• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नलसिंङगाड परियोजना अघि बढाउनेबारे उर्जामन्त्री र जापानी राजदूतबीच छलफल

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोतको क्षेत्रमा गर्न सकिने सहकार्यका बिषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको भन्दै परियोजनालाई अघि बढाउने विषयमा छलफल गरे । 

उनले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखी नलगाडसम्म जापानले गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरे ।

मन्त्री पुनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको भन्दै नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागी जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसंग आग्रह गरे ।

भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले पिपिपी मोडेलमा  अध्ययन गरिरहेको जानकारी दिए । उनले मन्त्री पुनलाई जापान भ्रमणको निम्तो दिंदै सो क्रममा दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल गर्ने जानकारी दिए ।

जापानी राजदूतले नेपालको जलविद्युत क्षेत्रमा लगनीका लागी राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागी आफुले अपिल गर्ने बताए ।

राजदूत साइगाले भारत र वङगलादेशसंग सहमती भएको क्रस बोर्डर प्रशारण लाइनबारे समेत चासो व्यक्त गरेका थिए । जवाफमा मन्त्री पुनले भारतसंग क्रस बोर्डर टे«डको विषयमा राम्रो वातावरण वनेको र गत वर्ष मात्र ७ करोड र यो वर्ष २५ करोडको विजुली भारतमा निर्यात भएको जानकारी दिए ।
उनले वङगलादेशसंग पनि डेडिकेटेट लाइन र भारत हुंदै वङगलादेशसंग पनि विद्युत व्यापार गर्ने विषयमा सहमती भएको भन्दै लगानीको लागी वातावरण बनाईदिन आग्रह गरे । 

नलसिंङगाड परियोजना पिपिपी मोडलमा बनाउने गरी हाल जापानले अध्ययन गरिरहेको छ । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापानी विकास नियोग जाइकाको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ । जापान भ्रमणकै क्रममा उनले आफ्ना समकक्षीसंग समेत उक्त परियोजनाका विषयमा छलफल गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर