• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

किसान ठग्दै दुग्ध विकास संस्थान, ५५ रुपैयाँ लिटरको दूध १०० रुपैयाँमा बिक्री

संस्थान डुबाउने खेलमा संस्थानकै माथिल्लो तहका कर्मचारी

काठमाडौं । सिन्धुपाल्चोकका ४२ वर्षीय हरिबहादुर कार्की विनाशकारी भूकम्पपछि सडकमा आइपुगे । त्यसअघि तीनवटा भैंसी र दुईवटा गाई पालेर जीवन राम्रैसँग चलाइरहेका कार्कीलाई त्यसपछि भने जीवन चलाउन कठिन भयो ।

भूकम्पले उनको घर त ढल्यो नै, भएका बस्तुभाउ पनि सकिए । त्यसपछि उनी काठमाडौं हानिए । काठमाडौं आएपछि ललितपुरको लुभु बसेका उनले त्यहीँ गाईपालनको काम सुरु गरे । अहिले उनको फार्ममा १९ वटा गाई छन् ।
उनको फार्मबाट आएको दुध उनी नजिकैको घरघरमा पुर्याउँछन् र बाँकी भएको दूध निजी डेरीमा बिक्री गर्छन् ।

सरकारी निकायको दुग्ध विकास संस्थानले उचित मूल्य नदिने भएपछि आफू निजी डेरीमा नै दूध बिक्री गर्ने उनी बताउँँछन् । उनी भन्छन्, ‘हामी दुःख गर्छौं, तर राज्यले हामीलाई नै ठगिरहेको छ ।

डेरीले ल्याक्टो र फ्याट नापेर त्यसका आधारमा महिना पूरा भएपछि मात्र पैसा दिन्छ । डेरीले गाइको दूध प्रतिलिटर ४५ देखि ५० रुपैयाँसम्म दिन्छन्, तर डेरी व्यवसायीले भने त्यही दूध उपभोक्ताले किन्दा प्रतिलिटर ९० देखि १०० रुपैँयासम्म लिन्छन् । ल्याक्टो र फ्याट राखेर त्यही दूध किसानले उपभोक्तालाई बिक्री गर्दा भने उनीहरूले १४० रुपैयाँ लिटरसम्म पाउँछन् ।

अहिले  दुग्ध विकास संस्थानले डिडिसीको निलो प्याकेट ९३ प्रतिशत फ्याट०को दूध लिटरको ७६ रुपैयाँ पर्छ । अझ फ्याटयुक्त हरियो प्याकेटको दूध (होलिमिल्क, ५ प्रतिशत फ्याट) खाने हो भने प्रतिलिटर १ सय रुपैयाँ तिर्नुपर्छ । त्यस्तै गाईको दूध पहेलो प्याकेटको ९० रुपैयाँ तिर्नुपर्छ । यो दर हालै भदौ २१ गतेदेखि लागू गरिएको हो ।

उपभोक्ताबाट लिटरको १ सय रुपैयाँ असुल्ने दुग्ध विकास संस्थानले पशुपालक किसानलाई भने प्रतिलिटर करिब ५५ रुपैयाँ मात्र दिने गर्छ ।

पशुपालक किसानले उत्पादन गरेको दूधको बजार व्यवस्थापन गर्ने जिम्मेवारी पाएको दुग्ध विकास संस्थानबाटै किसान ठगिएको किसानहरूको गुनासो छ । ललितपुरकै गोदावरीका दुध किसान रामेश्वर थापा भन्छन् ,  ‘दुःख गर्नेको हातमा जम्मा ५०–५५ रुपैयाँ, अनि दुग्ध विकास संस्थानले झन्डै दोब्बरमा बेच्छ, हामी किसान कति ठगिएका छौं ?’

पशुपालक किसानबाट किनेको दूधबाट पनि चिल्लो पदार्थ अर्थात् फ्याटको मात्रा झिकेर मात्र दूध बजारमा पठाउने गरेको किसान बताउँछन् । दूधमा फ्याटको मात्रा चार प्रतिशतभन्दा बढी नै हुने र आधाजसो झिकेर मात्र बेच्ने गरेको किसान बताउँछन् ।

ती फ्याटबाट नौनी तथा घ्यू बनाएर संस्थानले अतिरिक्त लाभ उठाइरहे पनि  दूध उत्पादक किसान भने गठिँदै आएको थापाको गुनासो छ ।

तर, दुग्ध विकास संस्थानले दूधको गुणस्तर अनुसारको मूल्य तिर्नुपर्ने भएकाले संस्थानलाई किसानले भनेजस्तो मुनाफा नहुने बताउँदै आएको छ । संस्थानका  योजना तथा बजार व्यवस्थापन प्रमुख सञ्जीव झा संस्थानले बिक्री गरेको मूल्यको ६९ प्रतिशत किसानकै लागि खर्च हुने बताउँछन् । समाचार दैनिकसँग कुरा गर्दै उनले भने, ‘हामी आम्दानी गरेको ६९ प्रतिशत रकम किसानमै खर्च गर्छौं, बाँकी रहेको रकमले संस्थानको अन्य खर्च चलाउँछौं ।

दुग्ध विकास संस्थान, दुग्ध उत्पादक कृषकबाट उत्पादित दूधको बजार व्यवस्थापन गर्न र उपभोक्तालाई स्वच्छ र प्रशोधित दूध तथा दुग्ध पदार्थ आपूर्ति गर्ने उद्देश्यले तत्कालीन दुग्ध विकास बोर्ड संस्थान ऐनअनुसार २०२६ सालमा दुग्ध विकास संस्थान गठन भएको हो । संस्थानले अहिले विभिन्न दुग्ध पदार्थसहित दैनिक ७५ हजार लिटर स्ट्यान्डर्ड दूध र झन्डै १२ हजार लिटर होलीमिल्क बिक्री गर्दै आएको छ । तर, दुई वर्षअघि संस्थानले स्ट्यान्डर्ड दूध एक लाख लिटर र होलीमिल्क १२ हजार लिटर बिक्री गर्दै आएको थियो ।

संस्थानले दुग्ध किसानलाई आकर्षक मूल्य दिन नसकेका कारण किसान निजी दुग्ध कम्पनीतिर आकर्षित हुने गरेको पशुपालक किसानहरूको भनाइ छ ।

यता, दुग्ध विकास संस्थानकै माथिल्लो तहका कर्मचारी विभिन्न बहानामा संस्थानको दूधको बिक्री घटाउने खेलमा लागेको संस्थानकै कर्मचारीहरूको आरोप छ । संस्थानमा बसेर निजी दुग्ध कम्पनीहरूलाई लाई पोस्ने काम स्वयं संस्थानकै माथिल्लो तहको कर्मचारीले गरेको छ, हामी केही बोल्न सकेका छैनौं, संस्थानका एक कर्मचारीले भने ।

(दुग्ध विकास संस्थान र दुग्ध बिक्रिमा अनियमिताका बारेमा अन्य रिपोर्टहरु हामी आगामी श्रृङ्खलामा प्रस्तुत गर्नेछौं–सम्पादक)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर