• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बेपत्ता श्रीमानको खोजी गर्दागर्दै ‘सम्मान र जिम्मेवारी’ पाएकी शर्मिला पन्त त्रिपाठी

काठमाडौं । अघिल्लो सरकारले नियुक्त गरेका सातैवटा प्रदेशका प्रमुखलाई तत्काल हटाउने चर्चा थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले त्यासे गरेन । नयाँ सरकार मातहत पनि प्रदेश प्रमुखहरूले लामो समय काम गरे । तर पछिल्लो चरणमा सरकारले संघीय संरचनामा गएपछि अपेक्षित काम हुन नसकेको आरोप खेपिरहयो । जुन आरोप उनका लागि आफूअनुकूल प्रदेश प्रमुख नियुक्त गर्न सजिलो बनाउने विकल्प बन्यो ।

सरकारले नयाँ अनुहारहरूको नाम सिफारिस गरिसकेको छ । उनीहरूलाई मंगलबार शपथग्रहण गराउने तयारीसमेत भइसकेको छ । 

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नै प्रदेश प्रमुखको पदमुक्त गरेकी थिइन् । 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले ०७४ माघ ३ गते प्रदेश प्रमुखहरू नियुक्त गरेको थियो । यसबीचमा प्रदेश प्रमुखहरू हटाउनुलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेले राजनीतिक प्रतिशोध बढाएको भन्दै सरकारसंग असन्तुष्टि व्यक्त गरिसकेको छ । 

नेकपाले सिफारिस गरेको नयाँ अनुहारमा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डडेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला पन्त त्रिपाठी छन् ।  

त्यसो त, सिफारिस भएका नामहरूको आ–आफ्नै राजनीतिक पृष्ठभूमिको विभिन्न तहबाट चर्चा भइरहेको छ । स्थायी घर चितवन भएकी तत्कालीन नेकपा माओवादीकी नेतृ शर्मिला त्रिपाठीलाई पनि नेकपाले सुदूरपश्चिम प्रदेशको प्रमुखमा सिफारिस गरेको छ । 

को हुन् त्रिपाठी ?

शर्मिला पन्त त्रिपाठी तत्कालीन माओवादी सम्बद्ध बेपत्ता परिवार समाजको अध्यक्ष हुन् । उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठीलाई सशस्त्र विद्रोहको समयमा राज्यपक्षले बेपत्ता पारेको थियो । अखिल क्रान्तिकारीका नेता श्रीमान् ज्ञानेन्द्रलाई सन् २००३ मा पक्राउ गरी बेपत्ता पारिएको थियो । आफ्नो परिवारको सुरक्षामा भूमिगत भएपछि २६ सेप्टेम्बर २००३ मा उनी बेपत्ता भएका थिए । ज्ञानेन्द्रलगायत राज्य तथा तत्कालीन विद्रोही पक्षबाट बेपत्ता पारिएको भनिएकाहरूको अवस्था अहिले पनि अज्ञात छ ।

२९ सेप्टेम्बर २००३ मा ज्ञानेन्द्रकी श्रमती शर्मिलाले श्रीमान् पक्राउ परेको सम्बन्धमा उजुरी दायर गर्ने प्रयास गरिन् । असफल भएपछि सर्वोच्चमा मुद्दा दायर पनि गरिन् । सोही वर्षको अक्टोबर महिनामा उनले नेपालको राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिइन् । जसले ज्ञानेन्द्रलाई पक्राउ गरी बेपत्ता पारिएको तथ्य फेला परेको थियो । 

उनलाई अन्तिम पटक २० डिसेम्बर २००३ मा महाराजगञ्जस्थित भैरवनाथ गणमा  देखिएको थियो । 

श्रीमानको खोजीमा शर्मिलाले लामो समय प्रहरी र पार्टीसँग न्याय माग्दै गुहार मात्र गरिनन् बेपत्ता खोजबिन अभियानको नेतृत्व नै गरिन् ।  

पार्टीले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्छु : शर्मिला त्रिपाठी

प्रदेश प्रमुखमा नेकपाले सिफारिस गरेसँगै त्रिपाठीले पार्टीले आफूलाई दिएको जिम्मेवारी इमान्दारीताका पूरा गर्ने बताएकी छिन् । समाचार दैनिकसँग कुरा गर्दै उनले पार्टीले आफ्नो क्षमता मूल्याकंन गरेर प्रदेश प्रमुखको जिम्मेवारीमा सिफारिस गरेकोमा धन्यवाद ज्ञापन गरेकी छिन् ।

लामो समयसम्म पार्टीलाई आफूले दिएको योगदानको स्मरण गर्दै उनले पार्टीले ढिलै भए पनि आफ्नो मूल्यांकन गरेकोमा खुसी व्यक्त गरिन् । उक्त जिम्मेवारीका लागि आफू सक्षम भएको उनले बताइन् । समाचार दैनिकसँगको कुराकानीमा उनले भनिन्– ‘सर्वप्रथम त पार्टीले मेरो मूल्यांकन गरेर जिम्मेवारी दिएकोमा पार्टीलाई धन्यवाद भन्न चाहन्छु । पार्टीले दिएको जिम्मेवारी इमान्दारीकासाथ पूरा गर्नेछु ।’

‘न्याय नपाएकी त्रिपाठीलाई सान्त्वना’

बेपत्ता परिवार समाजकी अध्यक्ष हुँदा पनि आफैंले न्याय नपाएकी त्रिपाठीलाई पार्टीले न्याय दिएको नेकपाभित्र चर्चा हुन थालेको छ । पार्टीका नेताहरू त्रिपाठीलाई पर्टीले प्रदेश प्रमुखमा नियुक्त गरेर सान्त्वना दिएको र मूल्यांकन गरेको बताउन थालेका छन् । 

आफ्नै श्रीमान् युद्धको बेलादेखि बेपत्ता हुँदा अहिलेसम्म कुनै जानकारी उनले पाउन सकेकी छैनन् । पार्टी र सरकारले न्याय नदिएको भन्दै बेलाबेलामा रुष्ट भएकी त्रिपाठीलाई यतिबेला राहत मिलेको छ । आफ्नो परिवार फर्काउन नपाए पनि पार्टीले न्यायोचित पदका लागि सिफारिस गरेको नेकपाका नेताहरू बताउँछन् । 

बेपत्ता परिवारका सदस्य समेत रहेका अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले त्रिपाठीलाई प्रदेश प्रमुख बनाएर पार्टीले त्यो समुदायलाई नै सम्मान गरेको प्रतिक्रिया दिए । समाचार दैनिकसँगको कुराकानीमा नेता बस्नेतले पार्टीका नेताहरुलाई धन्यवाद समेत दिए ।

वेपत्ता परिवारकी सदस्य तथा सभासद रुपा महर्जनले पनि त्रिपाठीलाई प्रदेश प्रमुख बनाउने पार्टी निर्णयको खुलेर प्रशंसा गरिन् । उनले भनेकि छन्, ‘नेकपालाई बिशेष धन्यवाद !!! राज्यद्वारा बेपत्ता योद्दा परिवार समाजको तर्फ बाट नयाँ प्रदेश प्रमुख हुन सफल भएकोमा शर्मिला त्रिपाठी हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।’

नेकपाकी नेतृ कंचन खनालले भनिन्, 'ने.क.पा.(नेकपा) ले सहिद ,बेपत्ताको भावनाको सम्बोधन गर्नेगरी प्रदेश प्रमुखमा दिदी शर्मिला त्रिपाठिको नाम सिफारिस गरेकोमा अत्यन्त खुशी लागेको छ।बधाई एवम कार्यसफलताको शुभकामना दिदि ।'

त्रिपाठीले बेपत्ता पारिएको लामो समयसम्म पनि न लास न सास भएको भन्दै बेला बेलामा उनी न्यायको निम्ति चर्को आवाज उठाउने गर्दथिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर