• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

एक माओवादी पूर्व लडाकु : जो सफल व्यवसायी बन्दै छन्...

हेटौंडा । दश वर्षे जनयुद्धको अन्त्यपछि जनयुद्धमा होमिएका केही लडाकुहरु अझै बेपत्ता छन भने केही लडाकुहरु बिर्सन नसक्ने कथा बोकेर अहिले पनि देश तथा विदेशका विभिन्न कुनाहरुमा भौंतारिरहेका छन्  । जनयुद्धको नेतृत्व गरेको सुप्रिमो (क. पुष्प कमल दाहाल‘प्रचण्ड’ देशको प्रधानमन्त्री बने । सोही युद्धका सहयोद्धा डा. बाबुराम भट्टराई देश परिवर्तन गर्ने बौद्धिक नेता भन्दा भन्दै कम्युनिष्ट धार नै बिर्सने पो हो की झैं रुमलिरहेका छन् ।

गणतन्त्र प्रप्तिका लागि युद्धमा होमिएका लडाकुहरुको अवस्था अहिले पनि धेरैजसोको नाजुक रहेको विभिन्न संचारमाध्यममा देखिरहेको यथार्थ हो ।

समाचार दैनिकले गत ३ श्रावणमा जुत्तासँगै भविष्य सिलाउँदै पूर्व जनमुक्ति सेनाका कं ‘रन्जित’ शिर्षकमा सुर्खेतबाट एउटा कथा प्रकाशन गरेको थियो । पूर्व जनमुक्ति सेनाहरु जो निरन्तर परिवर्तका लागि आवाज उठाइरहँदा अपेक्षा गरेको सपना पूरा गर्न सकेनन् । केही विदेश पलायन भए । केही देशमै रोजगारीका अवसरहरु सिर्जना गरिरहेका छन् । 

सफल र असफल लडाकुहरुको कथा प्रस्तुत गर्ने क्रममा आज हामीले सिन्धुपाल्चोकको भोटेचौरका पूर्व माओवादी लडाकुको सफलताका कथा लिएर आएका छौं । 

झण्डै ८० प्रतिशत भन्दा बढी कृषियोग्य जमिन भएको नेपालका भुभागहरु दिनप्रतिदिन बाँझो हुँदै गइरहेको बेला सिन्धुपाल्चोकका बालकृष्ण चौलागाईं भने देशमै संभावनाको खोजी गरिरहेका छन् ।

जनयुद्धमा ‘बिकल’ नामले चिनिएका चौलागाईं २०२८ साल साउन २ गते सिन्धुपाल्चोक साविकको भोटेचौर गा.वि.स. बडा नम्बर १  मा जन्मिएका हुन् । देशमा गणतन्त्र स्थापना भएसंगै नयाँ नयाँ परिवर्तनका नाराहरु घर घरमा पुगे । 

कुराले मात्र परिवर्तन संभव नहुने भन्दै बालकृष्ण भन्छन–‘परिवर्तनका कुरा धेरै गरियो, कुराले देश समृद्ध हुँदैन, त्यही भएर मैले व्यवसाय सुरु गरेँ ।’

माओवादी जनयुद्धको बेलामा नै भुगोलसंग परिचित भइसकेका चौलागाईंले देशकै माटोमा सुन देखेका थिए । अहिले उनी व्यवसायिक फुल खेतीमा रमाइरहेका छन् । बालकृष्णको अहिले हेटौंडा उपमहानगरपालिकास्थित चौघडामा बसाई छ । उनी २०४१ सालमा सिन्धुपाल्चोकबाट हेटौंडा बसाईंसराईं गरेका थिए ।

राजनीतिलाई व्यवसायभन्दा पनि सेवा भन्ने भावनाबाट प्रेरित भएका उनी कृषिमा क्रान्ति ल्याउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउँछन् । 

परिवर्तनका लागि हिँडेको पार्टी सत्तामा हुँदा केही नपाएका उनी अहिले जीवनसंगिनिको साथबाट खुसी छन् । देशमा भएको संकटकालमा सेनाको हतियारसंग पौंठेजोरी खेलिरहँदा यो परिवार पुन यसैगरी मिलन हुन्छ भन्ने आशा दुवैमा कमी थियो । 

समाचार दैनिक उनको व्यवसायीक फुल खेतीमा पुग्दा उनकी श्रीमति फुल तथा तरकारी टिप्न व्यस्त थिइन् । हाम्रो जिज्ञासाको जवाफ दिँदै उनले भनिन्–‘देशमा सँकटकाल थियो । श्रीमान युद्धमा थिए, मनमा अनेकौ डर थियो ।’ तर, आफ्नो व्यववसाय र आफूले गरेको मिहेनतबाट अहिले उनको दम्पति खुसी छ । 

लाखौ नेपालीहरु विदेशी खाडीमा दुःख पाइरहेको समाचार सुनिरहँदा बालकृष्णले भने देशमै सुन फलाउने सपना देखेका छन् । बाबुको सफलतालाई आत्साथ गर्दै उनका छोरा प्रमोद चौलगाईं पनि देशमै सुन फलाउन सकिन्छ भन्दै अघि बढेका छन् । र, दिनरात बाबुसंग मिहेनत गरिरहेका छन् ।

बालकृष्णले शुरु गरेको आधुनिक फुल एवम् तरकारी खेती हेटौडा उपमाहानगरपालिका वडा न ६ को सिकाई केन्द्र समेत भएको छ । हामी त्यहाँ पुग्दा जनप्रिय प्राबिधिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सँगसँगै काममा ब्यस्त थिए ।   

विरुवा रोप्ने मात्र नभई बिरुवा उत्पादन गरेर बिक्रि समेत गरेका छन् । उनी पार्टीका गतिविधि तथा सामाजिक कामहरुमा समेत सक्रिय छन् ।

माओवादी सशस्त्र युद्धमा होमिएका एक योद्धा आज सकारात्मक सन्देशको पात्र बनेका छन् । तर, उनीहरुको सफलताका लागि सरकारले ल्याएका कार्यक्रमहरु कतिको प्रभावकारी भएका छन् ? भन्ने प्रश्नको जवाफ देशका उच्च ओहोदामा रहेका नेताहरुले दिन जरुरि छन् । पूर्व लडाकु, जो देशमै केही गर्न सक्षम छन् तीनलाई सरकारले केही सोच्नपर्ने पो हो की ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर