• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जहाँ दसैंको दस दिनपछि मात्र जमरा सेलाइन्छ

पाल्पा । दसैंपछिको पूर्णिमाका दिन फूलपाती विर्सजन गर्ने चलन देशभरको चलन हो ।  तर, पाल्पामा भने कोगजाग्रत पूर्णिमापछिको पञ्चमीमा मात्र सराय नाचेर फूलपाती सेलाउने चलन छ । 

जातीय एकता र सद्भावको नमुनाका रूपमा परिचित ‘लमिनी÷दमिनी’ मेलाका रूपमा पाल्पामा यो पर्व मनाउने गरिन्छ ।  पश्चिम पाल्पाको रैनादेवी छहरा–४, बोखरडाँडामा लागेको यस मेललाई दमिनी सराय भन्ने गरिन्छ । खासगरी दमाई जातकी महिला लामा हल्लिएजस्तै हल्लिने भएकाले पनि यसलाई लमिनी सराय पनि भन्ने गरेको स्थानीय बताउँछन् ।

जातीय सद्भावका रूपमा लिइने यो मेला अन्य ठाउँको भन्दा भिन्न रहेको हुँदा मेला हेर्नका लागि जिल्लाभरबाट हज्जारौंको सहभागिता रहने गर्दछ । यहाँ दमाई जाति नै पुजारी हुने र दमिनीको घरबाटै सराय निकाल्ने चलन छ । दमाई जातिले नै ब्राह्मण, क्षत्री, नेवार, दलितलगायत सबै मेला भर्न आउनेलाई टीका, जमरा र प्रसाद दिने चलन छ । सराय सुरु गर्दा बालिएको दियो  सराय नसकिँदासम्म ननिभ्ने अनौठो खालको शक्ति समेत यहाँ देख्न पाइने स्थानीय गणेश परियारले बताए ।

बल्ढेङगढीमा छाडिएको पाडो भागेर यछहराको बोखरडाँडामा रहेकी फुस्री दमिनीको घरमा आएर उपद्रो गर्न थालेपछि एक्कासि दमै जातिकी लमिनी हल्लिएपछि पूजाआजा गर्दा पाडो र लमिनी शान्त भएको हुँदा सोहीअनुसार यो पर्व पनाउन थालिएको रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बताए । 

सुरुमा लमिनीलाई शान्त पार्नका लागि सुरु गरिएको यो पर्व अहिले भने परम्परासँगै यहाँको संस्कृति नै बनेको छ । यसले गर्दा अन्य ठाउँमा दसैंको पूर्णिमामा जमरा सेलाउने चलन रहे पनि यहाँ भने पञ्चमीमा मात्र जमरा सेलाउने चलन चल्दै आएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर