• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

भारतीय गुप्तचर नेपालमा: नेपालीलाई पैसाको लोभ देखाउँदै सूचना माग्दै

झापा । नेपाली सीमा मिचेर जबरजस्ती रूपमा आफ्नो नक्सामा समावेश गर्दै बलमिच्याइँ गरिरहेको भारतले सीमावर्ती क्षेत्रमा गुप्तचर पठाएर सूचना संकलन गर्न थालेको छ ।

भारतविरुद्ध नेपाली जनता आक्रोशित हुन थालेपछि भारतबाट आएका गुप्तचरहरूले नेपालीलाई पैसाको प्रलोभनमा पारेर नेपालमा हुने गतिविधि संकलन गर्न सुरु गरेका छन् । उनीहरूले एनसेल नम्बरको सिम कार्ड प्रयोग गरेर हृवाट्सएपमार्फत सूचना दिन आग्रह गर्ने गरेको बिर्तामोडका एक व्यक्तिले नाम नबताउने सर्तमा बताए । 

भारतीय गुप्तचरहरूले विभिन्न साइनो लगाउने, आएर भेट्ने तथा सञ्चार माध्यममा आएका समाचार तथा यहाँ भइरहेको गतिविधि दिएमा मासिक रुपमा पैसा दिने प्रलोभन देखाउने गरेको बताए ।

गुप्तचरहरूले बिर्तामोडमा के कार्यक्रम हुन्छ, कुन नेता आए, के भने सबै हृवाट्सएपमा पठाइदिनु हामी पैसा दिन्छौं भन्दै प्रलोभनमा पार्ने गरेको जनाइएको छ । विभिन्न माध्यमबाट सूचना संकलन गरिरहेका गुप्तचरहरूले पछिल्लो समय आफ्नो गतिविधि बढाएको जनाइएको छ ।

मेची नदीको बीचमै सीमा पिलर

यसैबीच, भारतले हालै सार्वजनिक गरेको नक्सापछि नेपाली भूमि मिचेको निष्कर्षमा पुगेको नेपालले अन्य स्थानमा पनि ब्यापक रुपमा सीमा मिचेको पाइएको छ । पश्चिमा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक अतिक्रमण गरेर नक्सा जारी गरेको भारतीय पक्षले झापामा पनि ब्यापक रूपमा सीमा अतिक्रमण गरिरहेको छ । नेपालकै मेचीपारि गाउँ जान मेची नदीमा निर्माणाधीन अवस्थामा रहेको झोलुंगे पुलको पूर्वपट्टी नदीको बीचमै सीमा पिलर गाडिएको पाइएको छ ।

‘नदीको बगर छेउको खुला मैदानमा हामी साना हुँदा खेल्न आउँथ्यौं,’ स्थानीय युवा मिलन राईले भने, ‘त्यस बेला नदीमा कुनै सीमा पिलर थिएन, अहिले त भारतीयले मेची नदीमै तीनवटा पिलर गाडेको छ । भारतले नेपाली भूमि मिच्दामिच्दै अहिले बग्ने नदीसम्म ल्याइर्पुयाएको छ, अब यस्तो रहिरह्यो भने नदी पारीको गाउँ पनि भारत हुन समय लाग्दैन ।’ 

मेची नदीमै ६० फिट गहराइको तीनवटा पिलर गाडिएको स्थानीय उमेश यादवले बताए । ‘चार वर्ष अघिसम्म नदीमा कुनै पनि पिलर गाडिएको थिएन, २०७५ सालको जेठमा आएर भारतीय पक्षले पिलर गाडिएको हो,’ उनले भने, ‘भारतले बिस्तारै बिस्तारै नेपाली भूमि मिच्दै छ, यस विषयमा प्रहरी, प्रशासन मौन छ ।’

नदीको बीच भागमा १०३ नम्बर लेखिएको तीनवटा पिलर र नदीपारि एउटा पिलर गाडिएको छ । सो पिलर नदीमा बाढी आउँदा पनि नबगाउने खालको राखिएको छ ।

त्यसैगरी, पहिला मेचीपारि गाउँमा एउटा पनि पिलर नभएको तर अहिले जता त्यतै साना तथा ठूला पिलर गाडिएको स्थानीय बताउँछन् । पिलर गाडिएपछि भारतीय नागरिकको दुईवटा घर नेपाली भूमिमा परेको भेटिएको छ । भारतीय नागरिक नजमुद्दीन शेख भन्छन्, ‘गाउँमा एउटा पिपलको बोट थियो, भारतीय नागरिक भन्थ्यो सीमा त्यही हो, तर नेपाली नागरिकले पूरा मेची खोला सिमाना हो भन्ने गर्थे, चार वर्षअघि दुवै देशको नापी सर्वेक्षण टोलीले सीमा छुट्टाएर गएपछि दुईवटा घर नेपाली भूमिमा पर्यो,’ उनले भने । 

‘सीमाले देश छुट्टाए पनि हामी अहिले पनि नेपाली भूमिमै बसोबास गर्दै आइरहेका छौ’, उनले भने, ‘हामी सबै सेवासुविधा भारतबाटै लिन्छौ, तर बस्छौ नेपाली भूमिमा ।’

मेची नदीको विभिन्न आठ तटीय क्षेत्रसहित झापामा १ सय ७४ हेक्टरमा सीमा विवादित छ । अहिले ती विवादित सीमा क्षेत्र भारतले आफ्नो गुगल म्यापमा समावेश गरिसकेको देखिन्छ । ११८ किलोमिटर बोर्डर क्षेत्र रहेको झापामा भद्रपुरको मेचीपुल, मेचीपारि, कचनकवलको पाठामारी, साबिक महेशपुर, काँकडभिट्टा, बारिसजोत, मदनजोत, नकलाबन्दा, बाहुनडाँगीलगायतका ठाउँका सीमा विवाद छ । 

कचनकवल गाउँपालिकाको पाठामारी क्षेत्रका करिब २० घर, मेचीनगरस्थित भान्सा खोलाका ११ परिवार बसेको नेपाली भूभाग २०५२ सालअघि नेपालमै थियो । तर, २०४३ सालतिर पिलर गाडियो र २०५२ सालमा आइपुग्दा नागरिकता र धनी पुर्जा बनाउने क्रममा पूरै भूमि भारततर्फ भइसकेको स्थानीयले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर