• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘हेल्थ असिस्टेन्ट’का भरमा अस्पताल

डडेल्धुरा । जिल्लाको परशुराम नगरपालिकामा रहेको जोगबुडा अस्पताल चिकित्सकविहीन बनेको छ । उक्त अस्पताल हाल स्वास्थ्य सहायकका भरमा चलिरहेको छ ।  भित्री मधेस जोगबुडाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको प्रमुख उपचार केन्द्रका रूपमा रहेको जोगबुडा अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको हो । 

सो अस्पतालका एक मात्र चिकित्सक करुणा बज्राचार्य समायोजन भएर अन्यन्त्र गएपछि १५ शय्याको अस्पताल तीन सातादेखि चिकित्सकविहीन बनेको हो ।
एकजना नवौँ तह र दुईजना मेडिकल अधिकृतको दरबन्दी रहेको जोगबुढा अस्पताल तीन सातादेखि हेल्थ असिस्टेन्टको भरमा सञ्चालन भइरहेको छ । 

देशैंभर डेंगी स्क्रबटाइफस र भाइरल ज्वरोका बिरामीको चाप बढेका समयमा जोगबुडा अस्पताल चिकित्सकविहीन हुँदा बिरामीलाई उपचारका लागि समस्या भइरहेको छ । समान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम वा तराईका अस्पताल धाउनुपर्ने बाध्यता बनेको स्थानीय कैलाश पाण्डेयले बताए । 

हिजोआज दैनिक रूपमा एक सयदेखि एक सय ५० सम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका हेल्थ असिस्टेन्ट एवं निमित्त प्रमुख तारादत्त बोहराले बताए । समायोजनमा सरुवा भएर गएपछि अहिले अस्पताल चिकित्सकविहीन बन्दा उपचार गर्न समस्या भइरहेको अस्पतालका निमित्त प्रमुख बोहराको भनाइ छ । 

समायोजनपछि सरुवा भएर चिकित्सकसहित अन्य स्वास्थ्यकर्मी गएको तर त्यसको सट्टामा कोही आइनसकेकोले उपचारमा समस्या भइरहेको परशुराम नगरपालिका प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष भीमबहादुर साउँदले बताए । बारम्बार चिकित्सकको माग गरिए पनि अहिलेसम्म अस्पतालमा चिकित्सक तथा स्वस्थ्यकर्मी नआएको उनले बताए । 

अस्पतालमा चिकित्सक नहुँदा यस क्षेत्रका बिरामी उपचारका लागि धनगढी, महेन्द्रनगरलगायत भारत जान बाध्य भएका छन् । भाइरल ज्वरोका बिरामीको चाप बढेको भए पनि जोगबुढा अस्पतालमा चिकित्सक नहुँदा अस्पतालका श्यया खाली रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर