• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

काठमाडौं । मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार एक सय २९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार सात सय ४२ पुरुष, तीन सय ७८ महिला र नौ नाबालक रहेका छन् ।
 
केन्द्रीय कारागार विभागका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद सापकोटा एक हजार पाँच सय क्षमता भएको कारागारमा दोब्बरभन्दा धेरै सङ्ख्यामा कैदीबन्दी हुँदा समस्या भएको बताउँछन् । ‘देशको राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको सङ्ख्या बढी भएको हो,’ उनले भने ।  

केन्द्रीय कारागार परिसरभित्र हाल तीनवटा जेल छन् । जसमध्ये केन्द्र जेलमा एक हजार नौ सय १०, भद्र जेलमा आठ सय ३२ र महिला जेलमा तीन सय ७८ कैदीबन्दी छन् । कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न किसिमका रोगसमेत लाग्ने गरेको छ । केन्द्रीय कारागार तथा देशका अन्य कारागारमा रहेका कैदीबन्दीको उपचारका लागि जगन्नाथदेवलमा केन्द्रीय कारागार अस्पतालसमेत सञ्चालन भएको छ । उक्त अस्पताल हाल ३० शय्याको रहेको छ । 

कारागारभित्र रहेका कैदीबन्दीमध्ये सबैभन्दा धेरै अर्थात् चार सय ७९ जना लागुऔषध कारोबारका रहेका छन् । यस्तै, ३५७ जबर्जस्ती करणी, एक सय ३५ चोरी, ९९ डाँका, ७८ सार्वजनिक अपराध, ७४ ठगी, ४४ ज्यान मार्ने उद्योग, ५२ वन र २८ अपहरण मुद्दामा जेल परेका छन् । 

पछिल्लो समय नेपाल सरकारले कारागारको सुरक्षाका लागि सिसी क्यामरा जडान र विद्युतीय हाजिर जडान गरेको छ । सिसी क्यामरा र विद्युतीय हाजिरको जडानसँगै कारागारभित्रको सुरक्षामा सहज हुने जेलर सापकोटा बताउँछन् । विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई–दुई कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन । 

हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै, भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्र सञ्चालनमा रहेका छन् । विभागका अनुसार हाल देशभर २२ हजार ६ सय ७६ कैदीबन्दी रहेका छन् । देशभर कारागारको क्षमता भने १५ हजार चार सय ६६ रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर