• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अब नेपाल–जापान सिँचाइमा सहकार्य

काठमाडौं । जापानले नेपालको सिँचाइ क्षेत्रमा सहयोग गर्ने भएको छ ।  जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको प्रतिनिधिमण्डलले उर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ सँग भेटवार्ता गर्दै सिँचाइ क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेको हो । भेटमा तराई मधेशमा सञ्चालन भएका सिँचाइ आयोजनामा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

जापानको कृषि वन तथा मत्स्यपालन मन्त्रालयको विदेश मामिला हेर्ने विभागका उपमहानिर्देशक नाकाडा टाहामीको नेतृत्वको प्रतिनिधीमण्डलले सोमबार मन्त्री पुनसँग सिंहदरबारस्थित उर्जा मन्त्रालयमा भेटवार्ता गर्दै उर्जा र सिँचाइको क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेको हो ।  

जापानी राजदूत मसामिची साइगो समेत सहभागी  बैठकमा सिँचाइ र जलविद्युत् क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । उपमहानिर्देशक नाकाडाले भेटमा कृषी,जलस्रोत र सिंचाईको क्षेत्रमा जापानले गर्दै आएको सहयोगको निरन्तरता हुने भन्दै थप सहयोग गर्न जापान तयार रहेको धारणा राखे ।  

भेटमा उर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै आगामी दिनमा पनि दुई देशको  सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरे । मन्त्री पुनले सरकारले सिंचाईतर्फ ठुला आयोजना अघि बढाइरहेको, तराई मधेषमा बाह्रै महिना सिंचाई उपलब्ध गराउने गरी तयारी गरेको र पहाडमा लिफ्ट सिंचाईको लागी काम भइरहेको जानकारी दिए ।

उनले जापान सरकारको सहयोगमा उर्जामन्त्रालय मातहत अनुसन्धान केन्द्र रहेको र सरकारले त्यसमा पहिलो पटक अनुसन्धानको लागी २० करोड बजेट समेत बिनियोजन गरेको जानकारी दिंदै उक्त संस्थासंग सहकार्य गर्न पनि उपनिर्देशक टाहामीसंग आग्रह गरे ।   त्यसैगरी सिंचाई क्षेत्रमा जलउपभोक्ता समितिहरु सक्रिय रहेको र काम पनि प्रभावकारी रहेको  भन्दै त्यसमा सहकार्य गर्न सकिने विषयमा छलफल भएको थियो ।  

भेटमा  सिक्टा सिंचाई परियोजनामा देखिएको घुलनशिल माटोको समस्या देखिएको भन्दै समाधानका लागी समेत छलफल भएको थियो । मन्त्री पुनले जापानसंग समाधानको लागी कुनै उपाय भए सहयोग गर्न भेटमा आग्रह गरे ।
भेटमा नलसिंङगाड जलविद्युत परियोजनाको बारेमा समेत छलफल भएको थियो । मन्त्री पुनले नलसिंङगाड जलविद्युत परियोजनामा जापानको लगानी र सहयोग हुने कुरामा नेपाल सरकार ढुक्क रहेको धारणा राखेका थिए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर