राष्ट्रपति सी चिनफिङ भ्रमणको प्रभाव : चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या बढेको छ । सन् २०१९ को अक्टोबर महिनामा मात्रै चीनबाट १५ हजार ३७ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो संख्या गत वर्ष सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी हो । 

बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । उक्त अवधिमा चीनबाट एक लाख ६० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ को अक्टोबरमा भारतबाट १२ हजार ७०६ पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्ष सोही अवधिको तुलनामा ९  प्रतिशतले बढी हो ।

अक्टोबरमा चिनियाँ पर्यटक बढे पनि नेपालमा कूल पर्यटक आगमनमा छिमेकी मुलुक भारत अगाडि छ । सन् २०१९ को दश महिनामा १ लाख ६९ हजार ९५२ भारतीय पर्यटक नेपाल आएका छन् । उक्त अवधिमा चीनबाट एक लाख ३४ हजार २८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोवरमा कूल १ लाख ४३ हजार ८७० विदेशी पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्षको सोही अवधिमा १ लाख ३० हजार ७०४ पर्यटक आएका छन् ।

भारत नेपालको पर्यटनका लागि मुख्य स्रोत बजार हो भने चीन दोस्रो स्थानमा पर्छ । नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने मुलुकमा भारत पर्छ । सन् २०१८ मा दुई लाख ४३८ भारतीय नागरिकले नेपाल भ्रमण गरेको बोर्डको विवरणमा उल्लेख छ ।

गत अक्टोबरमा (असोज २५ र २६ गते) चीनका राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिवसीय राजकीय भ्रमण गरेका थिए । उक्त भ्रमणपछि चिनियाँ पर्यटकको संख्यामा बढोत्तरी भएको पाइएको छ । अक्टोबरमा भारतीय पर्यटकको तुलनामा चिनियाँ पर्यटक बढेको भएको बोर्डले जनाएको छ ।

विश्व भ्रमणमा धेरै पर्यटक निस्कने मुलुक चीनबाट अझै पनि बढी पर्यटक नेपालमा भित्र्याउन सकिएको छैन । वार्षिक १५ करोड चिनियाँ विश्व भ्रमणमा निस्कने बताइएको छ । त्यसको केही हिस्सा नेपाल ल्याउन सके पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान हुने बताइन्छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीनबाट मात्रै पाँच लाख पर्यटकलाई स्वागत गर्ने सरकारको तयारी छ ।

दश महिनामा १० लाख पर्यटक

सन् २०१९ को १० महिनामा झण्डै १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । अध्यागमन विभागलाई उद्धृत गर्दै बोर्डले उपलब्ध गराएको तथ्याङ्ककअनुसार सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म कूल ९ लाख ७५ हजार ५५७ विदेशी पर्यटक नेपाल आएका छन् । 

कूल पर्यटकमध्ये हवाई मार्ग भएर आठ लाख २० हजार ४९९ र स्थलमार्गबाट एक लाख ५५ हजार ५८ पर्यटक नेपाल भित्रिएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले वृद्धि हो । सन् २०१८ को १० महिनामा नौ लाख तीन हजार ५३९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।     

पर्यटक आगमनको उक्त अवधिमा युरोपबाट एक लाख ९९ हजार तीन पर्यटक आएका छन् । युरोपबाट गत वर्ष एक लाख ९८ हजार ४९३ पर्यटक नेपाल आएका थिए । अमेरिका र क्यानडाबाट ९२ हजार २७२ पर्यटक आएका छन् । 

एशियाली मुलुकबाट झिनो संख्यामा पर्यटक बढेका छन् । खासगरी चाइनिज ताइपेई र थाइल्याण्डबाट क्रमशः ३९.५ र ३२.९ प्रतिशत बढी पर्यटक आएको आँकडाले देखाएको छ । ताइपेईबाट ११ हजार ३८४ र थाइल्याण्डबाट ३९ हजार ६०८ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

पर्यटक आगमनको समग्रतालाई हेर्दा दक्षिण एशियाली मुलुक भारत, चीन र बङ्गलादेशबाट २५.६५ प्रतिशतले वृद्धि भएको छ । एशियाली मुलुकबाट २६.५९ प्रतिशत, युरोपका मुलुकबाट २०.४ प्रतिशत पर्यटक बढेको पाइएको छ ।

सरकार तथा निजी क्षेत्रको पहल, नेपाली कूटनीतिक नियोग, सञ्चारमाध्यमलगायत सरोकारवालाको सक्रियताले विदेशी पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर