जग्गा दिलाइदिन्छु भन्दै लाखौं लिएर छिमेकी नै फरार भएपछि...

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ४ यदुकोहाकी रेखा मण्डल हिजोआज निकै तनावमा छिन् । उनी न रातमा निदाउँछिन, न दिनमा आराम नै । 

आफ्नै छिमेकीले आफूलाई गरेको विश्वासघातको कारण उनी तनावित भएकी हुन् । छिमेकीको कारणबाट परिवारमा भएको विश्वास पनि उनले गुमाएकी छिन् । वैदेशिक रोजगारीमा रहेका उनका श्रीमान श्याम मण्डल पनि उनीसंग खुसी छैनन् । बेलाबेलामा हुने फोन सम्पर्कमा पनि उनी रिसाएरै बोल्छन् । 

रेखा १६ वर्षदेखि जनकपुरधाम १ मुसहरी टोलमा बस्दै आएकी छिन् । उनले गाउँकै छिमेकी विन्देश्वर मण्डललाई २०७५ साल माघ ३ गते १५ लाख रुपैयाँ दिएकी थिइन् । विन्देश्वरले जग्गा दिलाई दिन्छु भनेर उनीसंग बैना स्वरुप १५ लाख रुपैयाँ लिएका थिए । 

रेखा गुनासो गर्छिन् –‘जब थाहा पाएँ विन्देश्वरले देखाएको जग्गा उसको छैन भनेर मेरो सातो नै गयो ।’ उनले अगाडी भनिन् ‘मैले त्यसपछि उसंग रुपैयाको ताकेता गर्न थाले, ताकेता गर्दै जाँदा विन्देश्वरले २०७५ माघ २३ गते १५ लाखको चेक मलाई दियो ।’

राष्ट्रिय वाणिज्य बैंकको सो चेक पाएपछि उनी खुशी भइन् तर त्यो खुशी पनि धेरै बेरको लागि थिएन । जब वाणिज्य बैंकमा त्यो चेक लिएर पुगिन अनि मात्रै उनले थाहा पाइन् त्यो चेक पनि फर्जी रहेछ । 

विन्देश्वर मण्डलले ४ जनालाई फकाएर जनकपुरधाम वडा नम्बर १ मोनाष्टिक विद्यालय नजिक ६ कठ्ठाको प्लट मेरै हो भनेर केही धुरको हिसाबले चारै जनालाई जग्गा मिलाई दिन्छु भनेर बैना स्वरुप १५ लाख रुपैया लिएका थिए । 

रेखाले जग्गा अर्कैको नाउँमा रहेको र फर्जी चेक दिएको थाहा पाएपछि विन्देश्वरको खोजी गर्न थालिन् । विन्देश्वर भने त्यसपछि फरार भईसकेका छन् ।

रेखाले भनिन्  ‘यस अघि नै जग्गा दिलाई दिने नाउँमा विन्देश्वरले जनकपुरधाम वडा नम्बर एक मै रहेको घर र ४ धुर जग्गा बेच्न लगायो ।’ उनले अगाडि भनिन्  ‘मैले यो जग्गा बेचेर राम्रो जग्गा पाउँछु आशमा घर सहित नै बेचेँ, सो वापत २८ लाख रुपैयाँ पाएको थिएँ । ’

यता विन्देश्वरको चाल भने अर्कै थियो ।

विन्देश्वरले छोरी बिहे गर्नु छ भन्दै रेखा संग यस अघि नै २३ लाख रुपैयाँ समेत लिएका थिए । यसका लागि तमसुक पनि बनाइएको थियो ।

रेखाले प्रहरीमा समेत विन्देश्वरलाई पक्राउ गरी पैसा उपलब्ध गराई दिन हार गुहार गरिन् तर प्रहरीले चासो नै नलिएको उनको आरोप छ । 

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले २०७५ वैशाख २६ गते ठगी मुद्दा दर्ता भईसकेको र यसको सुक्ष्म रुपमा अनुसन्धान भईरहेको जानकारी गराए । 

उनले ठगी गर्ने विन्देश्वरको खोजी समेत प्रहरीले गरिरहेको बताए । प्रहरी उपरीक्षक खनालका अनुसार विन्देश्वरको कल लोकेशन ट्रैश गरेर खोजी भईरहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर