• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

इंग्लिस प्रिमियर लिगः चेल्सीकाे जितमा अब्राहमकाे ह्याट्रिक, टोटनह्यामको प्रभावशाली जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार बेलुका भएका खेलमा म्यानचेस्टर युनाइटेड, साउथह्याम्टन, चेल्सी र टोटनह्यामले जित निकालेका छन् । यसअघि शनिबार नै भएको लिगको पहिलो खेलमा लिभरपुलले न्युक्यासललाई ३–१ ले पराजित गरेको थियो ।

टोटनह्यामको प्रभावशाली जित

शनिबार बेलुका भएको खेलमा टोटनह्यामले क्रिस्टल प्यालेसमाथि ४–० को जित निकालेको छ । खेलको १०औं मिनेटमा सन हिउङ मिनको गोलबाट अग्रता लिएको हो । खेलको २१ औं मिनेटमा क्रिस्टल प्यालेसका पेट्रिक भान आनहोल्टले आत्मघाती गोल गरेपछि टोटनह्यामले अग्रता दोब्बर बनायो । त्यसको दुई मिनेटपछि नै मिनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–० को स्थितिमा राखे । त्यस्तै, ४२औं मिनेटमा इनिक लामेलाले गोल गर्दै ४–० को जित दिलाए । टोटनह्यामले सबै गोल पहिलो हाफमा गरेको हो ।

चेल्सीका अब्राहमले गरे ह्याट्रिकसँगै आत्मघाती गोल

शनिबार नै भएको अर्को खेलमा चेल्सीले उल्भ्समाथि ५–२ को जित दर्ता गरेको छ । सो खेलमा चेल्सीका टमी अब्राहले ह्याट्रिक गरेका छन् । चेल्सीले ३१औं मिनेटमा फिकायो टोमरीको गोलबाट अग्रता लिएको हो । त्यसपछि अब्राहमले ३४औं, ४१औं तथा ५५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने टोलीलाई ४–० को स्थिति राखे । 

तर, चेल्सीका अब्राहले ६९औं मिनेटमा आत्मघाती गोल गर्न पुगेपछि खेल ४–१ को स्थितिमा पुग्यो । उल्भ्सका पेट्रिक कट्रनले ८५औं मिनेटमा गोल गर्दै खेललाई ४–२ मा ल्याए । तर, अतिरिक्त समयको छैटौं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई ५–२ को जित दिलाउन सफल रहे । 

म्यानचेस्टर युनाइडेटको झिनो जित

शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीमाथि १–० को झिनो जित निकालेको छ । म्यानचेस्टरका लागि मार्कुस रास्फोर्डले आठौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि दुवै पक्षबाट गोल नभएपछि म्यानचेस्टर विजयी भयो । 

साउटह्याम्टन विजयी

शनिबार नै भएको अर्को खेलमा साउथह्याम्टन विजयी भएको छ । साउटह्याम्टनले सेफ युनाइटेडलाई १–० ले पराजित गरेको हो । साउटह्याम्टनका लागि मोउसा जेनेपोले ६६औं मिनेटमा गोल गरेका हुन् । सो खेलमा सेफ युनाइडटेड अन्तिम पाँच मिनेट १० खेलाडीमा सीमित भएको थियो । सेफका बिली सार्प रातो कार्ड खाँदै ८५औं मिनेटमा मैदान छाड्न बाध्य भएका थिए ।

ब्राइटन र बर्नली बराबरीमा 

शनिबार नै भएको अर्को खेलमा ब्राइटन र बर्नलीले बराबरी खेलेका छन् । उनीहरूले १–१ को बराबरी खेलेका हुन् । खेलको ५१औं मिनेटमा निल माउपेको गोलबाट अग्रता लिएको हो । तर, ब्राइटनका जेफ हेनरिकले अतिरिक्त समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर