नेपालमा लगानी गर्न चिनिया टोलीलाई नेता शर्माको आग्रह

चितवन । पूर्वमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले नेपालमा लगानीको वातावरण बनेको बताउँदै ढुक्क भएर लगानी गर्न चिनियाँ टोलीलाई आग्रह गरेका छन् । 

भरतपुर महानगरपालिकाले आइतबार आयोजना गरेको चिनियाँ लगानीकर्ताहरुसँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । नेपाल सरकार लगानीको वातावरण, सुरक्षा र जग्गा उपलव्ध गर्न प्रतिवद्ध रहेकाले सहकार्य गर्दै अघि बढ्न शर्माले आग्रह गरेका थिए । उत्पादनमुलक उद्योग, पर्यटन, कृषि तथा जलविद्युुतका उद्योगको सम्भावना प्रशस्तै रहेकोले सहकार्य गरी दुवै पक्षले यसको फाइदा उठाउनु पर्नेमा नेता शर्माले जोड दिए । प्रदेश नम्बर तीनका सांसद मिलनबाबु श्रेष्ठले पर्यटन, कृषि तथा जलस्रोतमा ठुला लगानीका लागि वातावरण बनेकोले सहकार्य गर्न चिनियाँ प्रतिनिधिलाई आग्रह गरेका थिए । 

भरतपुर महानगर प्रमुख रेनु दाहालले चीन र नेपालबिचको पुरानो सम्बन्धलाई कायम राख्दै नयाँ सम्बन्ध बिस्तार गरिरहेको उल्लेख गरिन् । उनले वान बेल्ट वान रोड परियोजनासहितका कार्यक्रममा हातेमालो गर्न तयार रहेकाले सहकार्यलाई चिनियाँ पक्षले अझ बलियो बनाउनु पर्नेमा जोड दिइन् । चिनियाँ टोलीका संयोजक फन जिआवोले नेपाल सम्भावनाको खानी भएकाले आवश्यक सहयोग र लगानी गर्न चीन तयार रहेको उल्लेख गरे । उनले सहकार्यका लागि आफूहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा महानगर र चिनियाँ पक्षले लगानीको वातावरण, सम्भावना, चुनौती लगायतका विविध विषयमा डेढ घण्टा छलफल गरेका थिए । कार्यक्रममा चितवनका उद्योगी व्यवसायीहरुको पनि सहभागिता रहेको थियो । चिनियाँ टोलीले चितवनको कालिका नगरपालिकामा बन्दै गरेको औद्योगिक पार्कको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । फन नेतृत्वको ४३ सदस्यीय चिनियाँ टोली छलफलका लागि आइतबार भरतपुर आइपुगेको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर