'लगातारको बजार घटाइले लगानीकर्ताको मनोबल गिर्दो, नियामक निकायको सम्बोधन आवश्यक '

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजार निरन्तर घटिरहँदा सेयर लगानीकर्ताको अर्बौं रकम स्वाहा भएको छ । 

घटिरहेकोको बजारमा लगानीकर्ताको मनोबल दिनप्रतिदिन खस्किंदै गएको लगानीकर्ताको नेता तथा ठूला लगानीकर्ता बताउँछन् । अर्थतन्त्रका समग्र सूचक ठीकठाक अर्थात सकारात्मक नै रहँदा पनि बजार सुधार हुन नसक्नु आश्चर्य भएको लगानीकर्ताको भनाई छ ।

अर्थमन्त्री सेयर बजारप्रतिको असहिष्णु व्यवहारले बजार घटाएको आरोप लगानीकर्ताहरुले लगाउँदै आएका छन् । गतसाता मात्रै लगानीकर्ताको एक समूहले अर्थमन्त्रीको कारण बजार घटेको भन्दै राजीनामा नै माग गरे । 

यता, अर्थमन्त्री खतिवडाले भने उक्त आरोप घुमाउरो पारामा अस्वीकार गर्दै आएका छन् । उनले अर्थशास्त्रको सिद्धान्त अनुसार नै बजार घटबढ हुने र त्यसले नै कम्पनीको सेयर मुल्य कायम गर्ने बताउँदै आएका छन् । गतसाता राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले सेयर बजारलाई घोडासँग तुलना गर्दै भने, 'घोडालाई पानी नजिकै ल्याएको छौं । तिर्खा लागे पानी खान्छ नलागे खाँदैन् ।' 

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष अम्बिका पौडेलले निरन्तरको बजार घटाइले लगानीकर्ताको मनोबल खस्किएको बताउँछन् । समाचारदैनिकसँग कुराकानी गर्दै उनले भने, 'नेप्सेको लगातारको घटाइले लगानीकर्ताको मनोबल गिराइरहेको छ । अर्थतन्त्रका सुचकहरु सकारात्मक रहँदारहँदै पनि सेयर बजारमा नेगेटिभ असर परेको छ ।' हाथवे इन्भेष्टमेन्टका म्यानेजिङ डाइरेक्टर समेत रहेका उनले थपे, 'लगानीकर्ताको मनोबल उकास्नका लागि नियामक निकायबाट केही न केही सम्बोधन आवश्यक छ ।' 

साताको पहिलो दिन आइतबार नेप्से सूचक १७ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ४० दशमलव ०१ विन्दुमा आइपुगेको छ । यसदिन १६२ कम्पनीको २८ करोड ८० लाख रुपैयाँ १० लाख ९० हजार २१८ कित्ता सेयर खरिदबिक्री भएको छ । 

आज कारोबार भएका सबै समूहका सूचक राताम्मे छन् । जीवन बीमा समूह सबैभन्दा धेरै ६६ दशमलव ०८ अंकले घटेको छ । वाणिज्य बैंक समूह १९ दशमलव ६९ अंकले ओलिएको छ । 
 
त्यस्तै, सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर