• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

बढ्यो बाल हिंसा: अपहरणदेखि बलात्कारसम्म

बालबालिका असुरक्षित छन्। दिनहुँजसो बलात्कार, अपहरण, हत्या, एसिड प्रहारजस्ता घटना भइरहेका छन्। यसबाट प्रदेश २ का बालबालिका झनै पीडित छन्।

आव ०७५/७६ मा प्रदेश २ मा चार सय ४७ वटा बाल हिंसाका घटना भएको प्रहरी तथ्यांक छ। ०७४/७५ मा बाल हिंसाका तीन सय ६४ वटा घटना प्रहरीमा दर्ता भएका थिए।

अपहरण गरी हत्या
मिथिला नगरपालिका ढल्केबर–६ का अढाई वर्षीय आर्यन साहलाई वैशाख २३ गते छिमेकी शत्रुधन महतोले अपहरण गरी बन्धक बनाए। आमा खोज्दै रोइरहेका आर्यनलाई अपहरणकारीले भैंसीको दूध खुवाएर सुताए। शक्तिशाली धामी बन्ने अन्धविश्वासका कारण मध्यरातमा बालकको ‘चमेनी माई’ लाई बलि चढाए। शव घरपछाडिको बगैंचामा फाले।

आर्यन हत्याको दुई सातापछि शत्रुधन पक्राउ परे। घटनाका योजनाकार मिथिला नगरपालिका–८ कुसुमबिछौनाका जंगवीर महतो पनि पक्राउ परे।

बलात्कारपछि जलाएर हत्या
हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिका रेश्मा रसाइलीको २०७५ फागुन २ मा बलात्कारपछि जलाएर हत्या गरियो। १ गते छिमेकीको छोरीको विवाह भोजको निम्तो थियो रेश्मा परिवारलाई। उनी परिवारका साथ भोज खान गएकी थिइन्। अरू फर्केर घर आए। उनी नाचगानमा रमाइरहेकी थिइन्। लाइन झ्यापै गएर अँध्यारो भयो। त्यसको मौका छोप्दै विवाहमा मामाघर आएका बटेश्वर गाउँपालिका–४ का २२ वर्षीय निरज जर्घामगरले बालिकालाई फ्रुटी किनिदिने भन्दै पसलतिर लगे।

निरजले चाउचाउ र फ्रुटी किनिदिए। नजिकैको उखुखेतमा लगेर बलात्कार गरे। पोल खुल्ने डरले बालिकाको घाँटी थिचेर हत्या गरिदिए। प्रमाण नष्ट गर्न उखुको पतकरले शव जलाइदिए।

बिहान बालिकाको शव आधा जलेको अवस्थामा देखेपछि उनी भागे। लुकिछिपी बसिरहेका निरज विदेह नगरपालिका–२ दुहबीबाट फागुन ६ गते पक्राउ परे। अहिले उनी जेलमा छन्।

बालिकाका काका देवराजले भने, ‘निर्मम तरिकाले अवोध बालिकाको हत्या भयो। हामी कोही सुरक्षित छैनौं । घाँसदाउरा गर्न जान पनि चेलीबेटी डराइरहेका छन् ।’

आठमहिने बालिकाको हत्या
महोत्तरी औरही–१ की आठमहिने सोनाली चौधरीलाई खेलाउने बहानामा भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले बेपत्ता बनाए। १० भदौ २०७५ मा हत्या गरे। शव फालेर फरार साहलाई प्रहरीले कात्तिक ४ गते पक्राउ गर्‍यो।

मुस्कानमाथि एसिड प्रहार
गत भदौ २० गते बिहानैे वीरगन्ज महानगरपालिका–१३ श्रीपुर निवासी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भयो। त्रिभुवन माध्यमिक विद्यालय जाने क्रममा वीरगन्जको गणेशमान चोकमा प्रेमप्रस्ताव अस्वीकार गरेको भन्दै स्थानीय सम्साद मियाले उनीमाथि एसिड प्रहार गरेका थिए। गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचार गरिएको छ।

भारत पुर्‍याएर बलात्कार
धनुषा बटेश्वरकी कक्षा ९ मा पढ्ने किशोरी २०७५ फागुन ११ गते साँझ बहिनीसँग खेतबाट घर फर्कंदै थिइन्। अकस्मात् उनीहरूका अगाडि तीनजना चढेको मोटरसाइकल रोकियो। बहिनी डराएर भाग्न सफल भइन्। ‘नशालु पदार्थ सुँघाएर बेहोस बनायो। आँखामा कालोपट्टी बाँधी अपहरण गर्‍यो’, पीडित किशोरीले भनिन्, ‘तीन महिनासम्म बलात्कार गर्‍यो।’

ती किशोरीलाई तीन महिनासम्म बन्धक बनाइयो र उनीमाथि सामूहिक बलात्कार भयो। ‘घरमा बन्धक बनाएर राखे, रड र लठ्ठीले कुटे,’ किशोरीले भनिन्, ‘हातखुट्टा बाँधेर सुई लगाइदिन्थ्यो अनि बेहोस बनाएर राख्थ्यो।’

उनी जेठ ५ गते भागेर जनकपुर आउन सफल भइन्। महोत्तरी लोहारपट्टी नगरपालिका–२ सुखैनियाका २२ वर्षीय रवानी राइन कवारीसहित चारविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता भएको डीएसपी रामेश्वर कार्कीले बताए। चारैजना फरार छन्।

रिसिबीले अपहरण गरेर हत्या
वीरगन्ज महानगरपालिका–३ प्रगतिनगरका ८ वर्षीय करण साहलाई अपहरणकारीले २०७६ जेठ १५ मा हत्या गरे। विद्यालयबाट घर फर्किंदै गर्दा बालकको अपहरण भएको थियो। बिहारको बेतियाका घर भई वीरगन्जको प्रगतिनगरमा बस्दै आएका २० वर्षीय विकास शर्मा, कलैया उपमहानगरपालिका–११ का २१ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरपाता निवासी २० वर्षीय रामविनेश महतो बालक हत्या आरोपमा प्रहरीले पक्राउ गर्‍यो।

बालकको अपहरणपछि अपहरणकारीले ३० लाख फिरौती मागेका थिए। फिरौती रकम दिन नसक्दा हत्या भएको थियो। प्रहरीले बालकको अपहरण र हत्यामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएको थियो। बालक करणको बुबा शम्भुको घर नजिकै डेरा गरी बस्दै आएका विकास अपहरण र हत्याको मुख्य योजनाकार थिए। विकास र करणका बुवा शम्भुबीच समान्य विवाद थियो। त्यही रिसइबी साध्न बालकको अपहरण गरेका थिए।

बालिकामाथि धेरै हिंसा
प्रदेश २ का बालबालिकामाथि हत्या, हिंसा, बलात्कारका घटनामा वृद्धि भएको छ। ०७४/७५ मा तीन सय ६४ बाट बढेर ०७५/७६ मा चार सय ४७ वटा बालहिंसाको घटना भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ।

अन्य घटनाभन्दा जबरजस्ती करणी प्रयास र बलात्कृत बालिकाको संख्या बढी छ। याे समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर