• २०८१ बैशाख २० बिहीबार
  • Thursday, 2 May, 2024

हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राप्रपा (संयुक्त)ले धार्मिक जागरण यात्रा गर्ने

‘ओली सरकारले सम्पूर्ण मौका खेर फाल्यो’– अध्यक्ष जबरा

काठमाडौं । नेपाललाई हिन्दू राष्ट्र बनाउने उद्देश्यसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले यही कात्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले सो जानकारी गराएको हो । 

पार्टीका अध्यक्षद्धय डा. प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जबराको संयुक्त नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र नेपाल र नेपाली हुनुको आधारशीला हो । यसै मान्यता शिरोधार्य गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले आगामी कात्तिक २८ गतेबाट मंसिर ४ गतेसम्म धार्मिक जागरण यात्रा सम्पन्न गर्नेछ ।’

पार्टीले दिएको जानकारीअनुसार माता सीताको जन्मभूमि जनकपुरधामबाट माता सीताको समाधिस्थल चितवनको वाल्मीकि आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर जनकपुर–लुम्बिनी धार्मिक यात्रा सम्पन्न हुनेछ । विज्ञप्तिमा थप भनिएको छ, ‘यो रथयात्रालाई सार्थक र उपलब्धीमूलक बनाउन व्यापक जनसहभागिताको आवश्यकत्ता पर्दछ नै । यस सन्दर्भमा मुलुकलाई हिन्दूराष्ट्र कायम गर्ने यस अभियानमा सम्पूर्ण नेपाली जनताको साथ, सहयोग र समर्थनको लागि हामी अपिल गर्दछौं ।’

कार्यक्रममा बोल्दै अध्यक्ष पशुपतिशम्शेर जबराले नेपाली जनताको चाहनाविपरीत नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाइएकोमा आफूहरूको सुरुदेखि नै आपत्ति रहेको बताए । उनले भने, ‘यो एजेन्डा जनतालाई सोधेर लादिएको होइन । बिनाछलफल र विनाजनअनुमोदन यो मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र बनाइयो, यो अपराध हो ।’ उनले नेपाललाई संविधानतः हिन्दू राष्ट्र नबनाएसम्म आफूहरूको अभियान आन्दोलन, संघर्ष र अभियान जारी रहने पनि विश्वास दिलाए । 

नेपाल विश्वमै एक्लो हिन्दूराष्ट्र भएको गौरवशाली इतिहास सुनाउँदै आफूहरु नेपाललाई हिन्दू राष्ट्र बनाएरै छोड्ने अभियानमा लागेको सुनाए । उनले भने, ‘नेपाल हिन्दूराष्ट्र भए विश्वभरिका धार्मिक पर्यटकहरु नेपाल आउँछन् । यहाँको पर्यटनको ठूलो विकास हुन्छ । यसतर्फ पनि सबैले ध्यान दिनुपर्छ ।’ उनले नेपाल हिन्दूराष्ट्र भए भारत र चीन दुवैको सुरक्षा चासो पनि सन्तुलित हुने विश्वास दिलाए । 

अध्यक्ष जबराले कालापानी, लिपुलेक नेपालकै भूभाग भएको सुनाए । १९६२ मा भारत र चीनबीच युद्ध हुँदादेखि नै लिपुलेकमा भारतीय चेक पोष्ट बसेको र यसबारेमा यसअघिका कुनैपनि सरकारले कुरा उठान नसकेको उनको गुनासो छ । उनले भने, ‘यो सरकारले कनी कनी कुरा उठाएको छ । तर, मलाई विश्वास छैन कि यो सरकारले पनि यो मामिलालाई पार लगाउला जस्तो लाग्दैन् ।’

कार्यक्रममा बोल्दै अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो पार्टीले सुरु गर्न लागेको धार्मिक यात्रा नेपालको पहिचान कायम गर्नको लागि हुने बताए । नेपाललाई हिन्दूराष्ट्र बनाउको लागि संविधानलाई संशोधन गरिनुपर्नेपनि आफूहरुको माग रहेको उनले सुनाए । 

लोहनीले आफूहरूले अघि सारेको माग पूरा नभएसम्म अभियान जारी रहने पनि विश्वास दिलाए । संविधान जारी गर्नुपूर्व सांसदहरूमार्फत गरिएको दुई लाख प्रश्नावलीसहितको हस्ताक्षर अहिलेसम्म सरकारले किन सार्वजनिक नगरेको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘विदेशीको स्वार्थबाट प्रेरित भएर नेपालको मौलिक पहिचान मेटाउने काम भयो । हाम्रो पार्टी सशक्त भएर हिन्दूराष्ट्र पूनःस्थापनाको लागि निरन्तर संघर्षमा रहन्छ ।’

लोहनीले लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग भएको सुनाउँदै सरकारले भारतसँग मित्रतापूर्वक कुटनीतिक पहल गर्दै समस्याको समाधान गर्नुपर्ने सुझाव पनि दिए । उनले १८२६ देखिका प्रमाणहरु पेश गर्दै भारतसँग नेपालले कुरा गर्नुपर्ने पनि धारणा राखे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर