कामना सेवा बैंकको केन्द्रीय कार्यालय भवन उदघाटन 

काठमाडौं । कामना सेवा विकास बैंकको काठमाडौंको ज्ञानेश्वरमा नवनिर्मित केन्द्रीय कार्यालय भवनको बुधबार एक कार्यक्रमबीच अर्थमन्त्री युवराज खतिवडाले उदघाटन गरेका छन् । 

स्थापनाको १३औं वार्षिकोत्सवका अवसरमा कामनाको मुख्यालय भवन उदघाटन गरिएको हो । त्यस क्रममा अर्थमन्त्री खतिवडाले ‘सफ्ट ओपनिङ’ मार्फत कामनाका बैंकिङ कारोबार सञ्चालन भइरहेका ५० शाखा कार्यालय भवनको समेत विद्युतीय माध्यमद्वारा एकैसाथ औपचारिक रुपमा उद्घाटन गरे । कार्यक्रममा बैंकका कार्यकारी अध्यक्ष सुदीप आचार्यले सुरुआती चरणमा ४०  मात्र शाखा कार्यालय रहेको बैंकले  दुई वर्षको अवधिमा केन्द्रीय  कार्यालय स्थानान्तरणका साथै ६३ वटा नयाँ शाखा कार्यालय थप गरिएको जानकारी दिए । 

आचार्यका अनुसार हाल कामनाले कूल १ सय ३ वटा शाखामार्फत बैंकिङ कारोबार गर्दै आएको जानकारी दिए । तत्कालीन कामना विकास बैंक र सेवा विकास बैंकबीच मर्जर भएर २०७४ साउन २० गतेदेखि एकीकृत कारोबार सुरु भएको थियो । 

बैंकका संस्थापक सदस्य कृष्ण आचार्यले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएको भन्दै त्यसमा बैंक तथा बित्तीय संस्थाहरुको पनि महत्वपूर्ण भूमिका हुने स्पष्ट गरे । कामना सेवाले मुलुककै अर्थतन्त्रमा योगदान दिने गरी काम गरिरहेको उनले बताए । आगामी दिनमा बैंकले आफ्नो गतिलाई बढाउने समेत प्रतिबद्धता जनाए । सरकार र राष्ट्र बैंकको नीतिलाई केन्द्रमा राखेर बैंकले काम गरिरहेको उनको भनाइ थियो । 

वार्षिकोत्सवका अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंसहित विभिन्न स्थानमा रक्तदान, फुटबल प्रतियोगिता, असक्त तथा वृद्धवृद्धाको निःशुल्क आँखा जाँच तथा शल्यक्रिया, सरसफाई जस्ता कार्यक्रम आयोजना गरेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर