• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कस्ता थिए 'सरल' नेता बोगटी (फाेटाेफिचर)

काठमाडाै । नुवाकोट तुप्चे भित्रिनटारमा विसं २०१० मा जन्मिएका पोस्टबहादुर बोगटीले राजनीतिक जीवनमा विभिन्न आरोह र अबरोह झेले । पञ्चायत विरोधी आन्दोलनमा उनले लामो समय जेल जीवन विताएका थिए । 

गाउँमा गरीव किसानकाे पक्षमा निर्भिकताका साथ उभिन्थे भने सामन्तका विरूद्धमा सधै अग्रपन्तिमा रहन्थे । गाउँमा  स्थानीय जनजागृत युवा कल्ब होस् या सुन्दरादेवी कल्बको नामबाट समाजमा जनचेतना फैलाउने काम गरे । विकृति र विसंगति अन्त्यका लागि सधै लडे । 

नुवाकोट आफ्नो गाउँमा  साना किसान सहकारीमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।  बाहुनले हलो जोत्नुहुँदैन भन्ने समयमा जन्मेका बोगटीले नुवाकोटमा बाहुनले हलो जोत्ने अभियानको नेतृत्व गरेका थिए । साथैं गाउँमा उनले पञ्चायतकालमा गाउँमा विभिन्न क्लब र पुस्तकालयहरु निर्माण गराएका थिए ।

सहकारी क्षेत्रमा मात्रै नभइ उनले शिक्षा क्षेत्रमा पनि उत्तिकै योगदान पु¥याएका छन् । गाउँको चण्डेश्वरी उच्च माविका लागि उनले जग्गा उपलब्ध गराएका थिए ।  किशोरावस्थामा भारतीय सेनामा जागिर खाने सपना साँचेका बोगटीले भारतमा भौतारिँदा धेरै दुःख झेल्नुपर्‍यो । पछि उनले नेपाल फर्केर त्रिशुलीमा भेडा फर्म, माछा फर्म र घरेलु उद्योगमा नोकरी गरे ।

मंसिरमा काटेको धान खलियाबाटै साहुलाई तिर्दा ठिक्क हुने गरेको बोगटी परिवारमा पोष्टबहादुरले धादिङ–रसुवा–नुवाकोटको माओवादी इञ्चार्ज हुँदासम्म ऋण तिर्न छाडेका थिएनन् ।

आफूले अंशमा पाएको एक टुक्रो जमीन प्रोजेक्टको अधिग्रहणमा परेपछि बोगटीको परिवारले झनै दुःख पायो । पहिली श्रीमतीसँगको सम्बन्ध टुटेपछि बोगटीले राममाया (उषा) सँग पुनर्विवाह गरेका हुन् । उषा पनि पार्टीमै क्रियाशील छिन् ।

घरायसी समस्याका कारण औपचारिक शिक्षा घेरै पढ्न नपाए पनि उनी अध्ययनशील नेता मानिन्थे । धर्मशास्त्र र समाजसेवामा आफ्नो रुची रहेको बताउने उनी मित्रप्रसाद घिमिरेले दिएको माओको रेडबुक र राहुल सांकृत्यायनको ‘भोल्गा से गंगा’ पढेर कम्युनिष्ट राजनीतिमा आकषिर्त भएका हुन् ।

विद्यार्थी नेता शरणविक्रम मल्लले उनलाई कम्युनिष्ट पार्टीमा ल्याएका हुन् । पुष्पलाल समूहबाट ०३४ सालदेखि राजनीतिमा लागेका बोगटी ०३७ सालको अन्त्यतिर पुष्पलाल समूह छाडेर चौम समूहमा आवद्ध भए । चौममा लागेपछि तत्कालै उनी नुवाकोट जिल्लाको पार्टी सचिव बने ।

नुवाकोटमा तत्कालीन पञ्च प्रकाशचन्द्र लोहनीसँग द्वन्द्व बढेपछि उनलाई ज्यान मुद्दामा जेल हालियो । ०४२ सालमा रामराजाले गराएको बमकाण्डपछि बोगटी पुनः पक्राउ परे ।

अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य हुँदा ०४२ सालतिरबाट बोगटी र प्रचण्डवीच सम्पर्क भएको हो । त्यतिबेलादेखि प्रचण्डसँग उनको सहकार्य र सम्बन्ध जारी रह्यो । 

बोगटी ०४५ सालमा पूर्णकालीन कार्यकर्ता बनेका हुन् । ०४५ सालमा मोटो मसालको केन्द्रीय सदस्यमा मनोनित भएका उनी ०४८ सालको एकता महाधिवेशनबाट उनी निर्वाचित केन्द्रीय सदस्य भए ।

जनयुद्धकालमा बादल र बाबुरामहरुमाथि समय– समयमा भएका कारवाहीबाट माथिल्लो जिम्मेवारी पाइँदै आएका बोगटी कसैको मन नदुखाउने मृदुभाषी नेता मानिन्थे । बोगटीले बिराटनगर सम्मेलनपछि भनेको आन्तरिक चुनावमा सबैभन्दा मत पाउनुले पनि पार्टीभित्र उनको लोकप्रियता प्रष्ट हुन्छ ।

हेटौटा महाधिवेशनबाट महासचिव चुनिएका उनी बिराटनगर सम्मेलनपछि एमाओवादीको उपाध्यक्ष थिए ।

शान्ति प्रक्रियामा आइसकेपछि पहिलो संविधानसभा चुनावमा नुवाकोटबाट विजयी भएका बोगटीले पर्यटन मन्त्री र उर्जामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

अध्यक्ष प्रचण्डकाे नजरमा बाेगटी

अध्यक्ष प्रचण्डले स्व. नेता बोगटीलाई एक कुशल र बहुआयामिक व्यक्तित्वको धनी, सबैलाई मिलाएर लैजान सक्ने नेताको रूपमा सम्झिए । ‘जहाँ अप्ठ्यारो परिस्थिति आउँथ्यो त्यहाँ पोष्टबहादुर बोगटीको आवश्यकता हुन्थ्यो,’ उनले भने, ‘नीति र नेतृत्वमा समर्थन भाव उनमा रहेको थियो ।’ पार्टीभित्रका र वर्गसंघर्षका काम पनि समाधान गर्न सक्ने कला, व्यवहारिकता कुशलता धेरै माथि थियो ।

नेता बोगटीले शान्ति पक्रियामा आएपछि पहिला संविधानसभामा प्रमुख सचेतकको हैसियताले सबै राजनीतिक दलहरूको बीचमा सुमधुर सम्बन्ध बनाउने र सबैको विश्वास जित्ने काम गरेका थिए । सबैसँग हार्दिकता राख्न सक्ने छबि बाेगटीकाे थियाे । 

गाउँका शिक्षककाे नजरमा नेता बाेगटी

विद्यालयका लागि जग्गा उपलब्ध गराएर शिक्षामा योगदान पुर्याएका नेता बोगटीलाई चण्डेश्वरी उच्च माविकाका शिक्षकहरुले पनि सम्झेका छन् । चण्डेश्वरी उच्च मावि प्रधानध्यापक हरिप्रसाद रिजाल बोगटीलाई गाउँको अभिभावकको रुपमा सम्झन्छन् । नेता बोगटीले गाउँको सहकारी क्षेत्रमा र शिक्षाको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर