वन संरक्षण मार्फत सामाजिक योगदान गर्दा प्रदेशकै उत्कृष्ठ

विराटनगर । विपन्नलाई घर र युवा तथा महिलालाई सीप दिएर सामाजिक योगदान गरिरहेको मोरङ लेटाङको जनसेवा सामुदायिक वन उपभोक्ता समूह प्रदेश १ कै उत्कृष्ठ बनेको छ । प्रदेशको ३ हजार ६ सय ३९ वटा सामुदायिक वनहरुलाई प्रतिष्पर्धाममा उछिन्दै जनसेवा प्रदेशमा अब्बल ठहरिएको हो । 

वन विकासमा उल्लेख्य योगदान गरेको, वनको हैशियत सुधार गरेको, खर्च र आम्दानीको लेखा प्रणाली पारदर्शी भएको, समुदायका सबैलाई समान व्यवहार गरेको, वैज्ञानिक वन व्यवस्थापनमासमेत उत्कृष्ट कार्य गरेको जस्ता सुचकांकका आधारमा जनसेवा अब्बल बनेको हो । त्यस बापत प्रदेश सरकारबाट १ ला राशीको पुरस्कार प्राप्त गरेको अध्यक्ष दिलराम राईले बताए । जनसेवाले यसै वर्ष जिल्लाको उत्कृष्ठ सामुदायिक वनको रुपमा ६ हजार ५ सय राशीको पुरस्कार पनि जितेको छ । 

जनसेवा सामुदायिक वनले घर नभएका र बनाउन सक्ने क्षमतासमेत नभएका विपन्न परिवारलाई अघिल्लो वर्षदेखि घर बनाइदिन थालेको छ । उसले अहिलेसम्म आधा दर्जन घर बनाएर हस्तान्तरण गरिसकेको छ । यस्तै बेरोजगार युवाहरुलाई सीप सिकाएर रोजगारकालागि योग्य बनाएको छ । सामुदायिक वनले सवारी चालक, प्लम्बिङ्ग, सिलाई आदिको तालिम दिएको र धेरैले त्यसको सदुपयोग गरेर रोजगार चलाइरहेको अध्यक्ष राईले बताए ।

सामुदायिक वनले वार्षिक १ करोड भन्दा बढी रकम आम्दानी गर्ने गरेको छ । आम्दानीको रकम वन विकास र समुदायको विकासमै खर्च गर्दै आएको छ । उत्तरी मोरङमा सर्पदंशका कारण मानिसहरु मर्ने दर बढेपछि सामुदायिक वनकै पहल र लगानीमा लेटाङमा सर्पदंश उपचार केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको छ । स्थानीय सामुदायिक क्याम्पस सञ्चालनमा नियमित आर्थिक सहयोग उपलव्ध गराइरहेको छ । त्यतिमात्र होइन पुँजी अभावका पेशा व्यवसाय गर्न नसक्ने गरिव परिवारहरुलाई बीउ पुँजी उपलव्ध गराएर पसलहरु खोलिदिएको प्रसस्त उदाहरण रहेको सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का सचिव अग्नी पौडेलले जानकारी दिए ।

लेटाङ नगरपालिका ४ का वार्ड अध्यक्ष सन्तोष कार्कीले जनसेवा सामुदायिक वनले वार्डको हरेक विकास योजनामा लगानी साझेदारी गर्दै आएको बताएका छन् । ‘यहाँका जतिपनि सकड, पुल र कल्भर्ट बनेका छन् त्यसमा सामुदायिक वनको पनि लगानी छ,’ वार्ड अध्यक्ष कार्कीले भने ‘आगामी दिनमा पनि नगरपालिका साझेदारीकासाथ अघि बढ्न चाहान्छ र वन विकासकालागिसमेत नगरपालिका लगानी गर्न इच्छुक छ ।’

सामुदायिक वन उत्कृष्ट भएको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख शंकर राईले सबै वन मासेर पैसा मात्र कमाउने र बाटो बनाउने कुरा जायज नहुने तर्फ सचेत रहन आग्रह गरे । उनले जनसेवाले रुख मात्र नकाटेको बरु धेरै रुख हुर्काउने र चोरी तस्करी हुन नदिई संरक्षण गरेकै कारण पुरस्कृत भएको भन्दै बधाई दिए । उनले सरकारले बनाएको नयाँ कानून अनुसार सामुदायिक वनले गरेको आर्जनको १० प्रतिशत स्थानीय तहलाई दिनुपर्ने व्यवस्था गरेको भन्दै वन विकासकालागि थप १० प्रतिशत रकम वन विकासमा विनियोजन गर्ने आश्वासन पनि दिएका छन् । 

पछिल्लो समय सामुदायिक वनले खालीपर्ति जमिनमा काजु, एभोकाडो, रुद्राक्ष, लिची, आँप जस्ता फलफूलको बिरुवा वितरण गरी फलफूल उत्पादनमासमेत जोड दिइरहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर