• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भारतले सीमा मिचेको विषय अन्तर्राष्ट्रियकरण गर्दै अनेरास्ववियू, यु.एनमा मुद्दा हाल्ने

काठमाडौं । भारत सरकारले नेपाली भूमि कालापानी, लिपुलेक लगायतका क्षेत्रलाई समेत आफ्नो नक्सामा समेटेर प्रकाशन गरेको विषयलाई अनेरास्ववियूले अन्तराष्ट्रियकरण गर्ने भएको छ । 

देशभित्र पछिल्ला दिनहरुमा श्रंखलाबद्द आन्दोलन गरिरहेको अनेरास्ववियूले सोमबार नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा भारतको मिचाहा व्यवहारका विरुद्ध निवेदन दिन लागेको हो ।

बुधबार सडक आन्दोलन गरेको अनेरास्ववियूले बिहिबार बैठक बसेर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जस अन्तरगत शुक्रबार नेपालस्थित भारतीय दुताबास घेराउ गरेको अनेरास्ववियूले आईतबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको ध्यानआकर्षण गराउने तयारी गरेको छ ।

सोमबार संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा निवेदन दिने तयारी भएको अनेरास्ववियूको सहसंयोजक रंजित तामाङले समाचार दैनिकलाई जानकारी दिए ।

अनेरास्ववियूका नेता विजय गौतमले यो मुद्दा नेपालमा पटक–पटक उठेको तरा भारतले आफ्नो व्यवहार नसुधारेकाले अन्तराष्ट्रियकरण गर्न लागेको बताए । समाचार दैनिकसँग उनले भने, ‘भारतको दादागिरी विरुद्ध नेपालमा पनि आन्दोलन चर्काउने र संयुक्त राष्ट्रसंघ मार्फत विश्वलाई पनि जानकारी गराउन अनेरास्ववियू लाग्नेछ ।’ 

बिहिबार प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृसँगठन नेविसँघले पनि दूतावास घेराउ गरेको थियो भने बुधबार प्रदर्शन गरेको थियो ।

भारत सरकारले आफ्नो अधिकारीक नक्सामा नेपाली भूमि नालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतलाई आफ्नो भूभागभित्र पारेपछि नेपालमा त्यसको चौतर्फी विरोध भईरहेको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्रमामिला सल्लाहाकार राजन भट्टराई लगायत राजनीतिक दलका नेताहरुले पनि सार्वजनिक रुपमा भारतीय मिचाहा प्रबृतीको विरोध गरेका छन् ।  

आफूहरुले नेपालको भूमि नमिचेको दावी गर्दै समस्या देखिएका स्थानमा छलफल गर्न तयार रहेको बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर