• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

नोटवन्दीका योजनाकार भाजपा नेता अरुण जेट्ली बच्चालाई गाेजी खर्च पनि चेकबाटै दिन्थे 

एजेन्सी । भारतीय जनता पार्टीका प्रमुख नेता तथा पूर्व अर्थमन्त्री अरुण जेट्लीको शनिवार ६६ वर्षको उमेरमा स्थानियसमय अनुसार मध्यान्ह १२ बजेर ७ मिनेटमा निधन भएको छ । बहुआयामी व्यक्तित्वका धनी जेट्लीलाई भारतले एक कुशल रणनीतिकारको रुपमा सम्झनेछ । 

अरुण जेट्लीको जन्म सन् १९५२ डिसेम्बर २८ का दिन भारतको दिल्लीमा भएको थियो । अरुणको बुबाको नाम महाराज किशन जेट्ली एक वकिल थिए भने आमा रतन प्रभा जेट्ली हुन् । 

जेट्लीले दिल्लीको सेन्ट जेभियर स्कूलबाट स्कूलको पढाई सकाएपछि दिल्ली विश्वविद्यालयको श्री राम कलेज अफ कमर्सबाट स्नातकोत्तर गरे भने दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेका थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्तमन्त्री हुँदा अरुण जेट्लीले भारतकै चर्चित कार्यक्रम विशेषगरी नोटवन्दी, जीएसटी र जनधन योजना लागू गराउन महत्वपूर्ण योगदान गरेका थिए । कानुनी झमेला सुल्झाउनुहोस् वा विपक्षीलाई वार गर्नु, अरुण जेट्लीले मोदी र अमित शाहको कवचको भूमिका निभाएका थिए । 

भारतमा मोदी सरकारले गरेको नोटवन्दी कालाधन अर्थात् ब्ल्याक मनीमाथि नियन्त्रण गर्ने उद्धेश्यले लागू गरिएको थियो, जसलाई निक्कै चुनौतीपूर्ण मानिएको थियो । भारतीय सञ्चारमाध्यमलाई मान्ने हो भने जेट्ली आफ्ना दुई बच्चा छोरा रोहन र छोरी सोनालीलाई गाेजी खर्चका लागि चेक नै दिन्थे । 

अरुण जेट्ली रुपैयाँ लेनदेनलाई लिएर सँधै सतर्क रहने गर्थे । नगद नै लेनदेन नहोस् भन्ने उनी चाहान्थे । जहाँ नोटको लेनदेन हुन्छ त्यहाँ कालाधनको कारोबारको सम्भावना बढी हुने उनको मान्यता थियो र उनलाई नोटवन्दीको योजनाकारको रुपमा लिइन्छ । यसको सबैभन्दा ठूलो उदाहरण थियो – उनी आफ्नो सन्तानलाई पकेट खर्च पनि चेकबाटै दिन्थे । 

मोदीको अघिल्लो ५ बर्षे कार्यकालमा कुशलतापूर्वक वित्त मन्त्रालय सम्हालेका जेट्ली मोदीका भरोसायोग्य र विश्वाससिला थिए । स्वास्थ्य राम्रो नभएपछि भने उनले दोस्रो कार्यकालमा मन्त्री बन्न इच्छा जनाएनन् । 

जट्लीको राजनीतिक जीवन सन् १९७४ मा सुरु भयो । उनले त्यही वर्ष दिल्ली विद्यार्थी युनियनको चुनाव जिते । तर, सन्र १९७५ मा आन्दोलनका क्रममा अम्बाला र दिल्ली जेल परे । उनले तिहाडमा पनि १९ महिना जेल जीवन बिताए । 

त्यसपछि, सन् १९७६ मा जेट्ली लोकतान्त्रिक मोर्चाको संयोजक बने । त्यस्तै, सन् १९८० मा भारतीय जनाता पार्टीको सदस्य बनेका थिए । सन् १९८२ मा अरुण जेट्लीले संगीता डोगरासँग विवाह गरेका थिए । 

जेट्लीको निधनमा भारतीय जनता पार्टी सहित अन्य राजनीतिक दलका नेताहरुले शोक व्यक्त गरेका छन् । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले जेट्लीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्।

मध्यपूर्वका देशहरुको भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेटलीको पत्नी र छोरालाई फोन गरेर शोक व्यक्त गरेका छन् । जवाफमा परिवारका सदस्यहरुले विदेशको भ्रमण रोकेन नफर्कन आग्रह गरेका छन् । 

गृहमन्त्री अमीत शाहले जेट्लीको निधनमा शोक व्यक्त गर्दै आफ्नो लागि व्यक्तिगत क्षती भएको जनाएका छन् । रक्षामन्त्री राजनाथ सिंहले सहकर्मी जेट्लीको निधनमा गहिरो शोक व्यक्त गरेका छन् । 

विपक्षी नेतृहरु सोनिया गान्धी, ममता वनर्जीले पनि जेटलीको निधनमा गहिरो शोक प्रकट गरेका छन् । 

शनिवार जेट्लीको पार्थिव शरीर एम्स अस्पतालदेखि कैलाश कोलोनीस्थित उनको घरमा ल्याइएको छ । आइतवार विहान उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि भाजपाको मुख्यालयमा राखिनेछ र त्यसपछि दिल्लीको निगमबोध घाटमा उनको अन्तिम संस्कार गरिने भारतीय जनता पार्टीले जनाएको छ। 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर