तर, उनीसँग कांग्रेसमा प्रवेश गरेका जितेन्द्रदेव, रामजनम चौधरीसहितका दर्जनौं केन्द्रीय नेता, जिल्ला, नेता, क्रियाशील सदस्यदेखि जिल्ला र स्थानीय पार्टी इकाइ, क्रियाशील र साधारण सदस्यताको विषयमा अझै केही टुंगो लागेको छैन ।

कांग्रेसको केन्द्रीय समितिको बैठकमा गच्छदारलाई विशेष आमन्त्रित केन्द्रीय सदस्यका रुपमा प्रवेश दिइएको छ । तर, अरु नेतालाई यस्तो अवसर नदिएपछि धेरै नेता असन्तुष्ट छन् । 

निर्वाचनको मुखमा पार्टी एकीकरण गरी प्रभावकारी र सकारात्मक सन्देश दिए पनि आफूलाई बेवारिसे बनाइएको गुनासो धेरै नेता कार्यकर्तामा रहेको नेता रामजनम चौधरी बताउँछन् । 

गच्छदार आफूले उपनेता पाए पनि अरु नेताले केही पाएका छैनन् ।   

उपसभापति पाएनन् 
गच्छदारको आँखा उपसभापतिमा थियो । तर, उपसभापति उनलाई दिन नेपाली कांग्रेसको विधान बाधक छ । किनकी जितेका केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी चयन गर्नुपर्छ । गच्छदारलाई उपसभापति बनाउनका लागि विधान नै संसोधन गर्नुपर्ने थियो । तर, देउवाले यो झन्झट बेसाउन चाहेनन् ।

मधेसीमूलका, आफ्नै गुटका विमलेन्द्र निधिलाई उपसभापति बनाए । उपसभापति पनि नपाएपछि उनी थप चिढिंदै गएका छन् । निधि उपसभापति भएपछि गच्छदारमा असन्तुष्टिको चाङ अझै चुलिंदै गएको छ । 

सार्वजनिक कार्यक्रममा खासै देखिंदैनन्
सधैं शक्ति र सत्तामा देखिंदै आएका गच्छदारसार्वजनिक कार्यक्रममा खासै देखिंदैनन् । कांग्रेसले प्रष्ट भूमिका नदिएको र पार्टी फोरममा पनि धेरै सहभागी नगराइएपछि उनी सार्वजनिक कार्यक्रममा निक्कै कम देखिने गरेका छन् । 

महासमिति कुर्ने : रामजनम चौधरी
पार्टी एकता भएको लामो समय भए पनि अहिलेसम्म किन केही नभएको भन्ने सन्दर्भमा तत्कालीन फोरम लोकतान्त्रिक अहिले कांग्रेसका नेता रामजनम चौधरीले महासमिति बैठकसम्म कुर्न भनेको जानकारी दिए । 

पार्टी एकता भएको लामो समय भएपछि नेता कार्यकर्तामा असन्तुष्टि भए पनि कांग्रेसले केही समय कुर्न भनेको जानकारी उनले दिए । ‘विधान संसोधन गरेरै धेरै विषय मिलाउँनेपर्ने भएकोले केन्द्रदेखि जिल्ला तहका संरचनालाई मिलान गर्न महासमिति बैठकसम्म कुर्न भनिएको छ’ चौधरी भन्छन्, ‘धेरै ढिलाई भएको छ तर, नेताहरुले अब धेरै कुराउनुहुँदैन भन्ने लागेको छ ।’

व्यवस्थापन गर्दैछौं : डा. प्रकाशशरण महत
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले केही ढिलाई भए पनि अब कांग्रेससँग भएको तत्कालिन फोरमसँगको एकताको भावना अनुसार संगठनलाई मिलान गर्ने बताए । ‘हो केही ढिलाई भएको छ । तर, अब केन्द्रदेखि जिल्ला, गाउँतहसम्म नै पार्टी एकीकरणको प्रक्रियालाई टुंगोमा पुर्याउँछौं’ उनले भने, ‘नेताहरुलाई अन्याय नहुने गरी हामी मिलाउँदै छौं ।’

तर, महासमिति नै अन्यौलमा
महाधिवेशनपछिको सबैभन्दा ठूलो पार्टी फोरम भनेको महासमिति वैठक हो । तर, यो महासमितिकिो बैठक भदौमा बस्ने भनिए पनि कुनै तयारी हुन सकेको छैन । तयारी शुन्य हुँदा भदौमा होइन छठपछि झण्डै मंसिरतिर मात्रै महासमिति बैठक गर्ने सोचमा सभापति देउवा छन् ।

यस्तोमा अझै केही महिना गच्छदारसहितका नेताहरु असन्तुष्टिका बीच बस्नुपर्नेछ ।

धम्की की कांग्रेस छोड्दैछन् ? 

गच्छदारले केही समय अघि सभापति देउवा, नेता रामचन्द्र पौडेल नै सहभागी भएको एक कार्यक्रममा कांग्रेस छोड्ने चेतावनी दिएका थिए । आफूलाई एमाले अध्यक्ष केपीओली  र माओवादी अध्यक्ष प्रचण्डले आकर्षक प्रस्ताव गरे पनि पुरानो आस्थाका आधारमा मूल पार्टी कांग्रेसमैं फर्किएको बताएका थिए ।

आफूले मौखिक रुपमा पार्टी एकता गरेर त्याग गरेको भन्दै गच्छदारले कांग्रेसले भूमिका नदिए देशभरका तत्कालिन फोरम लोकतान्त्रिकको भेला बोलाएर पार्टी छोडनुपर्नेसम्मको चेतावनी दिएका थिए ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर