कानून छलेर प्राध्यापक नियुक्ति गर्ने षड्यन्त्र भएको पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको आरोप

फाइल तस्वीर

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत मध्येबाटै उपकुलपति नियुक्त गर्न उक्त विश्वबिद्यालयका कर्मचारी र प्राध्यापकहरुले माग गरेका छन् । विराटनगरमा बुधबार पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघ केन्द्रीय समितिले पत्रकार सम्मेलन गरी विश्वविद्यालयभन्दा बाहिरबाट उपकुलपति नियुक्त नगर्न माग गरेको हो । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्याम लाल दाशको भदौ ६ गते पदावधी समाप्त हुँदै छ । उपकुलपतिको पदावधि समाप्त हुँनै लाग्दा प्राध्यापक संघ र कर्मचारी संघले विश्वविद्यालयभन्दा बाहिरबाट पदाधिकारी नियुक्त गर्ने परिपार्टी अन्त्य गर्न माग गरेको हो । 

उनीहरुले विश्वविद्यालयलाई प्राज्ञिक भन्दा राजनीतिक भागबण्डाको थलोको रुपमा परिणत गराउने विगतको अभ्यास अन्त्य हुनुपर्ने जनाएका छन् ।  ०६२/६३ पछि विश्वविद्यालयको नेतृत्व राजनीतिक भागबण्डाका आधारमा छानिने गरेको र विश्वविद्यालय भन्दा बाहिरबाट नेतृत्व ल्याउँदा प्राज्ञिक उन्नयन, शैक्षिक र भौतिक विकासमा उनीहरुको ध्यान नजाने गरेको विगतमा अनुभूति गरेको प्राध्यापक संघका केन्द्रीय समिति सभापति सन्देशदाश श्रेष्ठले बताए । 

विश्वविद्यालय भित्रैबाट नियुक्त हुने नेतृत्व अन्यको तुलनामा जवाफदेही र जिम्मेवार हुने गरेको भन्दै राष्ट्रिय योजना आयोगका सदस्य उषा झाको संयोजकत्वमा गठित छानविन समितिको सुझाव अनुसार नै पदाधिकारी नियुक्त गर्नुपर्नेमा संघले जोड दिएको हो । सो समितिले ‘विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा योग्यता पुगेका, सकभर आफ्नै विश्वविद्यालयमा स्थायी पदमा कार्यरत रहेका र स्थायी पदमा कार्यरत नभए योग्यता र  अनुभव पुगेका अन्य विश्वविद्यालयमा कार्यरत व्यक्तिलाई भएपनि काजमा ल्याई नियुक्ति गर्ने व्यवस्था गर्नु पर्ने र विशेष पद सृजना गरी विज्ञापन गर्ने परिपार्टी अन्त्य गर्नुपर्छ’ भनि सुझाव दिएको थियो । 

यसैबीच भदौ २ गते सोमबारका दिन पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष बद्रीनाथ श्रेष्ठले विद्यमान नियम र कानून विपरित होटलमा बसेर प्राध्यापक र सहप्राध्यापकको परीक्षा लिएको र नियुक्तिको सिफारिस गरेको विषयप्रति संघहरुले आपत्ती जनाएका छन् । विश्वविद्यालय जस्ता प्राज्ञिक थलोमा विधि र प्रकृया विपरित हुने क्रियाकलापले भविष्यसम्म अराजकता बढाउन सक्ने भन्दै कार्यालय र कर्मचारीहरुलाई समेत छलेर होटलमा अन्तरवार्ता लिने कार्य र त्यसमा निहित उद्देश्यको बारेमा सम्वन्धीत निकायले छानविन गर्नुपर्ने सभापति सन्देश दाश श्रेष्ठले बताए । 

कार्यावधी पुरा हुनै लागेका सेवा आयोगका अध्यक्ष र सदस्य दुवैलाई पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयबाट बिदाई भइसकेपछि काठमाण्डौ पुगेर पदावधी समाप्त हुनुभन्दा चार दिन अघि सुटुक्क परीक्षा लिएका थिए । पूर्वाञ्चल विश्वविद्यालयको नियमावली अनुसार परीक्षा सञ्चालन गर्नु भन्दा १५ दिन अघि परीक्षा सम्वन्धी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था भएपनि कुनै प्रकृया पुरा नगरी श्रेष्ठले काठमाण्डौको  लाजिम्पाटस्थित होटल एम्बेस्टरमा परीक्षार्थीको अन्तरवार्ता दिएको सार्वजनिक भएको थियो । 

विश्वविद्यालयले २०७४ साल चैत ९ गते १ जना प्राध्यापक, तीन विषयगत सहप्राध्यापक र पाँच उपप्राध्यापकसहित विभिन्न ६३ पदकालागि विज्ञापन आह्वान गरेको थियो । विषय नै नभएको र विद्यार्थी नभएको विषयमा पनि विज्ञापन आह्वान गरेपछि प्राध्यापक संगठन र विद्यार्थी संगठनहरुले त्यसको विरोध गर्दै आएका थिए । विरोधमा उनीहरुले सेवा आयोगको कार्यालयमा तालाबन्दी अहिलेसम्म जारी छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर