संघ सरकारको द्वैध चरित्रका कारण प्रदेश दुई नेपालमै छ भन्नेमा शंका लाग्यो : मुख्यमन्त्री राउत

जनकपुरधाम । संघ सरकारको द्वैध व्यवहारका कारण प्रदेश दुई नेपाल भित्र छ कि छैन भन्नेमा शंका लागिरहेको प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् । 

नेपाल साहित्य उत्सवमा प्रदेश वा परदेश शिर्षकमा भएको छलफलमा मुख्यमन्त्री राउतले देश भौगोलिक रुपमा एकिकरण भएपनि भावनात्मक रुपमा एकिकरण हुन नसकेकाले यस्तो अवस्थाको श्रृजना भएको बताए । उनले संघ सरकारकै चरित्रका कारण हामी नेपाली हौँ कि होइनौँ भन्ने शंका समेत लागि रहेको बताए । 

देशको बाँकी ६ प्रदेशमा एक पार्टीको सरकार र प्रदेश दुईमा मात्रै फरक पार्टीको सरकार रहेकाले संघ सरकारले समान व्यवहार गर्न नसकेको आरोप लगाए । 

मुख्यमन्त्री राउतले बजेट उपलब्ध गराउनेदेखि लिएर अन्य सुविधा उपलब्ध गराउन सम्ममा प्रदेश दुईको सरकारसंग बेइमानी भईरहेको गुनासो गरे । उनले भने ‘बजेट बाँड्ने बेलामा सबै प्रदेशलाई समान रकमा दिइन्छ, पछि अन्य रकम भित्र भित्रै उपलब्ध गराउँदा प्रदेश दुईलाई छोडेर उपलब्ध गराइन्छ के यो समान व्यवहार हो ?’ मुख्यमन्त्री राउतले अगाडी भने‘ म अमेरिका जानका लागि रहदानी बनाउने प्रकृया अगाडी बढाएको छु, मेरो बन्न सकेन तर शेरधन राई लगायतका अन्य मुख्यमन्त्रीहरु कयो पटक विदेश भ्रमण गरेर आई सके के यो असमान व्यवहार होइन ?’

संघ सरकारले खुटा तान्ने प्रवृति नछोडेसम्म संघियता कार्यान्वयन र देशको विकास सम्भव हुन नसक्ने उनको भनाई थियो ।

उनले भने ‘बाँकी प्रदेशको पीडा यही रहेपनि अन्य प्रदेशका मुख्यमन्त्री बन्द कोठा भित्र मात्रै बोल्छन् म मञ्चमा समेत बोल्छु  ।’ सबै प्रदेशको समस्या समाधान गर्न संघ सरकारले लचकता देखाउनै पर्छ मुख्यमन्त्री राउतले बताए । 

संघ सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका मुख्यमन्त्री राउतले प्रदेशमा अहिले पनि कर्मचारी अभावको समस्या रहेको बताए । संघ ले प्रदेशलाई उपलब्ध गराएको कर्मचारीहरु समेत काम नलाग्ने वा रिटायर्ड हुन लागेका कर्मचारीहरु मात्रै उपलब्ध गराएको आरोप लगाए । उनले संघियता नरुचाउने ब्युरोक्रेट्सहरुका कारण नै देश बरबाद भईरहेको उनको भनाई थियो । 

संघ सरकार न कानून निर्माण, न विकास निर्माण, न उद्योग धन्दा खोल्न वा न कुनै सामाजिक रुपान्तरणको कार्यमा सहयोग गरेको मुख्यमन्त्री राउतले आरोप लगाए । प्रदेश दुई लगानी गर्न आउने दातृ निकायहरुलाई समेत संघ सरकारकै पदाधिकारीहरुहरुले प्रदेश दुईमा नजान सल्लाह दिने गरेकोमा दुःख व्यक्त गरे । 

मुख्यमन्त्री राउतले स्वतन्त्र रुपमा काम गर्न दिइए केही दिन भित्रै प्रदेशहरु र देशको कायापलट हुने दावी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर