मर्जर बहस : १० हजार सहकारी भए पुग्छ, बाँकी मर्जरमा जानुहोस् - मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणा मन्त्री पद्माकुमारी अर्यालले नेपालमा अब १०/१२ हजार सहकारी संस्था भए पुग्ने बताएकी छन् । 
नेपाल सहकारी पत्रकार समाज र सहकारी विभागले बिहीबार आयोजना गरेको ‘सहकारी मर्जर’ विषयक कार्यक्रममा बोल्दै उनले १०/१२ हजार सहकारी संस्था भए देश हराभरा हुने र सरकारले सोचेको समृद्धिको अभियानमा समेत टेवा पुग्ने बताइन । हाल नेपालमा झण्डै ३५ हजार सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् । 
 
पछिल्लो समय सहकारी संस्थाहरुमार्फत वित्तीय अपराधका घटना बढ्न थालेसँगै अहिले मर्जरको बहस चलेको छ । यसैसन्दर्भमा मन्त्री अर्यालले सरकारले सहकारी संस्थाहरूको मर्जर अभियान सञ्चालन गर्न एकीकरण कार्यविधि बनाउन लागेको जानकारी दिइन । मन्त्री अर्यालले भनिन, 'गुणस्तरीय र पारदर्शी सहकारी संस्था बनाउन मर्जर अभियान थालिएको हो ।' 

त्यस्तै मन्त्री अर्यालले सहकारी संस्थाहरुको मर्जरको अनिवार्य आवश्यकता रहेको समेत बताइन । उनले भनिन, 'सहकारीमा मर्जर अनिवार्य आवश्यकता हो । मर्जर अनिवार्य आवश्यक भए पनि सरकारले जबर्जस्ती मर्जरमा जाऊ भन्न सक्दैन् ।' उनले थपिन, 'मर्जर काम गर्ने क्षेत्र, भेग, कामको प्रकृति मिल्ने बीचमा एकता हुनुपर्छ ।'

मन्त्री अर्यालले सहकारीको संख्या गनेर मात्र नहुने भन्दै सहकारी संस्थाहरुले काम गरेर देखाउनुपर्ने समय आएको उनले बताइन् । कतिपय सहकारी संस्था देखासिकी र लहलहैमा खुलेका भन्दै ती संस्थाहरुले एकीकरणमातर्फत गुणस्तरीय सेवा दिन सक्नुपर्ने उनको भनाई छ । 

सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले एकीकरणबाट नै सहकारी संस्था बलियो हुने बताए । उनले भने, ‘कसरी मर्जरमा जाने भनेर कार्यविधि तयार गर्दैछौं ।' 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर