• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नयाँ सभामुख को ? सुवासचन्द्र नेम्वाङको रुचिमा पूर्वमाओवादी तगारो

काठमाडौं । पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई समाचार दैनिकले अबको सभामुख तपाईं नै हो ? भनेर प्रश्न गरेको थियो । कुटिल तथा कूटनीतिक जवाफ दिन माहिर उनै नेम्वाङले यसबारे आफूलाई नेकपाका शीर्ष नेताहरूले नबोल्न निर्देशन दिएको उत्तर दिए । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नामै लिएर उनले भने, ‘नयाँ सभामुख को हुने भन्नेबारे अध्यक्ष प्रचण्डले मलाई किन बोल्न हतार गर्नुभएको, तपाईं नै चाहिँ नबोल्नुस् न भन्नुभएको छ ।’

पूर्वसभामुख नेम्वाङको जवाफ सुनिसकेपछि उनको बडी ल्याङग्वेज देख्दा एउटा संकेत मिल्यो, सम्भावित नयाँ सभामुखका लागि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि अग्रपंक्तिमा छन् ।

हुन त सम्भावित आकांक्षीहरूमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेकपाकै नेता अग्निप्रसाद सापकोटा, लेखराज भट्ट वा पम्फा भुसाल तथा उपसभामुख शिवमाया तुम्बाहाम्फेको नाम पनि आइरहेकै छ । औपचारिक रूपमा नेकपाले सभामुखबारे निर्णय गर्ने बेला नभएको बताएपछि आकांक्षीहरूको दौडधुप र नेकपाको आन्तरिक तयारी सुरु भइसकेको छ ।

आफ्नै पार्टीका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयासको आरोप लागेर न्यायिक छानबिन भइरहेको र कतिपयले यसमा षड्यन्त्र भएको हुन सक्ने आशंका गरिरहेका बेला नेम्वाङलाई सभामुखबारे बोल्न हतार नगर्न भनिएको नेकपाका नेताहरू बताउँछन् । 

महरा प्रकरण सार्वजनिक भएलगत्तै संवैधानिक कानुनका ज्ञाता तथा संविधानसभाका अध्यक्ष नेम्वाङले महराबारे अलि कडा टिप्पणी गरेका थिए । पार्टीले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन निर्देशन दिए पनि महराले सभामुख पदबाट राजीनामा दिए, तर सांसद पदबाट हटेका थिएनन् । 

त्यसलगत्तै नेम्वाङको कमेन्ट आयो, ‘नेकपाले महरालाई सांसदको रूपमा अब चिन्दैन ।’ नेम्वाङको सो कमेन्टलाई कतिपय नेकपाकै नेताहरूले हतारमा आएको अर्थ लगाए भने महरानिकटका नेता, कार्यकर्ताले नेम्वाङ नै महराविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाए । उपर्युक्त परिघटनाहरूलाई मध्यनजर गर्दै नेता नेम्वाङलाई अध्यक्षद्वयले नबोल्न भनेको उनी निकटस्थहरू बताउँछन् ।

प्रधानमन्त्री सभामुख फेर्न चाहन्थे

प्रधानमन्त्री केपी शर्मा ओली सभामुख महराप्रति असन्तुष्ट थिए भन्ने कुरा उनले सार्वजनिक रूपमै भनिसकेका छन् । समाचार दैनिकले २०७५ माघ १४ गते नै ‘मार’मा महरा शीर्षकमा विशेष समाचार प्रकाशन गरेको थियो । त्यतिबेलैदेखि सभामुखसँग सत्तारूढ दल तथा प्रतिपक्षी दुवै सन्तुष्ट थिएनन् । दुवै पक्षले सभामुखका कामप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाएका थिए । 

परिवेशले सभामुख नयाँ आउने पक्का भएको छ । नयाँ सभामुख को हुन्छ भन्ने टुंगो नलागे पनि नेकपाको एकताको काम लगभग सकिएको, संसद्मा सभामुखले बलियो भूमिका खेल्नुपर्ने बोध प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको, निवर्तमान सभामुख महराको राजीनामादेखि अहिलेसम्म विकास भएका घटना तथा नेकपाभित्र पछिल्लो चरणमा विकास भएको शक्ति सन्तुलन र पक्षधरताको राजनीति हेर्दा नयाँ सभामुखमा पुराना अनुहार दोहोरिएमा सुवासचन्द्र नेम्वाङ र ओनसरी घर्ती अग्रपंक्तिमा रहनेछन् ।  

सरकार सञ्चालनमा संसद्बाट अपेक्षित सहयोग नपाएको बुझाइ प्रधानमन्त्री ओलीको छ । महराले सरकारले चाहेको मिलेनियम च्यालेन्ज कोअपरेसनसम्बन्धी विधेयक पास गर्न असहयोग गरेको कुरा प्रधानमन्त्रीले सार्वजनिक रुपमा नै बताइसकेका छन् । त्यसैले अहिले सभामुख को बनाउने भन्ने मूल निर्णयकर्ता संसद्मा आफूले भनेको पनि मान्ने, कुशलतापूर्वक परिस्थितिको सामना पनि गर्न सक्ने व्यक्तिलाई बनाउने पक्षमा छन् । त्यसो गर्दा नेकपा एकताका बेला भएको सहमतिलाई समेत मध्यनजर गर्नुपर्ने अवस्था छ । 

नेकपाका पूर्वमाओवादी खेमाका कतिपय नेताहरूले मुखै फोरेर राज्यका प्रमुख पदहरूमध्ये भागबण्डामा सभामुख पद पूर्वमाओवादीको भागमा परेकाले पूर्वएमाले खेमालाई नछोड्ने बताएका छन् । यसमा पूर्वमाओवादी खेमाका नेताहरूको दबाब र अध्यक्ष प्रचण्डको लचकता वा कठोरताले निर्णायक भूमिका खेल्न देखिन्छ । प्रचण्डनिकट स्रोत भन्छ, ‘सभामुख पद पूर्वएमालेलाई छोड्ने अवस्था सिर्जना भइसकेको छैन ।’

पूर्वसभामुख ओनसरी घर्तीले भने अहिले आफू पार्टीले दिएको प्रदेश ५ को अध्यक्षको भूमिकामा व्यस्त रहेकाले सभामुखबारे रुचि र सोचाइ दुवै नभएको प्रतिक्रिया दिएकी छन् ।समाचार दैनिकसँग कुरा गर्दै उनले भनिन्, ‘सभामुख को हुने भन्ने पार्टीले निर्णय गर्ने, शीर्ष नेताहरूले सहमति गर्ने कुरा हो । बेला भएपछि पार्टीले निर्णय गर्छ । मेरो रुचि छैन ।’

पूर्वमाओवादीले नयाँ अनुहार खोजेमा पछिल्लो चरणमा रुचि देखाइरहेका तथा अध्यक्ष प्रचण्डको निकटस्थ मानिने अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, पम्फा भुसालमध्येबाट आउन सक्नेछन् ।

प्रचण्डले लचकता अपनाएमा पटकपटक सभामुख भएका, संविधानसभाको नेतृत्व गरेर संविधान जारी गरेका तथा कानुनको राम्रो ज्ञान हासिल गरेर प्रधानमन्त्री ओलीको समेत निकटस्थ रहेकाले यसपालि पनि नेम्वाङले नै बाजी मार्ने नेकपाका नेताहरू बताउँछन् । 

तर, तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्रबीच एकता हुनुअघि नै सभामुख र उपसभामुखको भागबन्डा भएको हुनाले सभामुख पूर्वमाओवादीले पनि पाउनुपर्ने भन्दै पूर्वमाओवादी पक्षका नेताहरू अडिग देखिन्छन् । यता, सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले अबको सभामुख नेकपाबाट आएको खण्डमा उपसभामुख फरक दलको हुनुपर्ने भएकाले शिवमाया तुम्बाहाङ्फे उपसभामुखबाट हट्नुपर्ने बाध्यकारी अवस्था छ ।

प्रधानमन्त्री ओलीले उपसभामुखलाई राजीनामा गर्न लगाएर मन्त्री बनाउने आश्वासन दिएको हल्ला पनि चलेको छ । तर पनि पूर्वमाओवादी गुट सभामुख आफ्नो भागमा परेको भन्दै कुनै पनि हालतमा सभामुख पूर्वएमालेलाई नछाड्ने दाउमा रहेका छन् ।

नेम्वाङको अभिव्यक्ति र रुचि

नेम्वाङले सभामुख भइसकेकाले अब मन्त्री पद नखाने सार्वजनिक घोषणा गरेका छन् । नेकपाको शक्ति सन्तुलनको वर्तमान अवस्थामा प्रधानमन्त्री, उपराष्ट्रपति वा राष्ट्रपति बन्ने बाटो पनि नेम्वाङका लागि सहज छैन । त्यसैले उनी बाहिर–बाहिर समामुख खान्न भनिरहेका छन् ।

पार्टीले नै निर्णय गरेर अध्यक्षद्वयले नै आग्रह गरेपछि अस्वीकार गर्नु हुँदैन भन्ने पक्षमा उनी देखिन्छन् । यस्तो वातावरण बनाउन उनले अप्रत्यक्ष रूपमा भूमिका खेलिरहेको नेकपाका कतिपय नेताहरूको दाबी छ ।

‘अबको सभामुख राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूसँग आँखामा आँखा जुधाएर बोल्न सक्ने र संसद्को गरिमा कायम राख्न सक्ने हुनुपर्छ,’ भन्ने पूर्वसभामुख तथा संविधानसभाका अध्यक्ष नेम्वाङको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर