• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सयपत्रीमा सजिएका हात...

चितवन । एक हातले फोन समाउँदै कुराकानी भइरहेको छ । अर्को हात सयपत्री फूलका थुँगाहरूले भरिएका छन् । 

असारको मुसलधारे पानी । ससाना बिरुवालाई मायाले समाउँदै अर्को साथीले बनाएको खाल्डोमा बिरुवा राख्दै त्यसलाई माटोले उकेरा दिँदा यी हातहरूले यिनै मुलायम फूल फुलाउने सपना देखेका थिए । अहिले भने फूलैफूलको बगैंचामा रमाउँदा रातदिन बितेको पत्तो हुँदैन । 

हिजोआज शोभादेवी पाण्डेलाई फोन उठाउन चटारो हुन्छ । नहोस् पनि किन, तिहारले नजिकिएको छ । तिहारका लागि आवश्यक पर्ने सयपत्री फूलको मालाका लागि उनलाई तारान्तार फोन आउने गरेको । 

तिहारको समयमा अत्याधिक प्रयोग गरिने सयपत्री फूलको व्यावसायिक खेतीको सुरुवात गरेको छ संगम कृषि महिला समूह शरदपुर–९ चितवनले । समूहमा साथीको सल्लाहमै गरिएको फूल खेती अहिले अन्य महिलाहरूका लागि पनि प्रेरणाको स्रोत बन्न पुगेको छ । आफ्नो नर्सरीमा ढकमक्क फूलेका सयपत्री फूल देखाउदै समूहकी संयोजक शोभादेवी पाण्डे भन्छिन्, अहिले परीक्षणका रूपमा सयपत्री फूल तयार गरेका छौं । सफल भएमा यसलाई व्यावसायिक रूपमा नै अँगाल्दै अगाडि बढ्नेछौं ।

यसै वर्षबाट यस महिला समूहले सुरु गरेको पुष्पखेतीमा शोभालगायत उनको समूहलाई अहिले भ्याइनभ्याइ छ । फूलका थुँगा गर्ने । माला बनाउने र ग्राहकसम्म पु¥याउनका लागि । समूहका १५ जना दिदी–बहिनी मिलेर प्रति व्यक्ति ६ हजार रुपैयाँका दरले लगानी गरिएको छ । यसमा आवश्यक रकम लगानी गर्न प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको संयोजक पाण्डे बताउँछिन् । 

यो खेती गर्दा लाग्ने जनश्रमदान समूहका सबै दिदीबहिनी मिलेर गरिएका कारण पनि कम लागतमा फूल उत्पादन भएको समूहको भनाइ छ । संयोजक पाण्डे भन्छिन्, सुरुमा हामीलाई बिरुवा हुर्काउन निकै गाह्रो भयो । जब रात पर्दै जान्छ शंखे किराले बिरुवा खाएर हैराने पार्यो । त्यसबाट जोगाउन रातिसम्म हामीले काम गयौं, अहिले यी फूलफूलेको देख्दा सबै दुःख भुलेका छौं । यो खेती अहिले सबैका लागि नमुना भएको छ । 

फूल फूलेको हेर्दा आनन्द लाग्ने मात्र होइन, आम्दानी पनि राम्रो भएको देख्दा समूहका दिदीबहिनीहरूमा सकारात्मक ऊर्जा थपिएको समूहकी कोषाध्यक्ष शकुन्तला न्यौपाने बताउँछिन् ।

यो समूहमा आबद्ध महिलाहरू सबै कुनै न कुनै व्यवसायमा आबद्ध आर्थिक रूपमा सम्पन छन् । तर, महिलाहरूले घरमा त्यसै बस्नु भन्दा केही गरेमा आफ्नो स्वाथ्यलाई पनि राम्रो हुने र आर्थिक अवस्था पनि अझै राम्रो हुने सोचका साथ यो खेतीको सुरुवात गरिएको कोषाध्यक्ष न्यौपाने बताउँछिन् । उनी भन्छिन्, ‘दिनभरि घरमा बस्नु भन्दा साँझपख केही समय यहाँ समय दिने हो भने पर्याप्त हुने रहेछ । अहिले हामीले यसलाई नमुनाको रूपमा गरेका थियौं । जुन सफल भयो । अब यसलाई अझै व्यवासायिक रूपमा लैजाने सोच हामीले बनाएका छौं । 

पाँच कट्ठा क्षेत्रफलमा लगाइएको सयपत्री फूल प्रतिथुँगा दुई रुपैयाँमा र प्रतिमाला ८० रुपैयाँमा बिक्री हुने गरेको संयोजक पाण्डे बताउँछिन् । वर्षको ३० हजार भाडामा लिएर पुष्पखेती गरिएको छ । सदावहार जग्गाको सदुपयोग होस् भनेर समूहले तरकारी खेती र आफ्नै नर्सरी पनि बनाएको छ । यहाँको नर्सरीमा बर्खायामममा फूलका बिरुवा उत्पादन गरेर बिक्री गरिएको थियो भने अहिले ब्रोकाउली, भन्टा, खुर्सानी, टमाटरहरू हुर्कंदै गएका छन् ।

अधिकांश विकासोन्मुख मुलुकका जनता बेरोजगार समस्याबाट गुज्रिरहेका छन् । विश्वविद्यालय तहको औपचारिक शिक्षा हासिल गरेपछि सोझै जागिर खोज्ने प्रवृतिका कारण विकासोन्मुख देशका युवा बढी बेरोजगार हुनुपरेको हो । तर, यस्तै काम गर्दै जाने हो विदेश यहीँ भएको रामपुर क्याम्पसकी प्राध्यापक कल्याणी मिश्र त्रिपाठी बताउँछिन् । 

लामो समयदेखि पुष्प खेती गर्दै र महिलालाई फूल खेतीमा प्रोत्साहन गर्दै आएकी त्रिपाठी रामपुर क्याम्पसकी वागवानी विषय प्राध्यापक हुन् । उनी भन्छिन्, ‘कम्तीमा पनि आफूलाई आवश्यक पर्ने फूल आफ्नै आँगनमा फुलाउन सक्ने हो भने लाखाैं रुपैयाँ विदेश जान रोकिने थियो । नेपालको जैविक विविधता, वातावरण, भुबनोवट पुष्पखेतीका लागि उपयुक्त छ ।’ एउटा घरमा कम्तीमा पनि पाँचवटासम्म बिरुवा हुर्काउने हो भने पनि पर्याप्त हुन्छ । एउटा बोटमा ८० वटासम्म थुँगा फुल्ने उनी बताउँछिन् । 

तिहारको समयमा अत्यधिक प्रयोग गरिने सयपत्री फूलको व्यावसायिक खेती तराईका जिल्लामा नहुँदा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । सामान्य ज्ञान भए पुग्ने र धेरै खर्च नलाग्ने क्षेत्रमध्ये पुष्प व्यवसाय पनि एक हो । यस्ता व्यवसाय गर्न चाहने महिलाका लागि सहकारी लगानी गर्न तयार रहेको राष्ट्रिय सहकारी महासंघकी सञ्चालक समिति सदस्य (नेपस्कुन) शान्ति अधिकारी बताउँछिन् । अधिकारी अगाडि भन्छिन्, सहरकारीहरू अब आम्दानी गर्ने बाटोमा लाग्नुपर्छ भनेर हिँडेको अवस्थामा यस्ता खेती गर्ने महिलासँग हामी सहकार्य गर्न तयार छौं । 

यो पेसा अँगाल्दा मन प्रफूलित मात्र हुँदैन, मनग्य आम्दानीसमेत गर्न सकिन्छ । तिहारमा मात्र नभई आउँदै गरेको विवाहको सिजन मंसिरमा पनि यिनै बिरुवाबाट फूल टिपेर बेच्ने समूहको लक्ष्य छ । अहिले चितवन आसपासमा मात्र बिक्री भइरहेको यी फूलहरूलाई पछिल्ला वर्षहरूमा अन्य जिल्लामा पनि विस्तार गर्ने लक्ष्य समूहको छ । यसका लागि समूहलाई चिस्यान गृह, रेफ्रिजेरेटर भ्यानलगायतका पूर्वाधार भएमा यसलाई लामो समयसम्म टिकाइराख्न सकिने उनीहरूको विश्वास छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर