भ्रमण वर्षका लागि उपसमिति गठन

पोखरा । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन तनहुँमा जिल्लास्तरीय उपसमिति गठन गरिएको छ । सन् २०१९ मा १५ लाख पर्यटक भित्र्याउने उद्देश्यसहित प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा नौ सदस्यीय उपसमिति गठन गरिएको हो ।

उपसमितिका सदस्यमा समन्वय समितिका उपप्रमुख पवित्रा पौडेल, प्रजिअ रुद्रप्रसाद पण्डित, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठ, नेपाल पत्रकार महासङ्घका अध्यक्ष ओमकार आचार्य, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष वसुन्धरा घर्ती, पर्यटन व्यवसायी हरिसिं गुरुङ र वैशबहादुर गुरुङ चयन हुनुभएको छ । समितिको सदस्यसचिवमा जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी तोकिएका छन् । 

उपसमिति गठनका लागि तयार गरिएको कार्यविधिबमोजिम समन्वय समितिका प्रमुखको अध्यक्षतामा समन्वय समिति उपपप्रमुख, प्रजिअ र तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको र बाँकी सदस्यमध्ये एक महिलासहित चारलाई मनोनीत गरिएको उपसमितिका संयोजक एवं समन्वय समितिका प्रमुख वाग्लेले जानकारी दिए ।

उपसमितिलाई नेपाल सरकार तथा प्रदेश सरकारले घोषणा गरेका पर्यटन तथा भ्रमण वर्ष सञ्चालन गर्न जिल्लाभित्र रहेका सम्भावना र अवसरलाई अध्ययन गरी आवश्यक नीतिगत व्यवस्था तथा सुधार गर्न मूल आयोजक समितिलाई सुझाव दिने तथा कार्यक्रम सञ्चालनमा सहयोग तथा समन्वय गर्ने जिम्मेवारी तोकिएको छ । 

जिल्ला तथा स्थानीय तहमा सञ्चालन गरिने तथा गरिएका पर्यटन तथा भ्रमण वर्षका कार्यक्रमको योजना, अनुगमन र मूल्याङ्कन गर्ने, स्थानीय तहका पर्यटन तथा भ्रमण वर्ष आयोजक समितिलाई समन्वय तथा मार्गनिर्देशन गर्ने र जिल्ला तथा स्थानीय तहमा सञ्चालन गरिएका पर्यटन तथा भ्रमण वर्षका कार्यक्रमको प्रगति तयार गरी मूल आयोजक समितिमा छलफलका लागि पेश गर्ने अधिकार उपसमितिलाई रहेको संयोजक वाग्लेले बताए ।

सरकारी तथा गैरसरकारी क्षेत्र मिलेर १५ लाख पर्यटक गण्डकी प्रदेशका खासगरी पोखरामा र तीमध्ये ५० प्रतिशत पोखरा बाहेकका जिल्लामा पर्यटक भित्र्याउन प्रत्येक जिल्लामा उपसमिति गठनलाई तीव्र पारिएको आन्तरिक पर्यटन भ्रमण वर्षका संयोजक जुद्ध गुरुङले जानकारी दिए ।

उनका अनुसार स्थानीय तह स्तरमा प्रमुखको संयोजकत्वमा नौ सदस्यीय ८५ वटा स्थानीय तहका स्थानीय उपसमिति, मन्त्रालयका सचिवको संयोजकत्वमा नौ सदस्यीय कार्यक्रम कार्यान्वयन उपसमिति र नौ वटा विषयगत उपसमिति गठन गरिनेछ । प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा १५१ सदस्यीय मूल आयोजक समिति गठन भइसकेको छ । उक्त समितिमा नीति तथा योजना आयोग, मन्त्रालयका सचिवहरु, ८५ वटा स्थानीय तहका प्रमुख, पर्यटन व्यवसायीका प्रतिनिधि सदस्य छन् ।

स्थानीय तह स्तरमाका कार्यालयमा पर्यटन वर्ष २०१९–२२ को ब्यानरले सजाउने र हरेक स्थानीय तहका सीमामा प्रवेशमार्गमा स्वागतद्वार बनाउने, ऐतिहासिक तथा पुरातात्विक स्थानको खोजी गरी अभिलेख राख्ने, विद्यमान पर्यटकीय गन्तव्यको पूर्ण विवरण सङ्कलन गरी प्रकाशन गर्ने लगायतका कार्यक्रम सञ्चालन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर