• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

कानेपोखरीको जंगल र निगुरो बेच्नेको कथा

झापा । काठमाडौंबाट विराटनगर एयरपोर्टमा ओलिएको मात्रै थिए, सहकर्मी चक्रपाणी गौतम टुप्लुक्क आईपुगे । उनैको स्कुटको पछाडि बसेपछि यात्रा दमक सोझियो ।  

दमक आउँदै गर्दा मोरङ कानेपोखरीको जंगलमा निगुरो बेच्नेको भिड देखँे । स्कुलेदेखी गाला चाउरी परिसकेका हजुरबुवा हजुरआमा समेत निगुरो बेच्न व्यस्त देखिन्थे ।  

‘कतिबेला निगुरो टिप्न जानुहुन्छ ?’ एक व्यापारीले मेरो प्रश्न सुन्ने वित्तिकै उत्तर दिए, उज्यालो हुनासाथ ।

मलाई पनि उनिहरुको दिनचर्या पछ्याउने जाँगर चल्यो । पुगें कानेपोखरी जंगल । मनमा निगुरो व्यापारीको बारेमा केही बुझ्ने धक मरेको थिएन् ।

अर्को दिन
घाम भर्खरै उदाउँदै थियो । एकाबिहानै हातमुख धोएर डोको बोकेर जंगलतिर जाँदै गरेकी मोरङ कानेपोखरीकी रश्मिता वि.कलाई भेटेँ ।

‘दिदि एकाबिहानै डोको बोकेर कता लाग्नुभयो ? घास काट्न हो ?’ उनले मुस्कुराउँदै जवाफ फर्काइन, ‘हैन भाई म निगुरो खोज्न हिडेकी जंगलतिर ।’

अनि काँधमा डोको र नम्लो लिएर जाँदै गरेकी रश्मिता वि.क.लाई आफ्नो परिचय दिँदै म पनि रिपोर्टीङका लागि उनकै पछि लागें ।
  
उनले निगुरो टिप्दै सुनाउँदै गईन । 

‘जङ्गलको निगुरोबाटै छ जनाको परिवार पाल्दै आएको छु ।’ 

जङ्गलमा दिनभरि खोजेको निगुरोनै आफ्ना लागि जिउने सहारा बनेको उनी सुनाउँदै थिईन ।
 
साथसाथै, निगुरो टिप्दै डोकोमा हाल्दै आफ्नो काम गरिरहेकी थिइन् ।

‘हामीजस्तो गरिब दुःखीको लागि जङ्गलको निगुरो जीवन जिउने दरिलो माध्यम बनेको छ,’ निगुरो टिपेर डोकोमा हाल्दै उनले सुनाइन्, ‘दिनभरी जङ्गलमा खोजेको निगुरो बेचेर ६ जनाको परिवार पाल्दै आएको छु । निगुराको सिजन सकिएपछि अरू बेला ज्याला मजदुरी गर्छु ।’

जंगलमा बिहानै निगुरो खोजेर बिक्रि गर्नेहरुको जमात बढ्दै गयो । यहाँका जंगलमा उम्रिने निगुरो नै स्थानीयको आय आर्जनको गतिलो माध्यम पनि बन्दै गएको उनी लगायतले सुनाए । 

मोरङ कानेपोखरी कै नरबहादुर कार्कीपनि निगुरो टिपेर बल्ल भारी पुग्यो भन्दै सडकतिर निस्कने तरखरमा थिए । उनले यसरी जंगलमा निगुरो टिपेर बेच्न थालेको एक दशक बितिसकेको रहेछ । ‘सिजनमा त यहि कामबाट मनग्य आम्दानी गर्छु’ उनले सुनाए । 

उनले टिपेको निगुरो दमक, गौरादह, गौरिगञ्ज तिरका ब्यापारीहरु आएर लैजाने गर्दा रहेछन् । जंगलबाट बाहिर ल्याएर मुठा बनाउन नभ्याउदै उनले होलसेलमै सबै निगुरो बेचिहाले ।

जेठ महिनादेखी असोज महिनासम्म निगुरोको सिजन मानिन्छ । यो समयमा पूर्वका जंगलमा निगुरो भेटिन्छ । 
‘निगुरो टिपेर बेच्दा त कमाई राम्रै हुन्छ, तर निगुरो टिप्नेका समस्या कति छन् भन्ने अरुलाई के थाहा ?’ 

भर्खरै जंगलबाट निगुरो टिपेर सडकमा आईपुगेर भारी बिसाउँदै गरेकी अर्की व्यवसायी सानिमाया लिम्बुले गुनासो गरिन् । 

जंगलमा सर्पको डर, जुकाको डर । अनि ज्यान नै जोखिममा राखेर टिपेर ल्याएको निगुरो आफूले बेच्दा १०÷१५ रुपैयाँ मुठामा बेच्नुपर्छ, ब्यापारीले लगेर त्यही निगुरो ४०/५० रुपैयाँ सम्ममा बिक्रि गर्छन ।’ आक्रोश मिश्रित भावमा उनले सुनाइन् ।

निगुरो अहिले ४० देखि ५० रुपैयाँसम्ममा व्यापारीले बिक्रि गर्ने गरेका छन् । यहाँका जंगलमा संकलन गरिएका निगुरो पूर्वका विभिन्न बजार तथा काठमाडौंसम्म पनि निर्यात हुने गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर