तिलोत्तमा नगर प्रमुखको पारिश्रमिकबाट ४३ जना विद्यार्थीलाई छात्रवृत्ति 

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो पारिश्रमिक बापतको रकमबाट सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेका छन । नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४३ जना विद्यार्थीलाई सम्बन्धित विद्यालयको सिफारिसको आधारमा उनले छात्रवृति प्रदान गरेका हुन ।

नगर प्रमुख घिमिरेले गत वर्ष पनि आफूले एक वर्षमा प्राप्त गर्ने सम्पूर्ण पारिश्रमिक रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए । यो छात्रवृत्ति नगरका सम्पूर्ण सामुदायिक विद्यालयका एक÷एक जना विद्यार्थीले प्राप्त गरेका हुन् ।

छात्रवृत्ति वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले उप—प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । सोही समितिको सिफारिसका आधारमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई जनही ५÷५ हजार, कक्षा ११ र १२ का विद्यार्थीलाई जनही ७÷७ हजार रूपैयाँ वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र गरिब तथा जेहेन्दार विद्यार्थीलाई उत्साही बनाउन आफूले प्राप्त गर्ने पारिश्रमिक छात्रवृतिमा लगाएको बताए । 

तिलोत्तमा नगरपालिकाले तीन वर्ष भित्र नगरका सबै सामुदायिक विद्यालयहरूलाई संस्थागत विद्यालयको स्तरमा पु¥याउने लक्ष्य लिएको जनाएको छ । चालू आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको तिलोत्तमाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । 

सोही अवसरमा राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज र रोटरी क्लव अफ तिनाउ बुटवलको सहयोगमा अपाङ्गता भएका विद्यार्थी तथा अन्य व्यक्तिहरुलाई निःशुल्क ह्वील चेयर तथा ट्राइसाईकल वितरण गरिएको छ । यस्तै बाल दिवसको अवसरमा आयोजित विभिन्न प्रतियोगीका साथै पढाइमा उत्कृष्ट भएका विद्यार्थी तथा विद्यालयलाई पनि सोही अवसरमा सम्मान तथा पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नगर अध्यक्ष मोहन चापागाईं, काँग्रेसका नगर सभापति हरिलाल पाण्डे, नगरपालिकाका प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, शिक्षा प्रमुख तथा उपसचिव गंगाराम आचार्यलगायतले नगरप्रमुख घिमिरेले पारिश्रमिक बापतको रकम गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा खर्च गरेकोमा प्रशंसा गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर