• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी गर्ने हाे : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरूलाई सचेत गराएका छन् । सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्र राख्ने भएको पनि स्पष्ट पारे । 

संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै उनले संसदीय समितिहरूले अप्ठ्यारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भनिराखेको स्मरण गराउँदै त्यसो नगर्न सांसद र संसदीय समितिहरूको गम्भीर ध्यानाकर्षण गराए । 

‘मलाई प्रधानमन्त्री आफैंले संसदीय समितिहरूले अप्ठ्यारोमा पार्न थाले भनेर भनिरहनुभएको छ,’ सभामुख महराले प्रधानमन्त्रीसँग सो सम्बन्धमा भएको कुराबारे थप स्पष्ट पार्नुभयो, ‘तर आफूले समितिका सभापतिहरूसँग बसेर कुरा गरौं न त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नुभयो ।’ 

सभामुख महराले संसदीय समितिहरूले सरकारलाई  नियन्त्रण गर्ने होइन्, निगरानी राख्ने मुख्य दायित्व भएको उल्लेख गर्दै सरकारलाई ठीक ट्र्याकमा लैजान संविधान, नियम र कानुनअनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्न गर्नुपर्ने पनि स्पष्ट पारे । 

सभामुख महराले मन्त्रीहरूसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि प्रधानमन्त्रीको स्वास्थ्यका कारण उनीसँगको प्रश्नोत्तर कार्यक्रमलाई भने निरन्तरता दिन नसकिएको पनि स्पष्टीकरण दिए । उनले संविधानको अध्ययन गरेर सोअनुसार कानुन, ऐन, निर्देशिका निर्माण भए–नभएको कडा निगरानी राख्न पनि सांसदहरूलाई कडा निर्देशन दिए । 

कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसद्लाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरूको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर