• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

इरानमा पनि उच्च वायु प्रदूषण, तेहरानका विद्यालय बन्द

फाइल तस्बिर

तेहरान । इरानको राजधानी तेहरानका विद्यालयहरु बन्द गर्न बुधबार निर्देशन दिइएको छ ।  वायु प्रदूषणको अवस्था उच्च भएपछि त्यसले असर पार्ने भएकाले विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको अधिकारीहरुले जनाएका छन् ।

गभर्नर अनौशिराभन मोहसेनी बान्डपीले पूर्वविद्यालय (किन्नर गार्डन), पूर्व प्राथमिक र प्राथमिक विद्यालयहरु बन्द गर्न निर्देशन दिइएको बताए ।

उनका अनुसार राजधानी तेहरानसँगै घार्चक, पिश्भा र वारामिनलगायतका शहरका विद्यालयहरु पनि बन्द भएका छन् ।

‘तेहरानको वायुको गुणस्तर मापन सूचकाङ्क संवेदनशील समूहका लागि खतरा अवस्थामा पुगेको पाइएको छ,’ अर्का एक अधिकारीले भने ।

बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र रोगी मानिसलाई यस्तो प्रदूषणले बढी असर गर्ने भएकाले सकेसम्म घर बाहिर कम मात्रै निस्कन विज्ञहरुले सुझाव दिएका छन् ।

प्रदूषणका कारण उत्पन्न बाक्लो हुस्सुले तेहरानलाई मङ्गलबार ढाकेपछि बुधबार बिहानैदेखि निकै काम मात्र विद्यालय बस सञ्चालन भएका थिए ।

इरानमा प्रदूषणकै कारण उत्पन्न अनेक समस्या र रोग लागेर हरेक वर्ष ३० हजार इरानी नागरिकको मृत्यु हुनेगरेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।   

हरेक वर्षको हिउँदयाममा तेहरानमा प्रदूषणका कारण उत्पन्न हुने असरहरु बढी देखिने गरेको पाइएको छ । 

विश्वकै सर्वाधिक वायु प्रदूषित भएको राजधानी भनेर चिनिने भारतको नयाँ दिल्लीमा हालका दिनमा प्रदूषणले जनजीवन प्रभावित बनेको छ । वायु प्रदूषणको उच्च स्तरलाई मध्यनजर गर्दै दिल्लीमा सवारी साधनलाई जोर–विजोर नियम लागू गरिएको छ भने विद्यालयहरु पनि बन्द गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर