• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

अर्का सांसदलाई पनि पक्राउ पुर्जी

काठमाडौं । देशकै कानून बनाउने जिम्मेवारी पाएका सांसदहरु पछिल्लो चरणमा विभिन्न काण्डमा मुछिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का सांसद विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । संघीय संसद्‍मा दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङलाई पक्राउ पुर्जी जारी भएको हो । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमा सांसद गुरुङलाई पक्राउ पुर्जीको म्याद तामेल गरेको स्थानीय अधिकारीहरु बताउछन् ।

दोलखाको गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयंबहादुर खड्काले सांसद गुरुङका नाममा जारी भएको पक्राउ पुर्जी  ८ असोजमा बुझेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले बताए ।


वीरध्वज खड्काको जाहेरीमा २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । १२ भदौ ०७६ मा काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो । यसपछि जिल्ला प्रहरी कार्यालय दोलखाले इलाका प्रहरी कार्यालय सिंगटीलाई अदालतको पत्र पठायो । जिप्रकाले पठाएको पत्रपछि ८ असोजमा सांसद गुरुङलाई म्याद तामेल गरिएको हो ।


सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ०७४ वैशाखमा भएको स्थानीय निर्वाचनलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौँको गौशालामा आक्रमण भएको थियो । त्यसपछि खड्काले गुरुङसहित संलग्न भई आक्रमण गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए । त्यसबेला पनि गुरुङ सांसद नै थिए । गुरुङ मंसिर ०७४ मा दोलखाबाट संघीय संसद्‍मा पुनः निर्वाचित भए ।

सांसद गुरुङले आफूमाथि पक्राउ पुर्जी जारी भएको स्वीकार गर्दै त्यो राजनीतिक मुद्दा भएको बताएका छन् ।

सांसद गुरुङलाई पक्राउ गर्नुअघि प्रहरीले व्यवस्थापिका संसद् सचिवालयमा जानकारी गराउनुपर्छ । अदालतले पक्राउ गर्न दिएको आदेश संसद् सचिवालयमा औपचारिक रूपमा जानकारी गराए उनीमाथि पनि कारबाही प्रकृया अघि बढ्ने छ । उनीमाथि कारबाही प्रकृया सुरु भएमा उनको सांसद पद निलम्बनमा नपरेपनि उनले पाउने सेवा सूविधा भने रोक्का हुने संसदको नियमावलीमा व्यवस्था छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर