बुटवलका आन्तरिक बाइपास सडक विस्तार सुरु

अतिक्रमण हटाउन शुरु,  साढे छ करोड बराबरको काम हुँदै

बुटवल । बुटवलले आन्तरिक बाइपास सडकहरुलाई विस्तार र स्तरोन्नतिका काम तीब्र पारेको छ । सोही क्रममा यहाँको मुख्य आन्तरिक बाइपासका रुपमा रहेको कालिका पथको विस्तारको काम सुरु भएको छ । 

यो सडक विस्तारका लागि अहिले छ करोड ५० लाख रुपैयाँ बराबरको बजेटको काम भइरहेको छ । बुटवल उपमहानगरले संघीय र प्रदेश सरकारको सहकार्यमा गत आवमा तीन करोड र चालु आवमा तीन करोड ५० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको थियो ।

सडक क्षेत्राधिकार कायम गर्दै नाली निर्माण र फुटपाथ बनाउने काम तीव्र भइरहेको छ । पहिलो चरणमा नाली र फुटपाथ निर्माण सक्ने र लगत्तै पिचको काम सुरु हुने बताइएको छ । 

बुटवलले यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नै बनाएर नमुना सडक बनाउन थालेको हो । डीपीआरमा झण्डै एक अर्ब लागत र तीन वर्षको अनुमान गरिएपनि लागत र समय दुबै घट्न सक्ने बताइएको छ । गत आवको सुरुमै यो सडकको क्षेत्राधिकार छुट्टाएर काम सुरु गर्ने भनिएपनि केहीसमय रोकिएको थियो । तर, अहिले भने विस्तारको कामलाई तीव्रता दिइएको छ । 

पुरानो बसपार्क अर्थात कृषि उपज केन्द्र परिसरदेखि योगिकुटीसम्मको भित्री सडक कालिका पथलाई ८२ फुटको कायम गर्दै विस्तार र स्तरोन्नतीको काम सुरु भएको हो । यो सडकलाई नमुना मार्ग बनाउने गरी उपमहानगरपालिका केन्द्रित भएको छ । बुटवलको आन्तरिक बाइपास मध्येको सबैभन्दा स्तरीय सडक बनाउने गरी काम सुरु भएको उपमहानगरले जनाएको छ । 

बुटवलमा प्रदेशको अस्थायी मुकाम भएसंगै पछिल्ला समयमा जनघनत्व र सवारी साधानको चाँप बढ्दो छ । ट्राफिक जामका समस्याले भित्री सडकका उपभोक्ताहरु प्राय मारमा पर्ने गरेका छन् । यसै कारणले कालिका पथलाई आन्तरिक बाइपास सडकका रुपमा घोषणा गर्दै उपमहानगरले विस्तारको काम सुरु गरेको हो । विसं. ०५४ सालमा यो सडकलाई ८२ फुटको कायम गर्नेगरी मापदण्ड बनाइएको थियो । यद्यपि केही व्यक्तिहरुले सडक विस्तारका काममा अवरोध सिर्जना गरेकाले उतिबेलै योजनामा परेको सडक विस्तार ढिलोगरी मात्रै सुरु भएको छ । अनेकौं नियतका अवरोध र बाधाहरु थिए, स्थानीय अगुवाहरुकै पहलमा समाधान गर्दै सडक विस्तारको काम सुरु भएको छ । यद्यपि कतिपय व्यक्तिहरु विस्तारका कामहरु रोक्न भन्दै अदालतसम्मै पुगेका छन् । 

उपमहानगरका प्रमुख शिवराज सुवेदीले नगबासीहरुकै सहकार्यमा योजनाहरुको सफल कार्यान्वयन गरिने बताउँदै दीर्घकालीन योजना अनुरुप पूर्वाधार विकासका कामहरु भइरहेको बताए । उनले वैकल्पिक मार्गहरुको स्तरोन्नति गर्ने, विस्तार गर्ने, नमुना पिच गर्नेदेखि सहायक मार्गमा पुल र आकासे पुल निर्माण गर्नेसम्मका योजनाहरु धमाधम कार्यान्वयन भइरहेको पनि बताए । 

बुटवलको वडा नं. ११ देखि १९ का विभिन्न टोलहरु जोड्ने ग्रामिण सडकलाई उपमहानगरले स्तरोन्नति गर्दै ग्राभेल गरिएको छ भने तिमध्ये केही सडकमा पिचको काम सुरु भएको छ । वडा नं. १ देखि १० सम्मका भित्री सडकहरुको स्तरोन्नति गर्नेदेखि मर्मत सम्भार गर्ने काम चलिरहेको छ । यी मध्येका वाइपास सडकहरुमा क्षेत्राधिकार छुट्टाए लगत्तै कालोपत्रे गर्नेगरि विस्तारका काम अगाडि बढ्ने बताइएको छ । 

बुटवलको सबैभन्दा धेरै जनशंख्या रहेको वडा नं. ११ मा अधिकांश सडकहरुको स्तरोन्नति भएको छ । यहाँ गत आवमा सञ्चालित करिब एक सय वटा योजनामा सडक विस्तार र स्तरोन्नतीका योजना धेरै छन् । नुमना पिच, नमुना नाली निर्माण, ठूला बस्ती जोड्ने पुल निर्माण देखि ढल निकासका कामहरु भएको वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए । 

मापदण्ड अनुरुपको सडक कायम गर्नका लागि अहिले प्राविधिकसहितको विशेष टोलीले विभिन्न सडक खण्डहरुको अध्यय्न गरिरहेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको भनाइ छ । संघ, प्रदेश सरकार र जनसहभागितामा सडक स्तरोन्नतिका कामहरु भइरहेको उनले बताए । बुटवल ९, ११ लाई नमुना वडा बनाउने र रात्रीकालिनबजार समेत सञ्चालनगर्ने उद्देश्य सहितनिर्माण भइरहेको वाइपास सडक बुटवलको नमुना र रमणिय सडक हुने नेकपाका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले बताए । 

उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा सहरी पूर्वाधार विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बुटवलका मूख्य वैकल्पिक मार्गहरुलाई सडक क्षेत्राधिकार कायम गर्दै विस्तार र स्तरोन्नति गर्ने काम भइरहेको जानकारी दिए । उनले वाइपास सडकहरुलाई बुटवलको चक्रपथसंग जोड्नेगरी काम भइरहेको छ । बुटवलले चुरे पहाड र तराईलाई जोड्दै झण्डै ४५ किलोमिटरको चक्रपथ निर्माण गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर