• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

नेकपा नेतृत्व : ओलीले ओझेल पारेपछि प्रचण्ड सक्रिय !

‘ईश्वर पोखरेल ‘रिमाइन्डर’, माधव नेपालसँग सहकार्य’

काठमाडौं । ‘फेरि एकचोटि राष्ट्र, जनताको हितमा समर्पित भएर अब काम गर्छु भनेर दह्रोसँग सकल्प लियौं भने सकिन्छ । हामीमा अहिले अलिअलि धुलोमैलो लागेको मात्र हो । हामीलाई कामै नलाग्ने गरी क्यान्सर भएको छैन । उपचार नै नलाग्ने गरी क्यान्सर भएको भन्न खोजेको होइन । ग्यास्ट्रिक, अल्सर त्यतिसम्म होला, क्यान्सर भएको छैन । त्यसको उपचार छ । बेलैमा उपचार गरौं । हामी माथि समीक्षा गर्दै छौं ।’ –प्रचण्ड
                                                                                                          ..................

कुनै व्यक्तिको कुनै इच्छा पूरा नहुन सक्छ, नभएको हुनसक्छ । कुनै असन्तुष्टि हुन सक्छ । त्यसो गर्दा प्रणालीमै, आन्दोलनमै क्यान्सर हुन लागेको, अल्सर छिप्पियो भन्ने हुँदैन । नकारात्मकताको मौसम चलेको छ भन्दैमा त्यतै लागेर निराशाको कुरा गर्नु हुँदैन ।’ – केपी शर्मा ओली

माथिका यी दुई भनाइ नेकपाका अध्यक्षद्वयले केही दिनअघि मात्र दिएका हुन् । पार्टी एकताको दुई वर्ष बित्दै गर्दा नेकपाका शीर्ष तहबाट आएका यी अभिव्यक्ती नेतृत्व चाहनाका उत्कृट आकाँक्षा मिश्रित अभिव्यक्ति हुन् । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहजिल्ला चितवनमा आयोजित चियापान समारोहका बीच नेकपालाई ग्यास्ट्रिक र अल्सर लाग्न खोजेको टिप्पणी गरे । उनले क्यान्सरचाहिँ लागिनसकेको भन्दै यसबारे बेलैमा उपचार गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएसँगै नेकपा अध्यक्षद्वयबीच ‘टसल’ बढ्दै गएको बुझिएको छ । 

प्रचण्डको उक्त सवालको जवाफ एक अन्तर्वार्ताका क्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले दिए । कुनै व्यक्तिको इच्छा पूरा नभएको हुनसक्ने भन्दै आन्दोलनमै क्यान्सर हुन लागेको वा अल्सर छिप्पियो भन्न नहुने प्रतिक्रिया दिए । अहिलेको अभियानको नेतृत्व आफूले गरेको र अफूनै एक नम्बरको अध्यक्ष भएको ओलीको भनाई थियो । 

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताको समयमा नै पाँचबुँदे सहमति गरेका ओली–दाहालबीच समझदारी कार्यान्वयको समय नजिकिँदै जाँदा यसबारे तीव्र घोचपेच हुन थालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ३० असोजमा आयोजना गरेको चियापान कार्यक्रममा पुगेर कांग्रेससँग पनि सहकार्य गरेर अघि बढ्न सकिने भन्दै प्रचण्डले दिएको अभिव्यक्तिले प्रधानमन्त्री ओली रिसाए । जुन कार्यक्रममा प्रधानमन्त्री ओलीपनि पुगेका थिए ।

सहमतिअनुसार सरकारको जिम्मेवारी आफूले पाउने आशामा रहेका प्रचण्डलाई ओलीले जिम्मेवारी फेरबदलबारे कुनै चासो नदेखाएपछि सार्वजनिक कार्यक्रममा प्रचण्ड आफ्ना भनाइ राख्न कूटनीतिक बाटो खोज्दै थिए । 

सितिमिति गल्न नचाहने प्रधानमन्त्री ओलीले पनि प्रचण्डले दिएको अल्सर र क्यान्सरको जवाफमा जिम्मेवारीको विषय पनि राजनीतिक भाषामा नै मिसाइदिए । जस्तो कि, ‘कसैको कुनै इच्छा पूरा नहुँदा आन्दोलनमा नै क्यान्सर लाग्न थाल्यो भन्नु उचित नभएको’ भन्नुलाई प्रधानमन्त्री ओली अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्न नचाहेको धेरैले बुझ्न थालेका छन् । यससँगै दुई अध्यक्षबीच खटपटका समाचार बाहिर आउन थालेका छन् । 

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विगतका समझदारी कार्यान्वयनमा चासो नदेखाएको र आफूलाई तल पार्न खोज्ने गरी अभिव्यक्ति दिँदै आएकोमा अध्यक्ष प्रचण्ड सशंकित बनेका हुन् । खुमल्टार स्रोतका अनुसार अध्यक्ष प्रचण्ड यतिबेला नेकपामा प्रधानमन्त्री ओलीको बोली र व्यवहारबाट रुष्ट देखिएका छन् । यही मेलोमा उनले रुष्ट देखिएका अन्य नेताहरूसँग नै सहकार्य गरेर अघि बढ्ने योजना बनाएका छन् । तर उनको सार्वजनिक अभिव्यक्ती भने ‘अध्यक्ष ओलीसँग समन्वय गरेरै अघि बढिरहेको र आपसी फाटो छैन’ भन्ने छ ।

१ कात्तिकमा सुदूरपश्चिम पुगेका अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीभन्दा आफू फुर्सदिलो भएको र आफूले पार्टीको काम बढी ध्यान दिएको बताएका थिए । उनले यी सबै कुराबाट आफूलाई निकै फाइदा पुगेको पनि सार्वजनिक कार्यक्रममा बताएका थिए । 

त्यसो त, केही दिनअघि एक राष्ट्रिय दैनिकमा दिएको अन्तर्वार्ताका क्रममा पनि प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले अध्यक्ष दाहाललाई सशंकित बनाएको हो । ओलीले कुनै पनि पार्टीमा दुई अध्यक्ष भनिए पनि ‘सिनियर’ र ‘जुनियर’ हुने भन्दै दिएको अभिव्यक्तिले दाहालको मुटु कुंडिएको नेकपाका प्रचण्ड निकटस्थ नेताहरूले बताउन थालेका छन् । 

नेकपाका एक नेता भन्छन्– ‘अध्यक्षद्वयको पछिल्ला भनाइ एकअर्कामा पारस्परिक देखिन्छन् । उनीहरूबीचको सम्बन्ध छुट्न हुँदैन, विगतका समझदारी कार्यान्वयमा दुवै अध्यक्षले सोचेर अघि बढ्नुपर्छ भन्ने हाम्रो कुरा हो । तर, अध्यक्ष (ओली) ले समझदारी कार्यान्वयमा सहज भूमिका खेल्नेजस्तो बुझिएको छैन ।’

पत्रिकाको अन्तरबार्तामा समेत सरकारको नेतृत्व आधा आधा गर्ने सहमति भएको थियो नि ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओली त्यति खुलेर जवाफ दिएका छैनन् । उनी भन्छन्– ‘यदि कुनै समझदारी छ भने त्यो समझदारी आएको बेला (कार्यान्वयन) हुने होला नि ? कुनै, केही हुनु छ भने त त्यतिबेला कुरा (समय आएपछि) हुन्छ । यो सरकार अरू कसैलाई हेरेर, अरू कसैको ‘लिडरसिप’ मा विश्वास गरेर बनेको हो र ?’

दाहाल–नेपाल भेट

खुमलटार स्रोतका अनुसार अध्यक्ष दाहाल र माधव नेपालबीच भेटघाट बाक्लिएको छ । मंगलबार साँझ प्रचण्डनिवास खुमलटारमा नेपाल र दाहालबीच भेटघाट भएको थियो ।
 
पार्टी एकतादेखि नै आफू पक्षका नेताहरूलाई जिम्मेवारविहीन बनाएको, आफ्नो वरीयता खोसिएकोजस्ता विषयबाट रुष्ट बनेका नेपालसँग प्रचण्डले हिमचिम बढाएका हुन् । प्रधानमन्त्री र अध्यक्ष दाहालबीच टसल बढ्दै जाँदा नेकपामा नयाँ समीकरण विकास हुनसक्ने नेताहरू अड्कलबाजी लगाउन थालेका छन् । 

स्रोतका अनुसार नेकपाका नेताहरू वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग प्रचण्डले भेट बाक्लो बनाउन थालेका छन् । अध्यक्ष ओली नजिक मानिने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई समेत उनकै निवासमा पुगेर प्रचण्डले भेट गरि सन्देश प्रवाह गरे । जसको परिणाम पछिल्लो घटनाक्रम हो ।

प्रचण्ड नै प्रधानमन्त्री : वामदेव

नेकपाले केही दिनअघि आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै नेकपाका नेता वामदेव गौतमले समझदारीअनुरूप प्रचण्ड प्रधानमन्त्री बन्ने ठोकुवा गरे । एकताका सूत्रधारसमेत मानिएका नेता गौतमले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका थिए–‘सबै सहमतिहरू कार्यान्वयन गर्नका लागि हामी सबै तयार छौं । अध्यक्षजीहरू पनि तयार हुनुहुन्छ ।’

केपी शर्मा ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा नेता गौतमले भने– ‘पक्का । पक्का ।’ सहमतिको सूत्रधार आफू भएको भन्दै सहमतिअनुसार नै साढे दुई वर्षपछि प्रधानमन्त्रीमा अध्यक्ष दाहाल नै हुने दाबी गरे ।
पछिल्लो समय नेता गौतमसमेत उपाध्यक्ष पद पाउने आश्वासन पछि अध्यक्ष ओली निकट पुगेको नेकपा बृत्तमा चर्चा थियो ।

ईश्वर पोखरेलमार्फत प्रचण्डले गराए ‘रिमाइन्ड’ सेट

नेकपा अध्यक्ष प्रचण्डले पार्टी एकताका बेलामा भएका सहमतिको कार्यान्वयनका लागि उपप्रधानमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल मार्फत सन्देश पठाए । उनले केही दिनअघि पोखरेललाई भेटेर विगतका सहमति कार्यान्वयनका लागि प्रधानमन्त्रीसँग छलफल अघि बढाउन आग्रहसमेत गरेका छन् । 

अध्यक्ष दाहालले पोखरेललाई ‘रिमाइन्डर’स्वरूप पुराना सहमति कार्यान्वयनका लागि ओलीसँग छलफल अघि बढाउनुपर्ने बताएका हुन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र ओलीका अभिव्यक्तिपछि निकै सक्रिय रूपमा नेताहरू भेटघाटमा लागेका छन् । 

ओलीको अजरबैजान भ्रमणको प्रभाव पर्ला ?

आगामी बिहीबार प्रधानमन्त्री ओली अजरबैजान जाँदै छन् । असंलग्न राष्ट्रहरूको १८औं शिखर सम्मेलनमा भाग लिनका लागि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनी बिहीबार जाने निश्चित भएको छ । त्यसो त, पार्टीभित्र देखिएको हलचलका क्रममा प्रधानमन्त्री ओली त्यसतर्फ जाँदा प्रचण्डले नेताहरूसँगको सामीप्य अझै बढाउन सक्ने छन् । अध्यक्ष ओली र प्रचण्ड बीच समझदारी भईनसकेकै कारण मन्त्रीमण्डको पुर्नगठन गर्ने  प्रधानमन्त्रीको तयारी समेत पछि धकेलिएको बालुवाटार श्रोतको दावी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर