जानकी मन्दिर तोडफोड र राष्ट्रपति अपमान प्रकरणको मुद्दा खेपिरहेकाले पाए सफाइ

जनकपुरधाम । जानकी मन्दिर तोडफोड र राष्ट्रपतिको अपमान प्रकरणमा मुद्दा खेपिरहेकाहरुलाई जिल्ला अदालत धनुषाले सफाई दिएको छ । 

गत ५ वर्षदेखि जानकी मन्दिर तोडफोड र राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गरेको भन्दै मुद्दा खेपिरहेकाहरुलाई न्यायधिश राजेश कटवालको इजलाश नम्बर ७ले आइतबार सफाई दिएको हो । प्राचिन सम्पदा तोडफोड मुद्दा खेपिरहेका आठैजनालाई सफाई दिइएको हो । 

तेस्रो मधेश आन्दोलन उत्कर्षमा रहेको समयमा २०७२ सालमा विवाहपञ्चमीका दिन जानकी मन्दिरमा पूजा अर्चनाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी पुगेको समयमा तत्कालिन संंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेका थिए । मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गरेपछि जाहेरीको आधारमा १० जना विरुद्ध प्राचिन सम्पदा तोडफोड गरेको भन्दै मुद्दा दर्ता गराइएको थियो । 

मुद्दा खेपिरहेका १० जना मध्ये १ जनामाथि मुद्दा ठहर हुन सकेन भने रामचन्द्र चौधरीको असामयिक निधन भएको थियो । बाँकी रहेका आठैजनालाई जानकी मन्दिर तोडफोडमा संलग्न नरहेको भन्दै अदालतले सफाई दिएको हो । उनीहरु बिरुद्ध २०७२ साल पौस १ गते मुद्दा दर्ता गराइएको थियो । 

सफाई पाउनेहरुमा सुशिल कर्ण, शिला झा, नविन यादव, अशोक प्रसैला, विवेकचन्द्र अधिकारी, सीता चौधरी, विमला साह र रामजी राय रहेका छन् । 

अदालतबाट सफाई पाई सकेपछि मुद्दा खेपिरहेका सुशिल कर्णले सत्यको जीत ढिलो चाँडो हुन्छ भन्ने कुरो फेरी प्रमाणित भएको छ प्रतिकृया दिए । 

उनले भने ‘५ वर्षदेखि झुठो मुद्दा खेपिरहेका थियौँ, तर हामीलाई अदालतमाथि विश्वास थियो न्याय पाउँछौँ ।’ अगाडी भने ‘आज न्यायको जीत भएको छ । ’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर