'पूर्वसभामुख महराकाे विषयमा नैतिक प्रश्न मात्र उठेकाे हाे' : मन्त्री पुन

काठमाडाैं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षामान पुनले पूर्वसभामुख कृष्णबहादुर महराको विषय नैतिक प्रश्न जस्तो देखिएको नैतिक ढंगमा हेरिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले पूर्वसभामुख महराको विषय अदालतमा विचाराधीन रहेकाले धेरै बोल्न उचित समय नभएको बताए । कुनै पनि घटनालाई अपराधीकरण र राजनीतिलाई अपराधीकरण गर्ने कुरा राम्रो नभएको उनको भनाइ छ ।

'आपराधिक घटनालाई आराधिक ढंगले हेर्नुपर्छ' उनले भने, 'नेता भएकै कारण बनाएर जसरी पनि घटनालाई अपराधीकरण गरेर कारबाही गर्ने कुरा स्वीकार्य हुँदैन।' व्यक्तिगत रूपमा हेर्दा घटनलाई आवश्यकभन्दा बढी आपराधिक बनाउन खोजिएको उनको भनाइ छ । उनले पूर्वसभामुखकाे विषय अदालतमा मुद्दा चलेसँगै ठूला र साना सबैलाई कानुन बराबर हुन्छ भन्ने तथ्य स्थापित भएको बताए ।

त्यस्तै, उनले भारतले गत शनिबार जारी गरेको राजनीतिक नक्साको विषयमा आपत्ति जनाएका छन् । नेपाली भूमिलाई भारतले आफ्नो भूमि भनेर राजनीतिक नक्सा सार्वजनिक गरेकोमा आपत्ति जनाएका हुन् ।

‘कालापानी र लिपुलेक हाम्रो भूमि हो,’ मन्त्री पुनले भने, ‘भारतले एकतर्फी रूपमा नक्सामा समेट्दैमा नेपाली भूमि भारतको हुन सक्दैन, हाम्रा लागि नक्सा स्वीकार्य छैन,’ उनले भने ‘सीमाका विषयमा हामी कुनै पनि किसमको सम्झौता गर्ने पक्षमा छैनौं ।’ 

नेपाल अन्तर्राष्ट्रिय सिमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई मित्रराष्ट्रहरूबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर