• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

डीपी ढकाल जिताउन नेकपा भक्तपुर एकढिक्का भइसक्यो’– बचन देउजा, अध्यक्ष

भक्तपुर । आगामी मंसिर १४ गने हुने उपनिर्वाचनका लागि भक्तपुर प्रदेशसभा १ (क) मा देखिएको नेकपा उम्मेदवार चयनको विवाद हल भएको छ । नेकपा जिल्ला कमिटी भक्तपुरका अध्यक्ष बचन देउजाले समाचार दैनिकसंग कुराकानी गर्दै उम्मेदवार चयनका विषयमा देखिएका असन्तुष्टि समाधान भइसकेको भन्दै यसबारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् ।

उनले भने–‘उम्मेदवारको आकांक्षी धेरै भएकाले असन्तुष्टि देखिएको हो । तर, पार्टी सचिवालयले नै देवी प्रसाद ढकाल (डिपी) को नाम सिफारिस गरेकाले भोलि उत्साहपूर्वक उहाँको मनोनयन दर्ताको तयारी हामीले गरेका छौं ।’ उनले उम्मेदवारको विषय पार्टीको आन्तरिक  विषय भएको भन्दै कुनै समस्या बाँकी नभएको बताए । 

अध्यक्ष देउजाले पार्टीले तोकेको उम्मेदवारलाई जिताउनका लागि एकतावद्ध भएर सिंगो भक्तपुर लाग्ने बताए ।देउजाले भने–‘निर्वाचनमा नेकपाका उमेदवारको मात्र होइन यो समग्र पार्टीको विषय हो, पार्टीलाई जिताउनका लागि एकतावद्ध भएर अगाडी बढ्छौं ।’ 

उनले भोलि हुने मनोनयन दर्तापछि निर्वाचन परिचालन कमिटी बनाएर भेला, सभा, लगायतका प्रचारात्मक कार्यक्रम अघि बढाइने बताए । यसअघि भक्तपुर जिल्ला कमिटीले चार जना नेताको नाम केन्द्रमा सिफारिसको गरेको थियो । केन्द्रले भने एक नम्बरमा सिफारिस भएका नेता ढकलालाई भक्तपुर प्रदेशसभा १ (क) को उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

तर, उनको उम्मेदवारप्रति असन्तुष्टि जनाउँदै नेकाप भक्तपुरकै केही नेता तथा कार्यकर्ताहरुले पार्टी कार्यालयमा विरोध जनाएका थिए । उक्त विरोध सम्पूर्ण रुपमा समाधान भएको अध्यक्ष देउजाको भनाई छ । 

को हुन ढकाल ?

पूर्वएमाले र पूर्वमाओवादी एकताबाट नेकपा गठन भएपछि ढकाल भक्तपुरको पार्टी जिल्ला सचिव छन् । उनी पूर्वमाओवादी पृष्ठभूमिका हुन् ।  २०३८ सालमा काभ्रेको देउपुरमा जन्मिएका नेता ढकाल नयाँ पुस्ताका उदीयमान बौद्धिक नेता हुन् । उनी भक्तपुरमा क्याम्पस पढ्दापढ्दै अखिल क्रान्तिकारीका नेता भएका थिए । 

जीवनको महत्त्वपूर्ण युवा अवस्था जनयुद्धमा सुम्पिएका ढकालले जेलजीवनसमेत बिताएका छन् ।  ढकाल नेकपाभित्र सामान्य जीवन शैलीका युवा नेताका रूपमा चिनिन्छन् ।  उनले ‘नेपाली क्रान्ति’, ‘कम्युनिस्ट आन्दोलनको बहस’, ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’लगायत पुस्तक तथा समसामयीक विषयमा स्तम्भ लेख्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर