सेयर बजार यसरी एकाएक चम्कियो

काठमाडौं । सोमबार सेयर बजार परिसुचक नेप्सेमा हरियाली छाएको छ । पछिल्ला दिनहरुमा निरन्तर घट्दै आएको नेप्से सुचक अर्थमन्त्री परिवर्तनको चर्चासँगै उकालो लागेको हो । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकारका अर्थमन्त्री लगायत सबै मन्त्रीहरुलाई राजीनामा दिन लगाउने र मन्त्री पुनगर्ठन गर्ने खालका समाचार बाहिरिएसँगै सेयर बजारमा एकाएक बहार आएको हो । अर्थमन्त्री डा युवराज खतिवडा सेयर बजारप्रति अनुदार रहेको आरोप लगानीकर्ताले लगाउँदै आएका थिए । 

त्यसैगरी, लाभांश घोषणाको मौसममा सेयर लगानीकर्ता उच्च लाभांश दिने कम्पनीतर्फ आकर्षित हुँदा समेत बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो । 

सोमबार सेयर बजार परिसुचक नेप्से १३ दशमलव ७७ अंकले बढेर १ हजार १ सय ४५ दशमलव ५७ को बिन्दुमा बजार बन्द भएको छ । आज सुचकसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार १७५ कम्पनीको ५४ करोड ९९ लाख ९८ हजार २४१ रुपैयाँको १९ लाख ९५ हजार ४८ कित्ता सेयर खरिदबिक्री भएका छन् । 

उच्च लाभांशमा लगानीकर्ताको आकर्षण

आजको सेयर कारोबारमा एनएमबि बैंकको सर्वाीधक सेयर किनबेच भएको छ । बैंकको १३ करोडभन्दा बढी रुपैयाँको सेयर खरिदबिक्री भएको हो । बैंकले सोमबार मात्रै गत आर्थिक वर्षको मुनाफाबाट ३५ प्रतिशत लाभांश दिने खबर बाहिरिएको हो । बैंकले उच्च लाभांश घोषणासँगै बैंकको सेयरमा लगानीकर्ताको चाप परेको हो । 

त्यसैगरी, सर्वाधिक कमाउनेमा आज हिमालयन डिस्टीलरीका सेयरधनी रहेका छन् । कम्पनीको सेयर भाउ आज ९ दशमलव ९७ प्रतिशत अर्थात प्रतिकित्ता १५५ रुपैयाँले बढेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १०२ प्रतिशत लाभांश घोषणा गरेको छ । यता, आज सर्वाधिक गुमाउनेमा भने एनआइबीएल समृद्धि फण्ड १ का लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर मुल्यमा ५ दशमलव ७७ प्रतिशतले कमी आएको छ । 

अन्यबाहेकका सुचक हरियाली

सोमबार अन्य बाहेक सबै सुचकमा हरियाली छाएको छ । अन्य सुचक शुन्य दशमलव ६ अंकले घट्दा जीवन बीमा सर्वाधिक ७९ दशमलव ०२ अंकले बढेको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर